कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

‘तिर्सनाका छालहरु’ मा हेलिइन् उमा





निदै पनि जागै बस्यो तिम्रो मीठो बोली सुन्न
एकैबचन बोल्न पनि तिमीलाई फुर्सद हुन्न

फेसबुकमार्फत् सुन्दर गीतहरु सेयर गर्दै आएकी स्रष्टा उमा सुवेदीको गीतिसङ्ग्रह ‘तिर्सनाका छालहरु’को बिहीबार प्रज्ञाभवन काठमाडौंमा लोकार्पण भयो । प्रमुख अतिथि वरिष्ठ गीतकार तथा प्राध्यापक डा. कृष्णहरि बरालले उमाका गीतहरु निकै सुन्दर र मर्मस्पर्शी भएको चर्चा गरे । उमालाई सुन्दासुन्दै मनमा घुल्ने गीतकारको उपमा दिँदै मौलिक पहिचान बनाउन सल्लाह दिए । गीतकार सुवेदीले बरालका गीति सिर्जनाबाट प्रभावित भएर आफू गीत लेखनमा लागेको बताएपछि उनले यस्तो सल्लाह दिएका हुन् ।

पिउनु हुन्न भन्ने गर्थें हिजोसम्म जैले पनि
उसैलाई भुलाउन पिइ दिएँ मैले पनि

लामो समयसम्म इजरायली भूमिमा संघर्ष गरेर फर्किएकी गीतकार उमाका सिर्जनामा वियोगान्तको उद्घोषण भएको समालोचक तथा स्रष्टा गीता त्रिपाठीले बताइन् । आफैँ पनि गायिका भएकीले उमाका गीतहरु गुन्गुनाउँदै लेखिएका अनुभूति र परिष्कारले युक्त गीतहरु सङ्ग्रहमा भएको उनको भनाइ थियो । गीतकार करुण थापाको सभापत्विमा भएको कार्यक्रममा गीतकार तथा रेडियोकर्मी रमेश पौडेलले स्वरबद्ध नभए पनि उमाका गीतमा गीतकारको रुपमा स्थापित गराउन सक्ने सामथ्र्य भएको बताए । अर्का समालोचक नेत्र एटमले चाहिँ संग्रहमा संरचनागत हिसावले कसिला प्रणयभावका गीतहरु भएको र विविधताको वान्की कम भएको उल्लेख गरे । वक्ताहरुलाई सीमित समयमा बोल्न आग्रह गर्ने उद्घोषक विक्रम तिमल्सिनाले चाहिँ आफैँले वाक्क लाग्ने गरी बोलेर सहभागीलाई निद्रालाग्ने स्थितिमा पुर्‍याए ।

जिउन जाने यै जुनीमा स्वर्ग पनि पाइँदो रैछ
माया दिने एउटा मान्छे सबैलाई चाहिदो रैछ

सय रुपैयाँ मूल्य राखिएको ७४ वटा गीत भएको यस संग्रहको प्रकाशक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङटन डिसी, अमेरिका हो । उमाको यसअघि इजरायलमा छँदै ‘तप्किएर अन्जुलीमा’ गजल संग्रह सार्वजनिक भएको थियो