कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

हिमालपारि पुगेपछिको यात्रामा प्रतिक ढकालसँगै निस्कदा

डायरीबाट
  
मलार्इ कविताले जति छुन्छ त्यति अरू विधाका रचनाले छुनै सक्दैन भन्थे म । हुन पनि म आफै थुप्रै विधामा कलम चलाइरहेछु र पनि कवितामा जति खुशी हुन्छु त्यति अरूमा हुनै सक्दिन । सायद यो मेरो अध्ययनको कमजोरीले होला भन्ने ठान्दै यतिका बर्षहरू विदेशी भूमिमा नेपाली साहित्यका लागि केहि गर्ने सँकल्प बोकेर इजरायलको रेगिस्तानमा दौडिरहेको थिएँ र अझै पनि छु ।
फेसबुक सञ्जालको जालोमा घेरिने क्रममा एकदिन बसन्त श्रेष्ठ "क्षितिज" भाइको स्टाटसमा प्रतिक ढकालजीको ‘गण्डकीको मुहानतिर’ सँस्मरण/नियात्राको स्टाटस देखेँ । अनि मलाई आफ्नै स्याङ्ग्जाली भूमि पवित्र बनाउँदै बगेकि कालीको यादले सतायो । पोखराको सुन्दर प्रकृतिसँग लुकामारी खेलिरहँदा कहिलेकाँही पर्वत वा बाग्लुङ्को यात्रामा देखिने कालीले मलाई उत्तिकै रोमाञ्चित बनाई रहन्थ्यो । यसैका प्रतिविम्वित मोहले हुनुसक्छ कृतिकार प्रतिक ढकालसँग सदभावी माया गास्न मन लाग्यो र तुरून्त फेसबुकमा साथीको लागि निम्तो पठाइहालेँ ।
निम्तो पठाउनुको औचित्य ममा केहि थियो थिएन थाहा थिएन तर जब कृतिकार प्रतिक ढकालजीले तुरून्त साथीमा गाभेर धन्यवाद सहितको मेल पठाउनुभो म आभारी भएँ । अनि तुरून्तै इन्बक्स म्यासेजमा खुशीका असिमित आभासहरू व्यक्त गरेँ ।
दिन वित्दै गए । रातलाई पछाडि पार्दै गएँ । यसरी वितेका दिनहरूले कहिलेकाँही सुमाधुर्यता लिएर आउछ भन्ने लाग्दैनथ्यो । तर एकदिन फेरि साझा प्रकाशनले राखेको पुस्तक प्रदर्शनीकै क्रममा उहाँसँग फेसबुकबाटै कुराकानी हुन पुग्यो र वहाँका कृतिहरू उक्त प्रदर्शनीमा राखिएकाले म आकर्षित भएँ । किनकी मैले सुनेका उहाँका कृतिहरू बढि नियात्रा नै छन् । अनि उक्त प्रदर्शनीमा मेरो कृति ‘असूचित विम्ब–ध्वनि’ पनि राखिएकाले यसैका सूचनाका लागि पनि हामी एकआपसमा नजिकिनु जरूरी थियो ।
फेरि यता इजरायलको बसाईमा भोगे देखेका कुराहरूलार्इ कुनै डिजिटल डायरीमा र कुनै काँचो डायरीमा लेखेर राखिरहेको मैले निकट भविष्यमा नै ‘इजरायल डायरी’ निकाल्ने तयारीमा रहेकाले पनि यहाँहरूले भर्नुभएका डायरीबाट परिस्कृत भएर निस्केका तिनै डायरीका पानाहरूमा सलबलाउन मन लागिरहेको थियो ।
