कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

ब्रुनाईमा भब्यताको साथ किरात उधौली चाड मनाइयो

विश्वास दीप तिगेला,
ब्रुनाई, २६ नोभेम्बर ११

सेरिया ब्रुनाईमा रहेका किरात समुदायले आफ्नो मुख्य किरात उधौली चाड भब्यतापूर्वक मनाए । किरात समुदाय भित्र पर्ने राई, लिम्बु, सुनुवार र याख्खा जातिहरुले सामुहिक भेला भई आआफ्नो जातिको संस्कार अनुसार पुजा गर्ने तरिकाको बारे जानकारी गराउदै साकेला, च्याब्रुङ, डोकेनी नाच प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा च्याब्रुङ, साकेला नाच धित् मरुन्जेल नाचेका थिए भने किरातहरुको परम्परागत खानपीनको राम्रो ब्यवस्था थियो ।

यस उधौली चाडलाई लिम्बुहरुले चासोक तङनाम, राईहरुले साकेला, सुनुवारहरुले फोलष्यादर र याख्खाहरुले चासुवा भन्ने गर्दछन् । खोलाको माछा उधो लागेको समयमा मनाउने यस चाडलाई उधौली र पाकेको बाली देवीदेवता र पितृलाई चढाउने न्वागी पुजा पनि भन्ने गरिन्छ । यो चाड मंसिर पूर्णिमाको दिन बर्षमा एक पटक सबै किरातहरुले आआफ्नो विधि गरि मनाउने गर्दछन् । अन्नबालि भित्राएको र आकासमा पूर्ण आकारको रमाइलो चन्द्रमा उदाएको बेला मनाइने यस चाडलाई सुख र खुसिको चाडको रुपमा मनाइन्छ ।
उधौली चाड बु्रनाईमा भब्यता पूर्वक मनाइएको यो दोस्रो बर्ष हो । यस बर्षको कार्यक्रमका संयोजक क्याप्टेन काजीमान लिम्बु रहनु भएको थियो भने साकेला नाचको जिम्मेवारी डिल्लीशेर राई, च्याब्रुङ नाचको नेतृत्व लोक लिम्बु र डोकेनी नाचको अगुवाई सिरी जिमीले गर्नुभएको थियो । राई संस्कृतिको बारे किसन राई, सुनुवार संस्कृतिको बारेमा तरुण सुनुवार, लिम्बु संस्कृतिको बारेमा सान्त कुमार आङदेम्बे र याख्खा संस्कृतिको बारे नवराज जिमीले बोल्नु भएको थियो । ब्यवस्थापकीय कार्यमा जितेन्द्र चेम्जोङ, चन्द्र आङबुहाङ, तुलामान राई, मानबहादुर राई, दिपेन्द्र कन्दङवा, रविन लिम्बु, लक्ष्मी आङदेम्बे लगायत धेरै जनाको सामुहिक सक्रियता थियो ।

कार्यक्रमको प्रमुख अतिथि क्याप्टेन गजेन्द्र देवानले यस चाडको लागि आफ्नो तर्फबाट अझ ब्यवस्थित गर्न पहल गर्ने बताउनु भयो । सहभागि सबैलाई स्वागत तथा कार्यक्रम आयोजनाको औचित्य बारेमा विश्वास दीप तिगेलाले बोल्नु भएको थियो । कार्यक्रमलाई आकर्षक ढंगले भाषाभाषीको कविताहरु सहित महेश वनेमले संचालन गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो दिन बसेको समिक्षात्मक बैठकले सबै किरातहरुको गीत सगीत किरात डट अर्गमा राखि दिने जसले गर्दा संसारभरका किरातहरुले एकै ठाँउ प्राप्त गर्न सकोस भन्ने निर्णय ग¥यो साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबै महानुभावहरुमा धन्यवाद ज्ञापन गरियो ।