कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

साहित्यकार तथा समाजसेवी इश्वर मानन्धरको देहावसान I


४ फेब्रुअरी, बेलायतमा रहनुभएका साहित्यकार एवं समाजसेवी ईश्वर मानन्धरको ८१ बर्षको उमेरमा देहावसान भएको छ । उहाँ लण्डनको मिडल सेक्स हस्पिटल पार्क रोयलमा न्युमोनियाको उपचारार्थ भर्ना हुनु भएको थियो।

बिभिन्न साहित्यिक तथा सामाजिक संघ संस्थामा आवद्ध रही साहित्य र समाजसेवामा समर्पित हुनुभएका श्रष्टा इश्वर मानन्धरका कथा, कविता, लघु उपन्यास, यात्रा संस्मरण, हाँस्य व्यङ्ग्य लगायत करिब ८ वटा मौलिक कृतिहरु प्रकाशित भएका छन् ।

उहाँका तीन छोरी र एक छोरा रहेका छन् । उहाँ सन् १९६९ मा युके आउँनु अघि नेपालको रेडियो नेपालमा एकाङ्की कार्यक्रम संचालन गर्नुहुन्थ्यो । उहाँका छोरा विनोद मानन्धर, बुहारी करिष्मा मानन्धर र छोरी ललिता मानन्धर कला क्षेत्रमा संलग्न हुनुहुन्छ ।

उहाँले सन् १९७७ देखि १९८९ सम्म बि.बि.सी नेपाली सेवा लण्डनबाट प्रश्न उत्तर कार्यक्रम संचालन गर्नुहुन्थ्यो । लण्डनको सबभन्दा पुरानो संस्था यती नेपाली एसोसियसन युकेमा सन् १९७० को दशकदेखी १९९८ सम्म सचिब तथा कार्यकारीणी सदस्य रही सक्रिय हुनुहुन्थ्यो । उहाँ सन १९८७ मा स्थापना भएको कोसेली नेपाली संस्कृतिक परिवारको संस्थापक सदस्य रहनु भएको थियो । उहाँले १९९५ मा स्थापना भएको नेपाली साहित्य बिकास परिषद युकेको संस्थापक अध्यक्ष रही सन् २००८ सम्म नेतृत्व गर्नुभएको थियो र त्यसपछि सल्लाहकार भई साहित्य सेवामा सकृय हुनुहुन्थ्यो । उहाँ अनेसास बेलायत च्याप्टरका पनि सल्लाहकार हुनुहुन्थ्यो ।

उहाँको निधनबाट नेपाली साहित्य फाँटमा अपुरणीय क्षति भएको छ ।