कुरै कुरामा कृतिकार ढकालजीको फोन मागेँ र उहाँले पनि दिनुभो । फोन घुमाएँ, म जति खुशी थिएँ फोन गर्न पाएकोमा उहाँ पनि कम चै हुनुहुदैनथ्यो । विशेष पुस्तक उपलव्ध गर्ने र इजरायलमा कसरी हात पार्ने कुरासँगै आ–आफ्नै खुशीका असिमित बन्धनलाई विट मार्नै पर्ने भो । फोन राखेँ । तर पनि मनभरि अब पुस्तक कसरी हात पार्ने भनेर सोच्न थाले । तर काठमाण्डौँमा रहनुहुने मेरो बहिनी ज्वाईलार्इ फोन गरेँ र कृतिकार ढकालजीको नम्बर दिएँ । अनि मात्रै म ढुक्क भएँ कि अब मेरो नाममा कृतिकार ढकालजीको कृतिहरू सुरक्षित बन्ने भए ।
कृतिहरू सबै किनेर सुरक्षित गरिदिनुभएपछि मेरो बहिनी ज्वाई लक्ष्मण श्रेष्ठ जो, कलेज पढाउदै र आफु पनि पढ्दै गर्नुहुन्छ, को समय व्यस्तता मेरो लागि दिनुभएको उक्त अमूल्य समय र कृतिकारसँगको भेटघाटमा भएका भलाकुसरीले म धन्य भएँ भने उहाँलाई हृदय रित्याएर धन्यवाद नदिईरहने कुरा नै भएन ।
विदेशको बसाई, नेपालको कृति हात पार्न सजिलो थिएन । यसको परपञ्जा मिलाउँदै गर्दा मेरो साथी समा राउत नेपालबाट छुट्टि गएर इजरायल फर्किसक्नुभएको थियो । वहाँसँग अरू पनि पुस्तकहरू मगाएकाले भेट्नै पर्ने थियो र बल्लतल्ल समय मिलाएर भेटन गएँ, वहाँकै निवासमा । अनि प्रतिकसरका पुस्तकहरू पनि वहाँसँगै रहेछ । ‘हिमालपारि पुगेपछि’ ट्याप्पै टिपिहालेँ ।
पुस्तक बोकेर कहिले कोठामा पल्टेर त कहिले गाडीमा हिडिरहँदा तिनै पुस्तकका विभिन्न विषयमा कोरिएका नियात्राभरि आँखाहरू दौडिन थाले । नभन्दै केहि दिनकै अन्तरालमा पढेर पनि सकाएँ ।
'हिमालपारि पुगेपछि' पढेपछि केहि लेख्नै मन लाग्यो तर अफसोच मेरो दिमागमा केहि लेख्नै आउँदैन । किनकी म कुनै समालोचक वा लेखक नै होइन भन्दा पनि हुन्छ । लेख्ने प्रयाशमा छु तर लेखेर मन जित्न त्यति सजिलो छैन । त्यसैले मैले केहि समालोचना लेख्नु भन्दा यसका बारेमा केहि बुझेका कुरा मात्रै लेख्ने जमर्को गरको छु ।
"हिमालपारि पुगेपछि", शीर्षकले नै एकपटक नेपालको याद दिलायो । नेपाली हुनुमा हिमाल जस्तै अटल छु भन्ने गर्भ गर्नुले मलाई एकपटक पुनः विश्वको उच्च हिमाली टाकुराहरू र मेरै नजिक ठिङ्ग उभिएको माछापुच्छ्रे हिमालको काखैकाख आफैलाई हिडाइरहेँ ।
नियात्राकार ढकालजी निशुल्क तल्लो माथिल्लो डोल्पाका विभिन्न रमणिय स्थानहरूमा पुग्नु भएछ । नढाँटि भन्नु पर्दा म पनि रू.१२०, त्यो पनि मेरो साथी समाजीले तिरेर ल्याउनुभएकोसँगै मज्जाले यात्रा गरिरहेँ । भने पछि म पनि निशुल्कै वहाँसँगै निस्के । त्यसैले यो निशुल्क नियात्राका लागि समय मिलार्इदिनुभएकिमा एकपटक अभिन्न मित्र समा राउतजीलार्इ हृदय रित्याएरै धन्यवाद भन्न चहान्छु ।

