कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस्एन्जेलस च्याप्टर पुनर्गठन I

लस्एन्जेलस, अमेरिका -


विदेशमा रहेका साहित्यकार तथा कला क्षेत्रमा लागेका व्यक्तिहरुको साहित्य र कलामा आफ्नो देश बोलेको हुन्छ, आफ्नो माटोको सुगन्ध भरिएको हुन्छ । रगतका थोपा थोपाबाट कर्मभुमिमा बिताएका पिडा, चुनौती साथै आक्रोशलाई शब्दमा उतारेर तिर्सना मेटाएका हुन्छन् साहित्यकार कलाप्रेमिहरुले । त्यस्को साथ साथै अहिले दोश्रो तेश्रो पुस्ताहरु पनि अमेरिकी बसाइको क्रममा बाँड्दै जाँदा ति पुस्ताहरुमा पनि हाम्रो नेपाली साहित्य र कलालाई उनीहरुको हृदयमा बसाउन तथा कला साहित्यको जगेर्ना गर्न बिभिन्न साहित्यिक गतिबिधिहरु हुँदै आएको परीवेशमा लस्एन्जेलसबासी साहित्यकारहरुले पनि जुर्मुराउँदै केही गरौँ भन्ने अभिलाशाका साथ जिवित र कृयाशिल नै रहेको संस्थालाई अझै बढि कृयाशिल बनाउँदै पुनर्गठन गरेका छन् ।

यही मंगलबार जनवरी ३ तारिखका दिन बेलुका लस्एन्जेलसको आर्टेसिया सिटीमा भएको एक साहित्यकारहरुको भेलाले अन्तराष्ट्रिय नेपाली साहित्य समाज लस्एन्जेलस च्याप्टर पुनर्गठन गरेको छ । समितिको अध्यक्षमा गोकुल पौडेल, उपाध्यक्षहरुमा डन बहादुर कार्की, राकेश कार्की र सुशिला पाण्डे, त्यसै गरी महासचिवमा गोकुल ढकाल, सचिव तिलक कार्की, कोशाध्यक्षमा सुश्री प्रतिमा पौडेल र सदस्यहरु धर्मेन्द्र प्रसाइ, शन्तिराम ढकाल, प्रेम गुरागाइ, प्रकाश घिमिरे, कृष्ण केसी र सुदिप पन्त रहेका छन् ।

सो पुनर्गठित समितीले आवश्यकता अनुसार अरु कृयाशिल साथीहरु थप्दै लैजाने साथै संस्थालाई चुस्त दुरुस्त राख्न छिट्टै सल्लाहाकार समिती पनि मनोनित गर्ने निर्णय गरेको छ । च्यापटर गठन पछि त्यहाँ उपस्थित साहित्यकार धर्मेन्द्र प्रसाइ, शन्तिराम ढकाल, गोकुल पौडेल, गोकुल ढकाल, प्रेम गुरागाइ, शुशिला पाण्डे र तिलक कार्कीले आ-आफ्नो रचना वाचन गरी कार्यक्रमलाई निकै रमाइलो बनाएका थिए । कार्यक्रममा श्री पशुपतिनाथ फाउन्डेसनका अध्यक्ष भक्त थापा, नेपाल अमेरिका एकता समाजको अध्यक्ष उमा थापा, मुकुन्द ढुंगाना, राजेन्द्र सिवाकोटी, बलराम थापा, राजन अधिकारी साथै धुर्ब गुरुङको पनि विशेष उपस्थिती रहेको थियो।