कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बेल्जियममा डच तथा नेपालीभाषी कविता संग्रह "फ्रीत नेपाल" सार्वजनिक I

दीपक ज्योति पौडेल, बेल्जियम - बेल्जियममा प्रत्येक जनवरीको अन्तिम विहिवारका दिन मनाईने कविता दिवसको अवसरमा बेल्जियमका डच तथा नेपाली भाषीकविहरुका कविताहरु संकलित गरि प्रकाशनमा ल्याईएको "फ्रीत नेपाल" नामक कविता संग्रहको यहि २६ तारिख कविता दिवसको अवसरमा सार्वजनिक गरिएको छ। बेल्जियम स्थित नेपाली दूतावासका महामहिम राजदूत प्रमेश कुमार हमाल र सेन्त्रुदेन नगरपालिका बेल्जियमका मेयर लुद्विग वन्देनोवेको समुपस्थितिमा सार्वजनिक गरिएको हो।

डचभाषी कवि र गैर डचभाषी कविहरुको संयुक्त सहकार्यमा कविता संग्रह प्रकाशित गरि कविता दिवश मनाईएको यो बेल्जियमकै ईतिहासमा पहिलो भएको जानकारी गराउँदै बेल्जियम कवि हेर्मन रोहएर्तले यसले बेल्जियम र नेपाल विचमा आपसी मित्रताका साथै दुईदेश विचको कला, संस्कृति र साहित्यको साटासाट र घुलमिल हुनमा सजिलो हुने बताउनु भयो। कविता दिवश कार्यक्रममा सहभागी नेपाली राजदूत प्रमेशकुमार हमालले नेपाली र बेल्जियम कविहरुको यो साहित्यिक कृतिले दुई देश विच आपसी समझदारी, सदभाव, सम्मानका साथै सांस्कृतिक एकतामा बल पुग्ने भन्दै यसमा प्रयोग गरिएका श्लोक र अभिव्यक्ति पूर्व-पश्चिमको संमिलन भएकोले यो कृति नेपाल र बेल्जियम बिचको सम्वन्धमा कोशेढुङाको रुपमा रहने धाराण व्यक्त गर्नुभएको थियो।



डच र नेपाली भाषी १०/१० जना कविहरुका २० वटा कविताहरुलाई डच, अंग्रेजी र नेपाली गरि तिन भाषामा राखिएको छ। नेपाल र बेल्जियमको संस्कृति झल्कने विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको साथ सम्पन्न गरिएको उक्त कविता दिवसको अवसरमा डच र नेपालीभाषी गरि जम्मा ८ जना कविहरुले कविता वाचन गरेका थिए। नेपाली भाषीको तर्फबाट कविहरु दीपक ज्योति पौडेल, बिमल गिरि, जे.बी शेर्पाले वाचन गर्नुभएको थियो भने दीपेन्द्र के.सीको कविता अर्जुन शाहिले वाचन गर्नु भएको थियो।


बेल्जियममा नेपाली भाषा, कला र साहित्यको संरक्षण सम्वर्द्वनमा सकृय सामाजिक संस्था द हिमालयन सोसाईटीका अध्यक्ष राजेन्द्र रसाईलीको संयुक्त कविता प्रकाशनको अवधारणा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको सहभगितामा यो कार्य सम्पन्न भएको हो। नेपाली कविहरुको तर्फबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बरिष्ठ उपाध्यक्ष कृष्ण बजँगाई र डच कविका तर्फबाट कवि हेर्मन रोहएर्तले संयोजन गर्नु भएको थियो। भावार्थ खुल्ने गरि कलात्मक रुपमा सजाईएको यो कृति द हिमालयन सोसाईटी र बेल्जियम स्थित Academy for Fine Arts of Haspengouw ले प्रकाशनमा ल्याएका हुन।