हो साँच्चै नै मैले जुफालसम्म हेलिकोप्टरमा पुगेपछि त्यहाँको सानातिना ठेकेदारहरूको भीडभाडलाई देशको ठेकेदारी गर्ने हाम्रै नेताहरू सम्झिएँ । जोक्पे बरू कति सोझो छ । हामीले गाली गरेर गधा भनेर सम्बोधन दिँदा यसको अर्थ बुद्धु वा नजान्ने वा अबुझ भनेर भनिन्छ । तर हिमाली जोक्पे भने यसको उल्टो निस्किए ।
तल्लो डोल्पासँगै पास गरे उपल्लो डोल्पातिर हानिएर जब शे–फोकशुण्डो आइपुग्छ, त्यहाँका मानिसहरूको सभ्यता यति धेरे छ कि उनिहरूको सभ्यताका कुराले काठमाण्डौमा लाखौ विदेशी डलर खर्चेर बनाइएका योजनाहरू र ती योजनाहरूले बनाएको फोहोर फ्याल्ने भाँडो वरपर ठिङ् उभिएर मुत्र सेचन गरेका दृश्यहरू झलझली आइरहे ।
यस्ता अनकण्टार हिमाली लेकहरूमा अनपढ भएर पनि तिनीहरूको बोलीचाली, सँस्कार, पहिचान र अतिथिसम्मानका कदरहरूले मन अमिलो बनाईरह्यो । विदेश गएर उच्चशिक्षा हाँसिल गरेर फर्किएका तिनै इन्जिनियर र डाक्टर सापहरूलाई चुनौती दिए जस्तै लागिरह्यो ।
मलाई सँस्मरण डायरी वा नियात्रा लेख्दा एकदम यथार्थ र देखेभोगेका कुराहरू लेख्न मन पर्छ र यो नै वास्तविकता पनि हो । यदि सँस्मरण वा नियात्रामा काल्पनिकता भरियो भने यो कहिल्यै पनि सँस्मरण वा नियात्रा हुनै सक्दैन । बस्तुतः ‘हिमालपारि पुगेपछि’ पढदै जाने क्रममा कहिँ पनि काल्पनिताका बोझिला शब्दहरूले बार लगाईएका छैनन् । अझ अगाडि भन्नु पर्दा टाढाका मीत आफ्नो घरमा आउँदा आफ्नी श्रीमतिसँग रातभरि सुतेर यौनक्रिडामा रम्न दिने कुरासमेतले नियात्रालाई यथार्थको धरातलबाटै हिमाली चुचुरोहरूमा चेतनाको ध्वनि बनेर गुञ्जयमान गराउन सफल छ ।
नेपालको उत्तरी दुर्गम हिमाली भेगहरूमा यात्रा गर्दाका कठिनाई, कठिनाईसँगै आइपरेका चट्टानी धुले बालुवाहरूमा फुङ्ग उडेर सेतै मान्छे नचिनिने हो कि जस्तै हिडिरहनु पर्ने, अनि हिमाली चुच्चे ढुङ्गाहरूमा जोगिएर हिड्नुपर्ने समस्या एकातिर राखेर नियात्राकारले समय मिलाएर डायरी तयार गर्न कतै पछि पर्नुभएको छैन । दिनभरिको थकानमा बेलुकी लोकलको चुस्कि लगाएपछि कति निद लाग्दो हो, तर पनि नियात्राकारको यो यात्रामा सबै कुरालाई भुलेर हाम्रो लागि जागाराम बस्नुभएको रहेछ भन्ने लाग्यो ।
