कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

फेसबुकको हल्लाखल्ला भर्चुअल मात्र हो - केदार संकेतसंग कुराकानी

समकालीन नेपाली साहित्यका सिर्जनशील श्रष्टा केदार सङ्केत आजको हाम्रो पाहुना हुनुहुन्छ । नेपाली साहित्यको श्रीवृद्धिका लागि बिभिन्न विधाहरुमा कलम चलाउदै आउनु भएका साहित्यकार संकेतका हालसम्म १. आफै जलेको देश– कबिता संग्रह २०६४, २. एथेन्सको भरी – नियात्रा संग्रह २०६७ ३.पैयुका फूलहरु – हाइकु संग्रह २०६८ गरी जम्मा तीन कृतिहरु प्रकाशित भई सकेका छन र भर्खरै उहाँले बिभिन्न देशमा रहनु भएका लेखकका यात्रा संस्मरण समेटेर 'यात्रा स्पर्श' नामक संग्रहको पनि सम्पादन गर्नु भएको छ । प्रवासमा रहेर पनि नेपाली साहित्यलाइ औधी माया गर्ने श्रष्टा हुन् संकेत ।

सैन्यजीवन र साहित्य सिर्जना आफैंमा विरोधाभास लाग्ने यी दुइ पृथक बिषयलाई एकसाथ् अंगाल्नु भएका यी साहित्यकारले श्रष्टा र साहित्यको हित र सम्मानार्थ साहित्यिक इन्टरनेट पत्रिका 'साहित्य संगालो डट कम' पनि संचालन गर्दै आउनु भएको छ, जसले साहित्य चौतारी पुरस्कारको स्थापना गरी बिभिन्न विधाका लेखक साहित्यकारहरुलाई पुरस्कार समेत प्रदान गर्दै आएको छ । पछिल्लो समयमा उहाँको नविनतम कृति 'पैंयुका फूलहरु' हाइकु संग्रह बजारमा आएको छ । प्रस्तुत छ उनै साहित्यकार केदार सङ्केतको साहित्यसंसारका सम्पादक कृष्णपक्षसंग भएको भलाकुसारी ।


१ साहित्यकार केदार सङ्केतज्युलाइ हार्दिक स्वागत छ, सर्वप्रथम नामबाटै आरम्भ गरौँ, साहित्यिक नाम ' सङ्केत' किन र कसरी जुराउनु भयो?
धन्यवाद कृष्णजी तपाइलाई पनि, मेरो यो उपनाम त्यो बेला केदार नामक श्रस्टा धेरै भएकोले सङ्केत राखिन गयो तर अहिले यसकै बारेमा तार्किक दृष्टिैकोणमा म खेल्दै छु ।


२ साहित्यिक सिर्जनामा कति बर्ष देखि समर्पित हुनु हुन्छ ?
जव म ८ कक्षामा हुँदा बिषयमा पर्ने कविताहरु पाठ गर्दा उदी कवितातिर तैरिन थालेछु, पौडिन भने सकेको छैन ।

३ हालसम्म तपाईंका कुन कुन विधामा कति वटा साहित्यिक कृतिहरु प्रकाशित भएका छन ?
मेरा प्रकाशित कृतिहरुमाआफैँ जलेको देश– कबिता संग्रह (२०६४),एथेन्सको झरी – नियात्रा संग्रह (२०६७),पैयुका फूलहरु – हाइकु संग्रह (२०६८) र मेरो सम्पादनमा 'यात्रा स्पर्श संग्रह (२०६८) बजारमा आएको छ ।

