कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

दर्शन र चिन्तनको गोठालो हुनुपर्छ आजका पाठक - समदर्शी काँइलासँग कुराकानी


                  उत्तरआधुनिक नेपाली साहित्यका विशिष्ट युवा श्रष्टा र साधक हुन् समदर्शी काइँला । विशेष गरी भाषिक, जातीय, सांस्कृतिक तथा संरचनागत विविधताले भरिएको नेपाली समाजमा साहित्यिक लेखन र शृजना विविधतायुक्त र बहु आयामिक हुनु पर्छ भन्ने मान्यताका साथ् आएको बहुरंगवादको प्रयोगले नेपाली साहित्यिक समालोचना र सिद्धान्तमा व्यापक प्रभाव राख्न सफल भयो । सोही बहुरंगवादको परिकल्पना र प्रवर्तकमध्ये एक हुन् समदर्शी काइँला, जो यतिखेर संयुक्त अरब इमिरेट्समा रहेर अनेसास र विनेसाम लगायतका साहित्यिक संस्थामा आबद्ध भै आफ्नो साहित्य सिर्जना तथा अन्य साहित्यिक गतिबिधिलाइ अगाडी बढाउदै आएका छन । उनलाई नजिक बाट नियाल्नेहरु साहित्य र भाषाको चिन्तक र विश्लेषकको रुपमा पनि हेर्ने गर्छन । उनका काव्यिक सृजना र समालोचनाहरुमा गहन विचारधारा, दृष्टिकोण र सैद्धान्तिक चेतनाको उपस्थिति प्रगाढ रहेको हुन्छ ।

उनले यसअघि 'मान्छेको आत्महत्याको जग्गा' र 'म अमेजन उकालो बग्छु' काव्यसंग्रह प्रकाशित गरी सकेका छन । हालै उनको काव्यकृति 'म अमेजन उकालो बग्छु' एमफिलको सन्दर्भ पुस्तकका रूपमा समेत राखिएको छ । प्रस्तुत छ उनै युवा श्रष्टा समदर्शी काइँला र साहित्यसंसारका कृष्णपक्षबीच भएको कुराकानी ।


प्रश्न न १, तपाई आफ्नो परिचय कसरी दिनुहुन्छ?
चिनाको नाम मनकुमार लावती । साहित्यिक नाम समदर्शी काइँला । एतिबेला साहित्यको स्कूल अफ थडको एकजना विध्यार्थी मात्र हुँ ।

प्रश्न २ साहित्यिक नाम समदर्शी काइँला राख्नुको कारण के हो ?
एकदिन मैले बाँचेको एलिट र सबाल्टर्न वर्गबीचको समाजमा भेदभाव पक्षपात देखेर मन सारै रोह्यो । तेसो र म समदर्शी भएँ समानुपातिक समावेशितामा । काइँला ता परिवारमा चौंथो छोरा हुँले र मेरा पुजनीय मामा कवि बैरागी काइँलाको नामको सिकोबाट र प्रभावबाट पनि भयो ।

प्रश्न ३ संक्षिप्तमा सामान्य बहुरङ्गवादलाई परिभाषित गर्नुपर्दा कसरी गर्नुहुन्छ?
अहिले सम्मन् धेरै वादहरु हामीले पश्चिमबाट ओसारेका छौं स्यानू बिरुवाजस्तो ल्याएर हाम्रो साहित्यिक माटोमा रोपेका छौं । तर यही माटोमा उम्रेको बिरुवा हो बहुरङ्गवाद ।यो नवीनता बहुलता मौविनिहासा आदि मलजलले हुर्कदो छ । सिद्धान्तमा अलिकति पस्दा लेखकको मृत्यु बदर गर्दै बहुरङ्गवादले चिद्वैषम्यद्धारा अर्थको मृत्यु सदर गर्दै सिम्युलेक्रामा एम्बीगुइटीको जन्म भई हाइपररियालिटीलाई भेटिवरी अगि बढ्दै सपथोकको सिम्युलेक्राले वस्तुता मरेको घोषणा गर्दछ । किनाराबाट स्पेस खोज्दै बहुलता नवीनता समानता र मौविनिहासा आदिले अलिकता मौलिकता कराउँदै प्रतिपादित साहित्यमा जीवनजगत् समाज संस्कृति आदि यावत् कुराको फोटो हेरेर चुप लाग्छ बहुरङ्गवाद ।अन्तिम सत्य अन्तरिम मान्दै सन्दिग्धता पाउँछ । यसले तेस्रो वस्तुको सत्व पराभौतिक आयामसम्मन् मनाद्धारा चिद्वैष्म्यद्धारा सुटुक्क लुकाएर हिड्छ सग्लो सौन्दर्य निर्माणको लागि विचारको विलक्षण विस्फोट भएर सुरुप कुरुप वस्तुको लाखौं रुप भेट्तै भेट्तै तेहाँदेखिन् पनि गतिशील सर्वदृष्टिकोणले व्यक्ति सर्वोच्चतामा अगि बढ्छ बहुरङ्गवाद ।

