कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

विशुदाइ माथि एक समिक्षा

-Dutendra Chamling "संसारमा हजारौं त्यस्ता प्रश्नहरू छन् , जसको जवाफ दिन सकिदैन ", केहि दिन सकिएका र सकिने जवाफहरू चाहिं कथासंग्रह " विशुदाइ "मा छन् ! ( Kishore Pahadi Dai) किशोर पहाडीको यो कथा संग्रह वि.स. २०४५ सालमा साझा प्रकाशन द्वारा प्रकाशित कथा संग्रह हो ! वि .स . २०४५ सालमा साझा पुरस्कार द्वारा पुरस्कृत यो कथा संग्रहमा उन्नाइस ओटा कथाहरू संग्रहित छन् , उनको अर्को लघुकथा संग्रह " किंवदन्ती " मा यस कथामा केहि कथाहरू जस्तै " अङ्कुर ","अतिरिक्त" र " प्रेम " वि.स. २०५३ सालमा पुन प्रकाशित भएका छन् ! उनको यस संग्रहमा संग्रहित कथा " अङ्कुर " एउटा सुन्दर कथा हो जुन समभाष शैलीमा लेखिएको छ, यहाँ आर्थिक रुपमा नाजुक एउटा बाबु आफ्नो छोराले कापी किताब किनी माग्दा आँसुले जवाफ दिन्छन् र छोरो वकिल बनेर धेरै पैसा कमाउन चाहन्छ ,बालमनोबैज्ञानिक शैलीको यो कथा लघुकथा हो . त्यस्तै अर्को कथा " अतिरिक्त"मा लेखक आफ्नै दुर्घटना लेख्छन् र आफ्नै मृत्यु पनि लेख्न सक्षम छन् , यो कथा केहि समय यता नेपाली साहित्यमा चलिरहेको अधि आख्यानको नयाँ ( मानिएको छ ) शैलीको उद्गम हो कि जस्तो लाग्छ ! अर्को कथा "खुर्पा र आत्महत्याको सम्भावना " एउटा आत्महत्या गरेकी आमाकी छोरी सुखियाको कथा हो , सुखिया पनि आत्महत्या गर्न चाहन्छे र उनकी छोरीले पनि आत्माहत्या गर्नेछे भनेर सम्भावना देख्छे ,त्यहि पनि उनी आत्महत्या गरिहाल्दिनं, त्यसो त जिउनलाई मान्छेलाई त्यति धेरै खुसी पनि त चाहिने होइन , अलिकति भए पुग्छ , र सुखिया संग भविष्यको त टुङ्गो छैन ( सायद धेरैको ), वर्तमानमा पनि उनी त्यति खुसी छैनन् तर बरु त्यसै उनको श्रीमान फारुखलाई हेरेर हाँसी दिन्छिन् , हाँस्नुको खुसी संग सधैं सम्बन्ध पनि त हुदैन ,अति पिडामा पनि मान्छे हाँस्छ , व्यंग्यमा पनि मान्छे हाँस्छ , त्यस्तै सुखिया आफ्नो नामको पर्यायबाची कारणले मात्रै पनि हाँसेकी छैन , बाँचेकी भए पनि नत्र उनी किन आत्महत्या बारे सोच्छिन् त ? जे होस् , सुखिया जिउन चाहन्छे नत्र किन उनी पुराना दिनहरू सम्झिन्थीन् , जहाँ उ केहि खुसी र सुखी भन्न लायक थिइन् , सुखिया खुर्पा र आत्महत्याको सम्भावना बीच पनि जिन्दगी देख्छिन् र बिगत सम्झेर त्यहाँ बाट जिउन लाई केहि ओइलेको उधारो खुसी लिन्छिन् किनकि जिउन लाई थोरै नै सहि सुख त चाहिन्छ , त्यसैले यो कथा मर्न चाहनेको होइन जसरी हुन्छ जिउन चाहनेको कथा हो ! अर्को कथा हो " जाँड र जाँडको कीरा " ,यस कथामा कथाकार पात्र र पाठकको बिचमा एउटा ससक्त मध्यस्तता कर्ता भएका छन् , शैलीको हिसाबले यो कथा पनि पृथक छ , पाठकलाई " रघु लाई तपाई चिन्नुहुन्छ ? " भनेर सोध्दै लेखक यो कथा सुरु गर्छन् ! आसाम बाट नेपाल आएको एक विश्वबिध्यालय पढ्ने विध्यार्थी