पछिल्लो खण्डमा मुस्ताङ्, हिमालपारिको जिल्ला भनेर चिनिएकाले पनि यसैमा गाभेर एउटा सिङ्गै कृति निकाल्ने जुन साहस गर्नुभयो, यो यसैमा अति अकल्पनिय रोचक बनेर आयो । सायद यी दुबै यात्रालाई छुट्टाछुट्टै कृतिमा समेटिन थालिएको भए ‘हिमालपारि पुगेपछि’ नामले स्थान नपाउन सक्थ्यो या दुबै अपुरा बन्न सक्थे । यसमा पनि नियात्राकार निकै चलाखीपूर्ण तरिकाले प्रस्तुत हुनुभएको छ ।
नियात्रा ‘हिमालपारि पुगेपछि’को यात्राभरि इजरायलको यो व्यस्ततालाई केहि पछि सारेर नियात्राकारसँगै रैथाने राजाहरूसँगको भेटघाटमा व्यस्त रहेँ । नेपालमा प्रजातन्त्र आइसक्यो र राजा विहिन भएर गणतन्त्र आउँदासम्म ती हिमाली क्षेत्रहरूमा विष्ट राजाहरूको पहिचान पाउँदा निकै उत्साहित बनेको छु । खर्चै गरेर जान त सकिन्छ सकिदैन, कतै कसैको सहयोग पाइएछ भने एकपटक नियात्राकारको यी सबै व्याख्या गरिएका भूभाग, त्यहाँका रहनसहन, राज्य प्रणालीसँगै परिचित बनाउने ईप्सा लागेर आएको छ ।
त्यति मात्रै कहाँ हो र? हिमाली क्षेत्रमा बनेका लोकेल रक्सी र कुखुराको सपेटामा झुण्डिने इच्छा जागेर आएको छ । अझै अगाडि नियात्राकारले लुकाउनु भो कि ख्वै? म भित्र चै शेर्पिनीहरूसँग नाच्ने रहर पनि उत्तिकै जागृत बनेर आएको छ । मलाई तास खेल्न त आउदैन त्यति बेला चै मैले पनि मेरो अनुभवहरू डायरीमा कोर्दै बसुँला भन्ने लागेको छ ।
जेसुकै होस्, म पनि एकचोटि मुक्तिनाथको चिसो १०८ धारामा नुहाएरै छाड्छु भन्ने अठोट जागेको छ । यस्तो इच्छा जाग्नुको एउटा मात्रै कारण छ र त्यो हो बौद्ध धर्मावलम्बी र हिन्दुहरूको एउटै पवित्र थलो मुक्तिनाथ हुनु । इजरायलमा हिन्दु मान्यता विपरित भूलबस वा झुक्किएरै खाईएको गौमाताको मासुको लागि शुद्धता प्राप्त गर्न मुक्तिनाथमा हिन्दु मन्दिरकि बौद्ध झुमासँगै पुजा गराउनु छ ।
‘हिमालपारि पुगेपछि’ अति महत्त्वपूर्ण बन्यो मेरा लागि । यसमा लेखिएका भाषा तथा शब्दहरू सरल र सुललित छन् । अध्ययन गरेपछि सजिलै सबै कुरा बुझ्न सकिने गरि भाषा शैलीले कृतिलाई कुदेर निखार्नु पनि कृतिकारको महान शैली हो । त्यसैले कृतिकार प्रतिक ढकाल ज्यूलाई इजरायली मरूभुमिबाट लाख लाख धन्यवाद टक्र्याउँदै आगामी दिनमा यस्तै रोचक र उपयोगी कृतिहरू अध्ययन गर्ने मौका मिल्नेछ भन्दै यहाँलार्इ हार्दिक बधाइ तथा शुभकामना टक्र्याउँन चहान्छु ।
अन्तमा, मैले अगाडि नै भनेको छु कि म कुनै लेखक वा समालोचक होइन र यहाँको कृतिमा समालोचना लेख्ने दृढता ममा छैन पनि । त्यसैले मनमा उब्जिएका भावनाहरू लेख्न मन लाग्यो र सरसर्ती लेखे पनि । यसमा कहिँ कतै त्रुटिहरू पक्कै भएमा माफी माग्दै जदौ भन्ने चाहे ।