प्रश्न न ४ नयाँ काव्य म अमेजन उकालो बग्छु को मूल मर्म के हो?
संक्षिप्तमा भन्दाखेरि पहिलो ता आयामेली कवि बैरागी काइँलाको गंगा नीलो बग्छुको विनिर्माण हो । दोस्रो नेपालका दिग्गज कविहरु मोहन कोइराला मदन रेग्मी ईश्वर बल्लभ डा बानिरा गिरि असित राई लगायतका मास्टरपिस लामा कविताहरुमाथिको पुनर्लेखन र नवलेखन हो ।अन्तिम सत्य परम्पराको विरोध र नेपाली वैकल्पिक आधुनिकताको गवेषण यसैमा आए । तेस्रो अधिभाषिक संचेतनको खेल विसंरचना बौद्धिकता कला व्यक्तिको मनोविज्ञान र ज्ञानले निर्मित काव्यिक स्वायत्तता ज्ञापक र ज्ञापितको अस्थिर अनिश्चित सम्बन्धन हो म अमेजन उकालो बग्छु । एमफिलको तहमा बौद्धिकता र दर्शनको यो तहमा सन्दर्भ कोर्समा राखिएको यो मेरो कविता म अमेजन उकालो बग्छुले बौद्धिक स्वीकृति पाउँदा म निस्सिम खुशी छु ।

प्रश्न नं ५ आफ्ना पूर्वप्रकाशित कृतिहरुबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
म पूर्ण सन्तुष्ट छु यी कृतिहरुबाट । मेरो पहिलो कविता संग्रह मान्छेको आत्महत्याको जग्गा हो । जसमा आधा नेपाली कविता र आधा अंग्रेजी कविता परेका छन् । यो दि ल्यान्ड अफ म्यानस् सुसाइड अर्थात् मान्छेको आत्महत्याको जग्गा खासगरि टि एस इलियटको दि वेस्ट ल्यान्डको प्रतिविचार प्रतिचिन्तन हो । यसले मलाई नाम र दाम दुवै दिएको छ । पाठकहरुले पनि यसबाट धेरै कुरा पाएको स्वीकरण छ । दोस्रो कृतिले पनि एतिको राम्रै गर्यो ।

प्रश्न नं ६ के तपाईका कृतिहरुले अपेक्षित पाठकहरु भेटेका छन्, जसले कृतिमा सम्प्रेषित भावहरु ग्रहण गर्न सकुन् ?
अपेक्षित पाठकहरु ता भेटेका छैनन् । थारै पाठकहरुले मात्र मेरा कृतिहरु छिचोलेका छन् कारण मेरा कृतिले बौद्धिक पाठक खोज्दछ । हिपोक्रिटिकल रिडर र बौद्धिक पाठक गरेर पाठकलाई म दुई भागमा बाँड्छु । ती हिपोक्रिटिकल पाठकहरुले मेरा कविताहरु बुझ्दैनन् र बिनाबित्थामा अमूर्त भयो भनिदिन्छन् । म ता भन्छु असलमा अमूर्त सृजना नै हुँदैन । जब पाठक मेरो इतिहास छैन मेरो जीवनी छैन मेरो केही छैन भनेर रुन थाल्छ त्यो रुन्चे पाठकले दर्शनको विचारको ठेली नै अध्ययन गरेको हुँदैन । ती पाठकले मेरा कवितामा संम्प्रेषित दर्शनकला बौद्धिकता बिम्ब आदिको मरिकाट्टे नापतौल गर्न सक्तैन । तेसो र अब हामीले नै बौद्धिक पाठक उत्पादन गर्ने बेला आएको छ यदि हामी नेपाली साहित्यको स्तरियता र उन्नयन चाहन्छौं भने । नेपाली साहित्यलाई विश्व साहित्यको दाँजोमा पुर्याउनु पर्छ भने लेखक र पाठक दुवैले अब तिर सोच्नु पर्दछ ।

प्रश्न नं ७ साहित्य सृजना किन गर्नुहुन्छ ?यो स्वत प्रस्फुटित हुने अभिव्यक्ति मात्र हो या कुनै निश्चित उद्धेश्य प्राप्तिका लागि लेखिन्छ साहित्य ?
म साहित्य सृजना जीवनजगत् र समाज रुपान्तरणको लागि गर्छु । यसलाई कतिले कोरा भावनाको चलखेल पनि भनेका छन् । कतिले उद्धेश्यबेगरको साहित्य पनि रचेका छन् । साहित्य सृजना निश्चित् उद्धेश्यको लागि हुनु पर्दछ । टापटिपे भावनामा सृर्जित उद्धेश्यबेगरको साहित्यले अर्थ महत्व र भूमिका राख्दैन ।

प्रश्न नं ८ वाद के हो नेपाली साहित्यवृत्तमा यसको प्रयोग कसरी भईरहेको छ? यदाकदा स्थापित सर्जकहरुबाटै यसको पक्ष विपक्षमा तर्क अभिमत र कटाक्षहरु सुनिन्छन् । यसबारे के भन्नुहुन्छ?
सारै सरल शब्दमा म बोल्छु है । वाद भनेको मूख्य सार कुरो झिक्न गरिएको सम्यक् विचार हो । जो सिद्धान्त बन्छबनाइन्छ लागिका साध्यताले तर्क वितर्कबाट । विचार भएन र भावना मात्र भयोभने साहित्य हुँदैन । हामीले साहित्यमा व्याखा विश्लेषण गर्दै आएको विचार नै बौद्धिकता हो । कतिबैले अगि वाद जन्मिएको हुन्छ बौद्धिकता विधि र प्रविधिको आफसेआफ खानतलासी हुँदै त्यो हामी कतिले बोध गर्न नसकिराखेकोले वादमाथि विवाद आएको छ । बहस र कटाक्षहरु आएका छन् । असलमा वाद के हो भन्ने कतिपय हामीले अझैं बुझ्नै सकेका छैनौं । र यसमाथि गलत व्याखा विश्लेषण भईरहेछ । म भन्छु प्रत्येक सृजनामा वाद हुन्छ । वाद हुनुपर्दछ । तर कसैले वाद आफ्नो स्वकीय फैसलाबाट वैचारिक सार झिकेर जानेर प्रयोग र उपयोग गरेका हुन्छन् भने कतिले नजानेरै अरुको विचार बोकेर आउँछन् त्यो तेहीँ वाद हुन्छ । तर जे भएपनि वाद चाहिँ हुन्छ नै साहित्यमा । नयाँ सिद्धान्तकार इन्द्र बहादुर राई ज्याक डेरिडा फर्डिनन्ड डिसस्यूर रोलाँ बार्ट धर्मेन्द्र बिक्रम नेम्बाङ फुको ल्योतार हाङ्युग अज्ञात जुलिया कि्रस्टेभा बोदि्रयार ज्याक लकाँ जेमसन आदिद्धारा प्रतिपादित नयाँ दर्शन विचार नभएको भए साहित्य एतिको शक्तिशाली गहन र असली हुने थिएनले म वादको पक्षमा हस्ताक्षर गर्छु ।

प्रश्न नं ९ सामान्य बहुरङ्गवादलाई पाठकले कसरी हेरेका छन् यसको प्रतिकि्रया कस्तो छ ? कसरी व्याखा भईराखेको छ बहुरङ्गवादको आम सर्जक पाठकहरुमा? जुन मर्मका साथ यो प्रतिपादित भयो त्यसरी नै सबैले बुझेका छन् भन्ने लाग्छ तपाईलाई ?
अगि माथि नै भनें, दुईखाले पाठकहरु छन् नेपाली साहित्यमा । हिपोकि्रटिकल पाठक र बौद्धिक पाठक । हिपोकि्रटिकल पाठकहरुले बहुरङ्गवादलाई बुझेर पनि बुझनेन् । उनीहरु वाद होओइन विवाद चाहन्छन् अबौद्धिक भकोले र खाली पाखण्डी समालोचना गर्छन् । केहि बौद्धिक पाठकले चाहिँ बहुरङ्गवाद लाई राम्ररी गहिराइसम्मन् बुझेका छन् र बोलेका छन् कि नेपाली साहित्यमा उब्जेको सबैभन्दा कान्छो तर शक्तिशाली विचार र एक आन्दोलन हो बहुरङ्गवाद। समालोचकहरु पनि यसभित्र पस्न थालेका छन् । यो सिद्धान्तमा रहेर लेख्ने लेखकहरु पनि ह्वात्तै बढेका छन् । हाम्रो मर्म अनुसार सप्पैले बहुरङ्गवादलाई बुझ्न जरुरी छ कारण हामी विश्व साहित्यजस्तै असली र शक्तिशाली नेपाली साहित्यको निर्माणमा छौं । हामी आफ्नो स्पेस निर्माणमा छौं । अबको नयाँ पुस्ताले बहुरङ्गवादलाई कुल्चेर अगि बढ्न हम्मे पर्छ भुलेर एक्काइसौं शताब्दीको प्रतिचिन्तनको इतिहास ।

प्रश्न नं १० समाज परिवर्तनको लागि साहित्यको कस्तो खाले भूमिका हुन्छ या हुँदैन ?
म समाज रुपान्तरणको लागि लेख्छु भनेर अगि नै भनें । लागिका लागि साहित्य लेख्दा जीवनजगत् र समाज बदल्नको लागि समाजलाई समृद्ध बनाउनको लागि साहित्यको ठूलो भूमिका हुन्छ हुनुपर्छ । उदाहरणको लागि बहुरङ्गवादले बहुलतानवीनता र मौविनिहासाको कुरा गर्यो र नै देश एतिबेला समावेशितामा जादो छ ।

प्रश्न नं ११ नेपाली साहित्य वोधगम्य भएनन् सृजनाहरु अमूर्त हुँदै गए भन्ने गुनासो गर्ने पाठकहरुलाई के भन्नुहुन्छ ? नेपाली साहित्यमा पाठकहरु कस्ता हुनुपर्छ?
अमूर्त सृजना हुँदैन । बुझ्न नसक्नु पाठकको अध्ययनको कमी हो ।आजका पाठक कस्ता हुनुपर्छ भन्ने सवालमा मैले धेरैपल्ट धेरै ठाउँमा जवाफ दिइसकेको छु । मेरो सत्व छैन मेरो इतिहास छैन भनेर सधैं रुने पाठकले आजको जटिल वैश्विक परिवेशमा सृर्जित सृजनालाई केलाउन सक्तैन। भेडा गोठालो अब पाठक हुँदैन । दर्शन चिन्तनको गोठालो हुनुपर्छ आजका पाठक । लेखकले खेलाएको बिम्ब र ठाउँसम्मन् पुग्नुपर्छ ती बौद्धिक पाठक भए । ती पाठकहरुले मात्र पर्गेैल्न सक्छन् आजका असली साहित्य जुन मन र मस्तिष्कको संयोजनद्धारा लेखिएको हुन्छ ।

प्रश्न नं १२ प्रवासी नेपाली साहित्य डायास्पोरिक साहित्यको कस्तो स्थिति छ?डायास्पोरिक साहित्य कम महत्व दिइन्छ भन्ने गुनासो छ नि ?
शुरुमा डायास्पोरा शब्द ग्रीक शब्दबाट जन्म्यो । अइले व्यापक र वैविध्य हुँदै गको डायास्पोरिक साहित्यको स्थितिबारे डा गोबिन्दराज भट्टराई ज्यूले लामो व्याखा गर्नु भएको छ । म छोटकरीमा मात्र बोल्छु है ।यसबेला डायास्पोरिक साहित्यको बेसी महत्व दिएर यसलाई मूलधारको साहित्यमा नै उभ्याउन यत्न गरिरहेका छन् ।नेपालका बरिष्ठ समालोचकहरुले डायास्पोरिक साहित्यमाथि मन लगाएर लेख्न थालेका छन्मूल्याङ्कन गर्न थालेका छन् । यो अति गौरव र गरिमाको करा भो । हामी जो जत्ति आप्रवासमा रहेर साहित्य सृजनामा लाग्नेहरु छौं अब मूलधारको साहित्यभित्र पस्न थालेका छौं । यधपि एतिबेला बेबिलोनदेखिन् निस्किएको डायास्पोरा शब्दको पुरानो अर्थ मर्दैछ । यसको नयाँ अर्थमा धेरै कुरा अटेका छन् । तीहरुलाई हाम्रा साहित्यमा अनिवार्यरुपमा ल्याउनुपर्छ । हो एतिबेला विश्व साहित्यको ठूलो पाटो एतातिर लागेको छ । म पनि लाग्दैछु ।

प्रश्न नं १३ प्रवासी साहित्य सर्जकहरुले प्रज्ञा प्रतिष्ठान जस्त्ा प्राज्ञिक क्षेत्रहरुमा समेत डायास्पोराको प्रतिनिधि भूमिका खोज्न थालिसकेका छन् । डायास्पोरालाई यसरी महत्व दिनु या सम्बोधन गर्नु कति आवश्यक छ? मूलधार र डायास्पोरिक भन्ने पृथकता नै नमान्ने सर्जकहरु पनि हुनुहुन्छ। तपाईको अवधाराणा के छ?
अत्ति आवश्यक छ । नेपाली साहित्य अधकल्चो नै हुनेछ यदि डायास्पोरिक साहित्यलाई छोडिदिने होभने । डायास्पोरिक समाजको सग्लो चित्र नै हराउने छ । तर फेरि डायास्पोरिक साहित्यलाई मूलधारको साहित्यमै मिसाएर पुरै हराइहाल्नु चाहिँ हुँदैन । कारण यसको सत्व र शब्द नै विलय हुन्छ तेसो गर्दा नी । त्यसकारण पृथकता ठाउँको ठाउँ भेटेर इतिहासमा समान सत्व हुनुपर्छ यी दुवैको प्राज्ञिक थलोमा डायास्पोरिक एक कुनोमा उभिरहनु पर्छ छ है को लागि ।


प्रश्न नं १४ विदेशमा बसेर साहित्यिक संस्थाहरु अनेसास र विनेसामसँग आवद्ध रही नेतृत्व गर्दै आउनु भएको छ । विदेशमा रहनु भएका पाठकहरुमा साहित्यप्रति कतिको अभिरुचि पाउनु भयो?
साँच्चै नै गारो छ नी विदेशमा बसेर साहित्यिक संस्थाहरुको नेतृत्व गर्नु । मूल कारण समय अभाव नै हो । सम्भावना र मन भएर पनि सृजना गर्न भ्याएको हुँदैन । आप्रवासमा रहने पाठकहरुमा साहित्यप्रतिको अभिरुचि प्रचुर पाएँ। यसको कारणहरु नोष्टाल्जिक मनोद्वेगले पनि होला। डायास्पोरिक संचेतनले पनि होला । फूस्रदको सही सदुपयोग पनि होला ।


प्रश्न नं १५ अन्तमा मैले सोध्न छुटेका र यहाँलाई भन्न मन लागेका कुरा केहि छन् भने साहित्य संसारका पाठकलाई भन्नु होला ।
केही नै छुटेनछ भन्दा पनि भो । सप्पै कुरा मैले भनि नै सकेछु भको जत्ति । अन्त्यमा आफ्नो विचार राख्न दिनुभएकोमा साहित्य संसार डट कमलाई म विशेष धन्यवाद दिदछु ।