कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

यसै बर्ष भुरु भएको महाकवि देवकोटा पुरस्कार - पाँच स्रष्टालाई I

काठमाडौं । संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालये यसै वर्ष स्थापना गरेको ‘महाकवि देवकोटा पुरस्कार’ यस वर्ष नेपाली भाषासाहित्यका पाँच स्रष्टालाई दिइने भएको छ ।

पाँच दशकको साहित्ययात्रामा कविता तथा गीत रचनामा आर्जित गुणस्तरीय उत्कृष्टता र लोकपि्रयताका आधारमा कविता विधामा कालीप्रसाद रिजाललाई र आधा शताब्दीदेखि मुख्यतः नेपाली समालोचनाका परम्परा र आंशिकरुपमा निबन्धात्मक संस्मरण लेखनमा क्रियाशील रहँदै प्रामाणिक, तथ्यसङ्गत प्राज्ञिक विश्लेषणात्मक एवम् अनुसन्धानात्मक समालोचना लेखी गरेको योगदानबापत निबन्ध/समालोचना विधामा प्रा डा केशवप्रसाद उपाध्यायलाई प्रदान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आख्यान विधामा मदनमणि दीक्षित र सात दशकदेखि नेपाली लोकगीतको सङ्कलन र गायनका साथसाथै लोकलयमूलक काव्यको रचना तथा लोकसाहित्यको अनुसन्धान गरेबापत लोक साहित्यतर्फको पुरस्कार धर्मराज थापालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पाँच दशकदेखि नेपाली कविता र निबन्धका साथै नेपाली समालोचना ग्रन्थको लेखन, सम्पादन र नेपाली शिक्षा परिषद्मा आबद्ध रही गरेको कार्य आधारमा भाषा साहित्य सेवा विषयक्षेत्र तर्फको पुरस्कार रमा शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पुरस्कारका लागि सिफारिस गर्न मन्त्रालयले प्राज्ञ प्रा डा महादेव अवस्थीको संयोजकत्वमा प्रा केशव सुवेदी, भुवन ढुङ्गाना, डा रामदयाल राकेश र डा विष्णुविभु घिमिरे रहेको समिति गत कात्तिकमा गठन गरेको थियो । प्रत्येक पुरस्कारको राशि जनही रु एक लाखको हुनेछ । घोषित पुरस्कार यसै वर्ष प्रदान गरिने मन्त्रालयले जनाएको छ ।