कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

स्वर्णिमा साहित्य प्रतिष्ठानको स्थापना I



काठमान्डौमा एक भव्य साहित्यिक कार्यक्रमका बीच स्वर्णिमा साहित्य प्रतिष्ठान स्थापना भएको घोषणा गरिएको छ । प्रतिष्ठानले हरेक वर्ष दुइवटा पुरस्कारमा विशिष्ट नारी सम्मान एकजनालाई र प्रतिभा पुरस्कार एकजनालाई दिने घोषणा पनि गरेको छ । पुरस्कार सस्थापक शर्मिला खड्का (दाहाल)ले अक्षयकोष रु दुई लाख राखी यो पुरस्कार दिन लागिएको हो । यस पटक एउटा पुरस्कार मात्र प्रदान गरिएकोमा विशिष्ट नारी साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ नारी साहित्यकार गीता केशरीलाई प्रदान गरेको छ साथै सोही अवसरमा साहित्यकार शर्मिला खड्का दाहालदारा लिखित कथाशृखला ‘क्यानभासमा कोरिएका कथाहरु ’ विमोचन पनि गरिएको थियो । प्रतिष्ठानका सचिव सन्जीव राईदारा स्वागत भाषण गरिएको यस कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ साहित्यकार वैरागी काइलाले गर्नुभएको थियो ।

समालोचक डा कुमारप्रसाद कोइराला र हरि अधिकारीले कृतिका बारेमा आफ्नो समिक्षात्मक धारणा राख्नुभएको थियो भने डा लक्ष्मणप्रसाद गौतमले पुरस्कृत व्यक्तित्व गीता केशरीको साहित्यिक योगदान र पुरस्कार संस्थापक शर्मिला खड्का दाहालको परिचयात्मक चर्चा गर्नुभएको थियो । कथाकार माया ठकुरीले साहित्यका विशेष योगदान दिनुहुने पुरस्कृत व्यक्तित्वको चयन राम्रो भएको भन्दै विभिन्न विधामा कलम चलाउने पुरस्कार सस्थापक शर्मिला खड्कालाई धन्यवाद दिनुभयो ।

मन्तव्यको क्रममा लेखिकाले उपस्थित सम्पूर्ण अतिथि महानुभावहरुलाई धन्यवाद दिदै आफ्नो छोटो साहित्यिक यात्राको चर्चा गर्नुभयो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार वैरागी काइलाले व्यक्तिगतरुपमा पुरस्कार स्थापना गरी आफै प्रकाशन चलाई साहित्यमा जीवन समर्पित गरेकी लेखिकालाई बधाइका साथै सरसल्लाह र सुझाव दिनुभयो । सभाको विर्सजन सभाका अध्यक्ष डा तलसीप्रसाद भट्टराइले छोटो शुभकामना मन्तव्यका साथ गर्नुभयो ।