कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

२०११ मा नेपाली साहित्य

हरि अधिकारी


पश्चिमा जगतले अपनाएको पञ्चांगअनुसार भर्खरै बितेर गएको सन् २०११ नेपाली साहित्यका हकमा समग्रतामा हेर्दा सुखद रह्यो भन्न सकिन्छ। आसलाग्दा नवस्रष्टाको आगमन, विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमको सफल आयोजन र पुस्तक बिक्रीमा लगातारको अभिवृद्धिका आलोकमा हेर्दा सन् ११ लाई उपलब्धिमूलक ठानिएको हो ।

अधिकांश पाका र प्रतिष्ठित लेखकले भने यस वर्ष प्रकाशित आफ्ना कृतिबाट पाठकलाई निराश बनाएको देखियो। बासी विचार, अनाकर्षक शैली र थोत्रो संवेदनालाई जोडजाड गरेर तिनले रचना गरेको साहित्यले तिनीहरूभित्रको लेखक अधमरो भइसकेको तथ्यकै पुष्टि गरेझैं भएको छ। उपन्यासको उत्पादन गर्ने कारखानाझैं सक्रिय ध्रवचन्द्र गौतम, पूर्णकालीन लेखक भनिएका कृष्ण धरावासी, मञ्जुल, सरुभक्त जस्ता स्रष्टाले यस वर्ष आफ्ना प्रकाशित कृतिको बलमा खासै प्रभाव जमाउन सकेनन्। धेरै समयको अन्तरालमा दुइटा उपन्यास लिएर आएका किशोर नेपाल पनि रचना सामर्थ्य र पुस्तक बिक्री दुवै दृष्टिले आशातीत रूपमा सफल हुन सकेनन्। यस वर्ष कथालेखनमा राम्रो नाम कमाएका राजव पनि उपन्यासकारका रूपमा पूर्णतः फ्लप भए। स्वास्थ्यका कारण हुनुपर्छ, जगदीश घिमिरेले पनि यस वर्ष कुनै नयाँ सिर्जना गरेको देखिएन। उनी 'अन्तर्मनको यात्रा' ले दिएको सफलता र यसबाट प्राप्त ख्यातिकै प्रवर्द्धनमा अहिले पनि लागिरहेका छन्। स्थापित आख्यान लेखकमध्ये कृतिगत श्रेष्ठताका हिसाबले नारायण ढकाल मात्र पाठक र समालोचक दुवैको नजरमा टिक्न सकेको देखिन्छ।

पाका-पुरानाले निराश बनाए पनि नेपाली साहित्यमा उदाएका केही नव-नक्षत्रले भने यसको भविष्यप्रति आश्वस्त हुनसक्ने ठाउँ बनाइदिएका छन्। त्यस्ता आसलाग्दा प्रतिभाको नाम लिँदा, सन् २०१० मा देखापरेकालाई समेत समेट्ने हो भने अमर न्यौपाने, आन्विका गिरी, युग पाठक, सुविन भट्टराई, सीमा आभास, सरिता तिवारी, हेम प्रभास, रावत, भूपिन ब्याकुल, उमेश राई अकिञ्चन, अभय, सञ्जीव राई, स्व.स्वप्निल स्मृति, राजन मुकारुङ, संगीत आयाम, साम्ब ढकाल, निमेष निखिल, ठाकुर बेलबासे र अनुपम रोशी आदिलाई सम्झनु पर्ने हुन्छ। यीमध्ये पनि कथा-उपन्यासमा बुद्धिसागर, युग पाठक, अमर न्यौपाने, आन्विका गिरी र सुविन भट्टराई अनि कवितामा उमेश राई, सञ्जीव राई, हेम प्रभास र रावतबाट नेपाली साहित्यले धेरैधेरै उत्कृष्ट रचनाको आस गर्न सक्छ। युग पाठक, बुद्धिसागर र रावतको नेपाली साहित्यमा भएको प्रवेश हालका दिनमा भएको एउटा महत्वपूर्ण घटना हो। यी लेखकले सिर्जनात्मक इमानदारी, लगनशीलता र आफूलाई उत्तरोत्तर तिखार्दै लैजाने कुरामा आवश्यक दृष्टि पुर्‍याउन सके र लेखनलाई निरन्तरता दिइरहे भने यिनको अहिले भएको साहित्यमा प्रवेश कुनै बेलाको मोहन कोइराला वा दौलतविक्रम विष्ट वा परशु प्रधान वा ध्रुवचन्द्र गौतमको प्रवेशजस्तै सार्थक प्रमाणित हुनेछ।

परशु प्रधान, तेजेश्वरबाबु ग्वंग, मणि लोहनी, अनमोलमणि, बाबुराम लामिछाने, श्रवण मुकारुङ, शारदा शर्मा, युवराज नयाँघरे, दुवसु क्षेत्री, नारायण वाग्ले, ध्रुव सापकोटाको पनि यस वर्ष उल्लेख्य रचनात्मक सक्रियता रह्यो। निकै सुन्दर कथा लेखेर पनि अत्यन्त कम चर्चामा आएका बाबुराम लामिछानेको एउटा कथासंग्रह प्रकाशित भयो। 'पाखाको' भन्ने अनाकर्षक नाममा भने वरिष्ठ कथाकार परशु प्रधानका उत्कृष्ट कथाहरूको संकलन पनि यसै वर्ष छापियो। तेजेश्वरबाबु ग्वंगको पनि एउटा निबन्धसंग्रह प्रकाशित भयो यसै साल। शारदा शर्माले पनि यस साल एउटा निकै मोटो पुस्तक पाठकका हातमा पुर्‍याइन् आफ्ना संस्मरण र गन्थन-मन्थनको। आफ्ना सभासद पति नरहरि आचार्यलाई अनौपचारिक नामले बारम्बार सम्बोधन गर्दै बहुधा सार्वजनिक सरोकारमा नपर्ने प्रसंगहरू लिपिबद्ध गरिएका निबन्धको त्यो संग्रहले आम र खास पाठकबाट कस्तो प्रतिक्रिया पाएको छ भन्ने विषयचाहिँ खुलेको छैन।

दुवसु क्षेत्रीको भारी आकारको कवितासंग्रह साझा प्रकाशनबाट छापियो जसका लागि उनले मदन पुरस्कार पाउँदैछन् भन्ने हल्ला पुरस्कारको घोषणा हुनुभन्दा धेरै पहिले नै चल्यो। तर अन्ततः कविले साझा पुरस्कारमा चित्त बुझाउनुपर्‍यो। यसलाई सान्त्वना पुरस्कारका रूपमा हेर्दा फरक पर्दैन भन्नेहरू पनि देखिए।
साहित्यिक पुरस्कारको हकमा यो साल लगभग सम्पूर्ण नै पृथक शारीरिक अवस्था भएकी स्रष्टा झमक घिमिरेको हकमा रह्यो भने पनि हुन्छ। उनको आत्मवृृत्तान्तपरक कृति 'जीवन : काँडा कि फूल' ले आप्रवासी धनाढ्य नेपाली जीवा लामिछानेले राखेको २ लाख धनराशीको पद्मश्री हरिकला पुरस्कार र त्यति नै राशीको मदन पुरस्कार पायो। निबन्धात्मक कृतिलाई दिइने उत्तम शान्ति पुरस्कार पनि उनकै पोल्टामा पर्‍यो। झमकले यी पुरस्कार पाएकोमा नेपाली समाज प्रसन्न छ। तर अमूक वर्षभरि छापिएमध्ये रचनात्मक उत्कृष्टताको मापदण्डमा अब्बल ठहरिने एउटा कृतिलाई दिइने भनी राखिएको कुनै पुरस्कार स्रष्टाको पृथक र कारुणिक शारीरिक अवस्थालाई हेरेर प्रदान गरिनु कत्तिको जायज हो भन्ने प्रश्न भने यस सन्दर्भमा बलियोसँग उठेको छ।

पुुरस्कार दिने-लिने विषयलाई लिएर सधैं नै आलोचना रहँदै आएको हाम्रो साहित्यिक परिदृश्य यस साल पनि परम्पराबाट हट्न सकेन। धेरैजसो पुरस्कार कसलाई, केका लागि दिइए त्यसको पत्तोसमेत कसैले पाएन, अशक्त भएका कारण झमकले पाएका पुरस्कारहरूबाहेक। सरकारी पुरस्कार बाँड्ने ठाउँमा कवि दिनेश अधिकारी पुगेको बेलामा रचनात्मक उर्जा बाँकी भएका, प्रतिभाशाली र उमेरका हिसाबले पनि तुलनात्मक रूपमा युवा स्रष्टातिर पनि ध्यान दिइन्छ कि भन्ने आशा गरिएको थियो। तर व्यवहारमा त्यो आशा व्यर्थ हुन पुगेको छ। सरकारी पुरस्कार, पारिताोषिक, मानसम्मान, भत्ता र सहयोगमाथि कि ७० वर्षको उमेर नाघेको मुट्ठीभर मानिस कि भने राजनीतिक दलका झोले कार्यकर्ताको मात्रै जुन हकदाबी रहँदै आएको थियो, सचिव दिनेशहरि अधिकारीले पनि त्यसमा फेरबदल गर्न सकेनन् वा चाहेनन्।

पुरस्कारका प्रसंगमा हेर्दा यस साल पनि नरेन्द्र-इन्दिरा प्रसाईंको जोडीले सधैंझैं थोकका भाउमा अनेक राशीका अनेकन पुरस्कार बाँड्यो, जसका बारेमा दिने र लिनेबाहेक सायदै कसैको चासो जागृत भयो। अत्यन्त सीमित मानिसको मात्र सरोकारमा पर्ने अरू सयौं पुरस्कार भएको हाम्रो साहित्यिक संसारमा सन् २०११ मा ३ वटा ठूला राशीका पुरस्कार पनि थपिएका छन्। झापाका धनाढ्य श्रीप्रसाद ओलीद्वारा स्थापित १ लाख रुपैयाँको रुद्र-अम्बिका साहित्य पुरस्कार, ५० हजारको किराँत साहित्य प्रतिष्ठान पुरस्कारमध्ये किराँत प्रतिष्ठान पुरस्कार र साहित्यकार नगेन्द्र शर्माले राखेको नगेन्द्र-नन्दहरि वाङमय सम्मान नामको रु. ३० हजारको अर्को पुरस्कार। यी पुरस्कारमध्ये किराँत प्रतिष्ठान पुरस्कारमा राजनीतिक विचारधाराको चर्को प्रभाव देखिएको छ भने अरू दुई वटाको भविष्य कस्तो हुने हो, निश्चित भइसकेको छैन।

सन् २०११ मा नेपाली साहित्यको क्षेत्रमा केही उल्लेख्य र सकारात्मक गतिविधि भए। यस साल जनस्तरमा तीनवटा साहित्यिक मेला आयोजन गरिए। पुस्तक बिक्रेता कम्पनी बुकवर्म र एनसेल कर्पोरेसनको संयुक्त तत्वावधानमा भएको पहिलो चारदिने मेलालाई पाटन दरबार क्षेत्रमा आयोजना गरिएको साहित्य र कलाजात्रा नाम दिएको अर्को मेलाले पछ्यायो भने त्यसै बीचमा पर्यटन वर्षको उपलक्ष्य पारेर दाङ पर्यटन विकास समितिले जिल्ला सदरमुकाम घोराहीमा अर्को चारदिने साहित्यिक महोत्सवको आयोजन गर्‍यो। यी तीनै साहित्यिक उत्सव आआफ्ना किसिमले सफल रहे। दाङ महोत्सव अरूभन्दा विशेष रह्यो। यसमा भएको साहित्यकारको भव्य जमघट र त्यसले समेटेको क्षेत्र र कार्यतालिकाका कारण।