४ प्रवासको यान्त्रिक दिनचर्या, सैन्य जीवन र साहित्य सिर्जना, यी सबैलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
काममा काम गर्नै पर्यो, नत्र जीवनको कर्तव्यमा अडिइएन नि, जब मनिस आफ्नो कर्तव्य भुल्छ भने मत भन्छु बाच्नु निरर्थक छ । जहाँ सैन्य जीवन र साहित्यको कुरो छ यी पक्षको कुरो गर्दा, म २००५ सालमा सैन्य जीवनवाट अवकाश भएको हुँ । मैले १६ बर्ष सम्मको त्यो कालखन्डमा धेरै कविताहरू कोरियो तर अध्ययनमा पछाडी परियो, त्यसैले पनि होला मेरा अरु विधाहरु लङगडो जस्तै भए। आजका दिनहरुमा ती पहिलाका नोटहरु केलाउँदै छु । त्यो बेला घुमेका, लडेका, दुखेका सबै चिजहरुलाई नयाँ रुप दिएर बुन्दै छु । तालमेलको कुरो भन्नुपर्दा, जाँगर हुनु पर्छ साहित्यकारमा । जब जाँगर मारेर अन्तै भुलिन्छौ भने अरु पर पुगिन्छ टाढा । भोलीको भाका कवि तथा साहित्यकारले राख्नु हुन्न । त्यसो त दुई शब्द लेख्नु भन्दा चार शब्द अरु पढनुपर्छ । पढ्दा नेपाली त छदैछ, अरु भाषामा सके हेर्ने बुझ्ने नसके नेपाली भाषाकै अनगिन्ती राम्रा ज्ञानवर्धक कितावका पानाहरु छन तिनीहरु हेर्ने, बुझ्ने गर्छु ।


५ अहिले नेपाली साहित्यको समग्र स्थिति कस्तो छ ?
छताछुल्ल छ । हुनत "नहुनु मामा भन्दा कानो मामा नै निको" पनि भन्ने गरिन्छ तर खासै विश्वसाहित्यको हाराहारीमा आउने थोरै साहित्यकारहरू छन किनकी हामीहरुले के को सङ्केत दिएर साहित्य कोर्दै छौ भन्ने आँफैमा निश्चिन्त छैनौँ । कविता लेख्दैमा त्यो तबसम्म कविता बन्दैन जब सम्म कवि आँफैले त्यो कविताको व्याख्या गर्न सक्दैन । हामी २ वटा किताव नपढी १० वटा कविता कोर्छौ । अरुको नपढ्ने आफ्नै मात्र राम्रो भन्दै फलाक्ने बानीको नराम्रा जड बसेको छ नेपाली साहित्य पारीवेशमा ।


६ देशबाहिरबाट लेखिएका डायोस्पोरिक नेपाली साहित्यको उपस्थिति कस्तो पाउनु भएको छ, यसको भविस्य कस्तो देख्नु हुन्छ ?
यो विशाल छ तर गहिरो छैन । गर्नु धेरै छ । बुझ्नु धेरै छ । सुरिलो रुख जस्तो छ यो, हाँगा बिनाको रुखमा कसोरी चढ्नु सकिन्छ हैनर ?


७ एथेन्सको झरीले निकै चर्चा पायो नि किन होला ? यात्रा साहित्यलाइ नेपाली पाठकले कति रुचाएका छन ?
खासै चर्चा पाएन । एउटा कुरो भन्छु, यो फेसबुकको हल्लाखल्ला भर्चुअल खालको मात्र हो । यहाँ जसले जुवा नारे पनि हुन्छ तर हार कसैको हुन्न, किनकी हार्ने कोही छैन यहाँ, त्यसो त जान्नेका लागि राम्रो छ । सही बाटो हिंड्न सक्न पर्यो । अहमताबाट टाढा रहेर मनोरन्जनात्मक रुपमा अगाडी जानुपर्छ ।
"उत्कृष्ट अन्तराष्ट्रिय साहित्य समाज ठाकुर प्रसाद रेग्मी पुरस्कार" पाउनाले अलिक खुशीचाहिँ लाग्यो। पुरस्कार पाउनु ठुलो कुरो हैन सोच, चिन्तन, विधामा गहिरो लेखकीय अनुसन्धान हुनु पर्यो । त्यो यो कृतिमा पाउनु मेरो सन्तुस्टी हो । यात्रा साहित्य कोर्ने निक्कै समकालीन साथीहरुले उनिहरुको रचना हेरिदिन, बुझिदिन पान्डुलिपीनै पठाउदा मलाई गर्व भने छ ।

