कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

११ जनालाई नइ पुरस्कार

नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आ-आफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका एघार प्रतिभालाई २०६८ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कार जनही रु २० हजार राशिका छन् । नइ चन्द्रधन पुरस्कार धर्मसंस्कृतिको सम्वर्द्धन, संरक्षण र जागरणमा समर्पित जगद्गुरू बालसन्त मोहनशरणदेवाचार्यलाई दिइने निर्णय भएको छ । त्यसैगरी नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरणका निम्ति गणेश रसिकलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।
राजनीतिमा समर्पित भएर पनि कथा, उपन्यास, निबन्ध तथा कविताको स्तरीय सिर्जना गर्दै देशदेशान्तरमा नेपाली भाषाको गरिमा बढाएबापत प्रदीप नेपाललाई नइ ईश्वरबल्लभ पुरस्कार प्रदान गरिने भएको छ । अनिता तुलाधरलाई आधुनिक कथालेखनमा समर्पित रही नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाहका निम्ति नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा योगदान गरेबापत डा.देवीप्रसाद सुवेदीलाई नइ ईश्वर बराल पुरस्कार प्रदान गरिने भएको छ भने केशव आचार्यलाई नेपाली भाषासाहित्यको सिर्जना र सङ्गठनमा समर्पित भई योगदान पुर्‍याएबापत नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । गीत सङ्गीतमार्फत जनस्तरमा नेपाली भाषाको गरिमा बढाउनाका अतिरिक्त आधुनिक सङ्गीतको महिमा वृद्धि गराउन गरेको योगदानका निम्ति भारत, दार्जिलिङका चन्दन लोम्जेल र डेजी बराइलीलाई नइ कोइलीदेवी पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको छ ।
यसैगरी मानव समुदायभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तार र सेवामा राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याएबापत तेस्रोलिङ्गी पिङ्की गुरुङलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिने भएको छ । विदेशमा रहेर पनि नेपाली भाषासाहित्यमा समर्पित भई कृति निर्माणमा समेत योगदान गर्ने बेलायतका स्रष्टाद्वय गोपीकृष्ण प्रसाईंको ‘रात ढलेको थिएन’ कवितासङ्ग्रह र जया राईको ‘बेकर स्टि्रटका दुई आँखा’ कथासङ्ग्रहलाई नइ गणेशदुर्गा पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ ।