कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सवका विजयीहरुलाई पुरस्कार वितरण I

विश्वज विमोहन श्रेष्ठ -
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले हिजो अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा नेपाली साहित्य प्रतिष्ठा, उत्तर अमेरिकाद्वारा आयोजना गरिएको एक भब्य समारोहका बीच गत जुलाई महिनामा अमेरिकाको वाशिंगटन डिसीमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव-२०११ का विजयी कविहरुलाई पुरस्कार वितरण गर्नु भएको छ ।

नुवाकोटका रामबहादुर तामाङ, पोखराका शरण आँशु र गोरखाका छम गुरुङलाई पहिलो, दोश्रो र तेश्रो पुरुस्कार स्वरूप अमेरिकी डलर क्रमश १,०००-/,३००-/ र २००-/ तथा प्रमाणपत्र प्रदान गर्नु भयो । त्यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कवि बैरागी काईलाले पुरस्कृत कविहरूलाई टिका र राष्ट्रकवि माधव घिमिरेले माला पहिर्‍याइ दिनु भएको थियो ।

प्रारम्भमा नेपालका संयोजक कवि बिश्वोबिमोहन श्रेष्ठले सम्माननीय राष्ट्रपतिलाई पुष्प-गुच्छाद्वारा स्वागत गर्नु भएपछि सचिव श्रीओम रोदनले स्वागत मन्तब्य राख्नु हुँदै अमेरिकाबाट प्राप्त अध्यक्ष वसन्त श्रेष्ठको लिखित मन्तव्य पढेर सुनाउनु भयो ।

समारोहमा राष्ट्रपतिबाट प्रतिष्ठानको यस किसिमका कार्यहरुको प्रशंशा गर्दै पुरुस्कार संस्थापकहरुलाई धन्यबाद दिदै पुरुस्कृत कविहरुलाई शुभकामना दिनु भएको थियो ।

अन्तमा सभापतिको आशनबाट संयोजक बिश्वोबिमोहन श्रेष्ठले सबै प्रति यथोचित आभार ब्यक्त गर्दै प्रतिष्ठानको गतिबिधिहरु माथि प्रकाश पार्नु भयो र सम्माननीय राष्ट्रपतिलाई संस्थाका तर्फबाट उपहार स्वरूप ढलौटको सरस्वतीको कलात्मक मुर्ती प्रदान गर्नु भएको थियो ।

करिव दुई सय साहित्यकार एबम बुद्धिजीबीहरु सहभागी रहेको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार बाबा बस्नेतले गर्नु भएको थियो ।

कार्यक्रमको समाप्ती पछि भएको सुमधुर जलपानमा लामबढ्द सहभागीहरुसंग सम्माननीय राष्ट्रपतिजले एक एक गरी परिचय गर्दै आयोजकहरुसंग समसामयिक साहित्यिक गतिबिधिहरुप्रति चासो देखाउनु भएको थियो र पुरुस्कृत एबम आयोजकहरुका साथ सामुहिक तस्बिर पनि खिचाउनु भएको थियो ।