बिपी कोइराला नेपाल-भारत फाउन्डेसनको आर्थिक सहयोगमा प्रत्येक वर्ष भारतीय लेखक तथा सामाजिक व्यक्तित्व अजित कौरले आयोजना गर्ने नेपाल-भारत साहित्य तथा कला महोत्सव यस वर्ष पनि भयो। डेढ दशकभन्दा बढी समयदखि श्रीमती कौरको एकल वर्चश्वमा भइरहेको त्यो द्विदेशीय कार्यक्रमजस्तो हुनुपर्ने हो, त्यस्तै भयो। कर्मचारीतन्त्रको बासी गन्ध, मुख्य कर्ताधर्ताको ठस्सा र भारतीय दुतावासले सधैंका लागि पत्याएका केही तथाकथित बुद्धिवादीका बीच थोरै समर्पित स्रष्टा खुम्चिएर बसिरहेका देखिए कार्यक्रम अवधिभर। तर त्यसै कार्यक्रम अन्तर्गत भएको नेपाल र भारतका कविको संयुक्त कवितावाचन कार्यक्रम भने निकै रोचक र सफल रह्यो।

हालका दिनमा लगातार र विभिन्न ठाउँमा भएका पुस्तक प्रदर्शनी, पुस्तक प्रवर्द्धनका लागि सञ्चार माध्यम, खास गरी छापाहरूले देखाएको सद्भाव र प्रकाशकद्वारा सञ्चालन गरिएका पुस्तक बिक्रीका आक्रामक प्रवर्द्धनात्मक कार्यक्रम साहित्य विकासका लागि महत्वपूर्ण उपकरण सावित भएका छन्। सन् २०११ मा पनि यस्ता सकारात्मक क्रियाकलाप जारी नै रहे अझ घनीभूत रूपमा। प्रकाशन नेपालयले सुरु गरेको आफ्ना प्रकाशनको आक्रामक प्रवर्द्धन योजनालाई फाइनप्रिन्ट, हिमाल बुक्स र सांग्रिला जस्ता अन्य संस्थाले पनि पछ्याउँदै आएका छन्। अब यो शैलीलाई साझा प्रकाशन, रत्न पुस्तक भण्डार जस्ता ठूला प्रकाशन गृहले पनि आत्मसात गर्न आवश्यक भइसकेको छ यदि कडा प्रतिस्पर्धात्मक प्रकाशन व्यवसायमा सफलतापूर्वक टिकिरहने हो भने।

सन् २०११ मा साझा प्रकाशनको व्यवस्थापनले त्यसको मासिक प्रकाशन 'गरिमा' को सम्पादकीय जिम्मेवारी त्यहीँकै कर्मचारीको हातबाट झिरेर कवि तथा अनुभवी सम्पादक अविनाश श्रेष्ठलाई सुम्पिएपछि पत्रिकाको गुणवत्तामा देखिएको सुधार एउटा उल्लेख्य घटना बन्न पुगेको छ। कुनै पनि विभागीय साहित्यिक प्रकाशनको सम्पादन कर्मचारी मनोवृत्ति भएको सम्पादकबाट भन्दा सृजनात्मक सोच भएको बाहिरबाट ल्याइएको सम्पादकबाट राम्रोसँग हुन सक्छ भने कुरा प्रमाणित भएको छ।

नेपालसमेत एउटा अंग रहेको प्रतिलिपि अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि र आफ्नै मुलुकको प्रतिलिपि अधिकार संरक्षण सम्बन्धी ऐनकानुनको धज्जी उडाउँदै विदेशी लेखकका किताब मूल र अनुवाद दुवै संस्करणमा छाप्दै बेच्दै गर्ने अवैध व्यवसाय सन् २०११ मा पनि अक्षरको दुनियामा चोरबाटोबाट पसेका ठगले निर्वाध रूपमा चलाएको देखियो। यिनको त्यस्तो गैरकानुनी व्यापारमाथि अंकुश लगाउन सरकार त उद्यत भएन नै, वैध ढंगले व्यवसाय चलाइरहेका प्रकाशनगृहले समेत आफूले आयोजन गर्ने साहित्य र पुस्तक मेलामा तिनको सहभागिता हुन दिएर चोरलाई भद्राशन उपलब्ध गराएझैं गरेका छन्। आइन्दा पुस्तक व्यवसायी संगठन र साझा प्रकाशन आदिले पुस्तक प्रदर्शनी र मेलाको आयोजना गर्दा प्रतिलिपि अधिकार उल्लंघनकर्तालाई तिनमा प्रवेश दिने छैनन् भन्ने आशा गर्न सकिन्छ।