८ पैयुँका फूलहरु हाइकु संग्रह भित्र के छ ? यसको मूल मर्म र संदेश के हो ? अलिकति प्रकाश पारिदिनुहोस न ।
नेपाली साहित्यमा सधैं नौलो कुराको चासो राखिने गरिन्छ । हुनत यो हाइकु नौलो नेपाली साहित्य खग्रास भने हैन । धेरै युरोपेली मुलुकहरुले यसबारे पार्टटाइम शिक्षा पनि दिने गरेको पाईन्छ । अमेरिकामा त यो हाइकुको ठुलो संस्था नै छ । जीवन र जगत बिशेष गरेर आजभोली ग्रामीण जनजीवनका लागि चेतनामुलक केही अभिव्यक्तिहरू छन यहाँ । प्रकृति, ऋतुहरुको सन्दर्भ र सङ्केतहरु आदि उल्लेख गर्दै लेखिने जापानी साहित्य संस्कृति हाइकु र सेन्यु नेपाली भाषामा लेखिनु आफैमा महत्वपूर्ण छ । यस विधामा लेखिएका केही अन्य कृतिहरु भएपनि अझ पर्याप्त छैनन। पैयुँका फूलहरुमा सबै छ; रोमान्स, बिछोड, बिसंगती, चेतना, पीडा, प्रकृति मनोरम आदी इत्यादी । यो कृतिको मूल मर्म र संदेश भनेको प्रकृतिको 5/7/5 अर्थात केवल १७ अक्षरमा जीवन दर्शनका चेतना मुलक सन्देश दिनु नै हुन /

नगर माया
भुइकुहिरो लाई
छोडेर भाग्छ ।


संविधान र
सिमा परिवर्तन ¬¬
घातक पर्व


सेतो बादल
अाकाशको छातीमा
ग्रामीण रुन्छ ।

९. नेपाली साहित्यमा बिभिन्न नयाँ नयाँ दर्शन, शैली, वादहरु प्रतिपादित र स्थापित भएका छन र कतिपय हुने क्रममा पनि छन । शव्दकर्म र साहित्य चिन्तनमा यस्ता वादहरु कति अपरिहार्य छ ?
नेपालमा मात्र हैन जुनसुकै देशमा पनि समय अनुसार बाद आउछन जान्छन हामीले त्यसलाई स्वभाविक नै मान्नुपर्छ, खासमा जति पहिलाका दर्शन, शैलीहरुमा नेपाली साहित्यकारहरु रमाए अहिले त्यस्तो रौनक देखिदैन । सिद्दान्तहरु बनाउनु जति सजिलो छ बुझाउन र प्रयोगमा उतार्नु झनै धेरै गार्हो छ । राम्रा चिन्तनहरु बुझेर साहित्यमा उतार्नु राम्रो हो तर नेपाली साहित्यमा यो देखिन्दैन । बरु बिभिन्न साहित्यिक आन्दोलनले भने समय र काल अनुसार धेरथोर देन पुर्याएकै देखिन्छ । वादहरुले साहित्यमा प्रभाव धेरै पारेको देखिन्छ र देखिरहनेछ यो । हामी वाद भन्ने बित्तिकै नाक खुम्च्यौछौ । नकारत्मक सोच्दछौ । तर जो कोही पनि साहित्यकारको भावना कुनै न कुनै वादबाट नजिक भएको हुन्छ तर उस्लाई थाहा नहुन सक्छ। हो त्यो थाहा नपाउनुनै हामीमा पूर्णता नभएको पुष्टी हुन । 'वाद' भन्नु नै युगानुकूल समय हो, त्यो बेलाको अपरिहार्यता हो, माग हो,अनि त्यो परिवर्तनकारी पनि हुन्छ । तपाईंका यी कवितामा


“कुहिरोले धुम्म भोट
सिरेटो र सिमसिम पानी
फुस फुस हिउँ बनेर खसिरहेछ
घरको सम्झना
आँखाको गहिरो गहिरो आकाशमा
र पग्लिरहेछ्न तप तप
यो झरी हो कि आँसु हो
बिरानो देशमा मदनहरू रूझिरहेछन ...”