अनुवादका माध्यमबाट नेपाली साहित्यलाई विश्वको विशाल पाठक समूहसम्म पुर्‍याउने र अरू भाषा जान्ने नेपालीलाई अन्य भाषाका उत्कृष्ट साहित्यको रसास्वादन गराउने अभियानका दृष्टिले भने सन् २०११ पहिलेपहिले जस्तै निराशाजनक रह्यो। भाषा साहित्यको प्रवर्द्धनका दृष्टिले अत्यन्त महत्वपूर्ण यो काममा अग्रेसर हुनुपर्ने नेपाल प्रज्ञाप्रतिष्ठान लगभग निस्त्रि्कय नै रह्यो। निजी क्षेत्रका प्रकाशनले गराएका अनुवादको स्तर यति खराब छ हामीकहाँ, अनुदित पुस्तकका लेखकको अपमान गर्न भाषान्तर गरिएजस्तो लाग्छ। यस साल पुराना गजलकार रामबहादुर पहाडीले महान रुसी साहित्यकार लियो टल्सटयको विश्वप्रसिद्ध उपन्यास 'युद्ध र शान्ति'को अनुवाद गर्ने साहस गरे। तर अन्तिम सम्पादनमा पर्याप्त ध्यान दिन नसकेकाले यो अनुवाद प्रशंसा गर्न लायक हुन सकेन।

सन् २०११ मा निकै किताब छापिए। पढेलेखेका मानिसमा साहित्यप्रतिको अभिरुचि ह्वातै बढेको शुभलक्षण हो यो। पुस्तक प्रकाशनका साथसाथै विमोचन र अन्तक्रिया कार्यक्रम आयोजनाको प्रचलन पनि बढेको बढ्यै छ। यो पनि अर्को खुसीको कुरो हो, विमोचन कार्यक्रमको समाचार दिने क्रममा छापाहरू र एफएम रेडियोेले किताबको सित्तैमा प्रचार जो गरिदिन्छन्। तर विमोचन कार्यक्रममा वक्ताका रूपमा आउने अनुहार भने एकैखाले हुने पनि लगभग प्रचलन नै बनेको देखिन्छ। सन् २०१० सम्म यस मेसोमा गोविन्दराज भट्टराईको एकलौटीजस्तै थियो भने सन् २०११ मा कुमारप्रसाद कोइराला र लक्ष्मणप्रसाद गौतम सबैभन्दा बढी खोजिने वक्ता भएका छन्।

सन् २०११ मा डायस्पोरिक नेपाली साहित्य, त्यसका गतिविधि, त्यसले दिने पुरस्कार र त्यसको आडमा युरोप अमेरिकातिर घुम्न जाने लेखकको पनि दबदबा जस्तै रह्यो। यो संस्थाको नेपाल च्याप्टर पनि यसै साल पुनर्गठन भयो।

सन् २०११ को एउटा उपलब्धि भनेको आनी छोइङ डोल्माको पुस्तक 'फूलको आँखामा' को नेपाली संस्करण आउनु पनि हो जसले थोरै समयमा दस हजारभन्दा बढी बिक्री हुने कृतिको कीर्तिमान कायम गरेको छ। अघिल्लो साल अर्की साहित्यकार तारा राई लेखेको 'छापामार युवतीको डायरी' भन्ने पुस्तकले पनि बिक्रीको यस्तै कीर्तिमान राखेको थियो। सन् २०११ को अन्त्यतिर छापिएको अर्की महिला अनुपम रोशीको पृथक र सनसनीपूर्ण विषयवस्तुमा आधारित उपन्यास 'कुमारी आमा' ले पाठकबाट कस्तो स्वागत पाउने हो, हेर्न बाँकी छ ।

साभारः नागरिकन्यूजबाट