यहाँ प्रकृतिको विम्व उतार्दै जीवन दर्शन छामिएको छ त्यसैले कृष्णजी यहाँ प्रकृतिवादी भएर उभिएको देखिन्छ । यसरी चिन्तनले (सोच्नेकाम), विचारले (छान्नेकाम), सिद्दान्तले (प्रयोगप्रतिपादन) गर्नेकाम सकेर मात्र कुनै वादको जन्महुन सक्छ तर यहाँ त्यो नभएर नै अर्थात बुझ्ननसकेरनै म स्वतन्त्र साहित्यकार, म वाद बिहिन छु भनिन्छ तर उ एउटा न एउटा 'वाद'को छाँयामा सिँयाल तापिरहेको हुन्छ ।


१० नेपाली साहित्य र साहित्यकारको आर्थिक पक्षको कुरा गरौँ । के नेपालमा एउटा साहित्यकार लेखेरै बाँच्न सक्ने स्थिति छ ?
कसैको छ, कसैको छैन । मैले फेशबुकमा पनि यिनै चिन्तनको कुरो गर्दा हासेर टारे केही मित्रहरुले ! साहित्यकार लेखेर नै बाँच्न केही अरु समय लाग्ने छ ।

११ उत्तरआधुनिकता सम्बन्धी धारणाले नेपाली साहित्य र सिर्जनाको प्रयोगमा व्यापक प्रभाव पारेको देखिएको छ, के हो यो ? यसलाई कसरी बुझ्नु भएको छ ?
यो उत्तरआधुनिकवाद्ले यसो भन्छ:-
1.यो परिवर्तनकै एउटा हिस्सा हो । यो नेपालमा अपाङ्ग भएको छ । केन्द्रमा यस्मै बस्नेउठ्नेको हावी हवाली छ । मोफसलमा उत्तरआधुनिकको त के कुरो गर्नु आधुनिकले पनि छोएको छैन ।
2.यसको नेपाली साहित्यमा धेरै गन्थन भएपनि उत्तरसंरचना भन्न सुहाउने लेखकको भनेजस्तो कृति भने मैले देखेको छैन । फुटकर रचनाहरु भने निक्कै छरप्रष्टै देखिन्छन ।
क) उत्तरआधुनिक भनेको सोझो भाषामा पुरानो घरलाई भात्काएर नयाँ बनाउनु हो
ख) दोश्रो विश्वयुद्ध पछि भएका कला, साहित्य, संगीत, राजनीति र विज्ञानले उब्जाएका नयाँ उपलब्धिहरुहुन ।
ग) आधुनिक एकलवादको कठाघरा हो भने यो बहुलवाद्को । यति जान्नु बुझ्नु पहिलो प्राथमिकता हो ।


१२ साहित्य चौतारी पुरस्कार र सम्मानको बिषयमा अलिकति बताई दिनुस न ।
यो दुई-दुई बर्षमा दिइने हौसलापूर्ण साहित्यिक पुरस्कार हो । यसले प्राय: नयाँ लेखकहरुको हौसला प्रदानको लागि पुरस्क्रित गर्दछ ।

१३ व्यक्ति पिच्छे पुरस्कार स्थापित गर्ने र कुनै मापदण्ड नै नराखी चिनजानका मान्छे पुरस्कृत गर्ने परिपाटीले नेपाली साहित्यमा विकृति थपिदै गएको छ भन्छन नि ?
त्यो हुँदै थियो र हुँदै जादैछ पनि । यस्को रोकथाम पनि क्रमश: बौद्धिक चेतनाले नै गर्न सक्ला ।

१४ इन्टरनेटमा हाम्रो भाषाको साहित्यिक वेवसाइटहरुको स्थिति कस्तो पाउनु भएको छ ?
धेरै भन्दा धेरै छन तर सबै वेबसाइटहरु स्तरीय छैनन ।

१५ साहित्यसंगालो डट कमलाइ कसरी अगाडी बढाउने योजना बनाउनु भएको छ ?
पुराना देखी नयाँ पिँढी सबैलाई अटाउने एउटा साहित्यिक भन्डार ।

१६. बेलायतमा साहित्यिक माहोल कस्तो छ ?
सबै विधाहरुमा कलम चलिरहेको छ । बेलायतबाट धेरै आशालाग्दा साहित्यकारहरू आउँदैछन ।
धन्यवाद कृष्णजी ।

केदार संकेतको पछिल्लो कृति 'पैयुँका फूलहरु'