बेरोजगार भएर कसरी जाँडको कीरा हुन बाध्य हुन्छ , जाँडको कीरा दुई थरिका हुन्छन् ,एउटा धेरै जाँड खाने ( मान्छे )र अर्को जाँडमा नै जिउने ( साँच्चिकैको कीरा ) , यी सबै यो कथाले भन्छ , त्यहि पनि रघु अकारण जाँडको कीरा भएको होइन कथा भन्छ ! त्यस्तै अर्को कथा " ठुलो काठमाडौँको सानो शब्दचित्र" एकदम फरक शैलीको कथा हो , जहाँ रंगमंचीय शैलीमा पात्रको व्यवहार र क्रियाकलापलाई लेखकले प्रस्तुत गर्छन् , यो कथामा पाठकको लागि एउटा पात्र ( सायद लेखक ) र अर्को पात्र ( सायद पर्यटक ) उतिकै नगिच होउन् ,लेखक चाहन्छन् , उतिकै टाढा होउन् , लेखक चाहन्छन् ! " कति कुरा भन्न नहुने हुन्छन् ! मलाई थाहा छैन , भन्न नहुने कुरा लेख्न हुन्छ कि हुदैन " लेखक " तेरो कथा लेखें ,शमशेर " मा बोल्छन् ,( कम्तिमा अहिले नेपाली साहित्य , कला र संगीतमा यसको बारेमा के लेख्नु हुन्छ र के लेख्नु हुदैन सायद गम्भीर रुपमा चिन्तन मनन गर्नु आवश्यता देखिन्छ ! ) शमशेर उर्फ हरिप्रसाद नेपाली ( एक पात्र यो कथाको ) लेखकको कलेजको साथी र "असल " भनेर ( लेखकको दृष्टिमा ) मान्नु पर्ने पात्र हो , जो पहिला हिन्दु र पछी क्रिश्चियन हुन्छ , उसले बिहे गर्छ सुष्मा संग ( शमशेरले सुष्मा संग बिहे नगरे आत्महत्या गर्ने धम्कि दिन्छिन् सुष्मा ) जसको पेटमा अर्कैको बच्चा हुन्छ , जुन शमशेर लाई थाहा हुन्छ , पछी पनि सुष्माले नैतिक पतन हुने कार्य गरे पछि शमशेरले हत्या गरिदिन्छ , हिन्दु हुँदा रावण हैन राम बन्नु पर्छ भने उ अर्कै बन्छ , हो उ पागल बन्छ र ,उसले कसैलाई नभन्नु भनेको कुरा मिलाएर कथाकारले कथा लेख्छन् ! अर्को कथा " विशुदाई " एउटा चित्रकारको कथा हो जो रातो रंग नभएको बेलामा (जो आर्थिक अवस्था नाजुक भएकोले रंग किन्ने पैसा नभएकोले रंग किन्न सक्दैन ) आफ्नो औंला काटेर रातो रंगको अभावलाई पूर्ति गर्छ , उसकी श्रीमती सधै रुन्छे किनकी उसको श्रीमानले सधैं आफ्नो औंला काटेर चित्र कोर्छ , विशुदाई" आफ्नो श्रीमतीलाई खुब प्रेम गर्छ , श्रीमतीले पनि उसलाई धेरै नै प्रेम गर्छिन् , चित्रमा रंग मिलाउने चित्रकारले जीवनको रंग मिलाउन सक्दैन वा चाहदैन , या प्रेम विवाह हैन अनि विवाह प्रेम हैन सम्झन्छ , जे होस् यो कथाको प्रोटागोनिष्ट चित्रकार विशुदाई उर्फ विश्वेश्वर गिरीले आफ्नो चित्रको पारखी कल्पना संग बिहे गर्छ , उसकी पहिलेकी श्रीमतीले त्यहि पीडाले आफ्नो र छोरीको जीवनको सबै रातो रंग चित्रकारलाई सुम्पिन्छिन् ( उनले आफ्नी छोरीको हत्या र आफ्नो आत्महत्या गरेकी छिन् ) , विशुदाई लाई पनि कल्पनाले घर बाट निकालिदिन्छिन् ,कल्पनाले सोच्छिन् ,सायद उसले अब सबै रातो रंग गुमाइसकेको छ चित्रमा अनि जीवनमा ! अरु जस्तै विशुदाई जिन्दगीको एउटा रंग सिद्धिए पछि पागल बन्छ कथा नौलो हैन तर उसको व्यथा नौलो छ त्यसैले पाठकहरूलाई कथा पनि नौलो र सुन्दर लाग्छ ! यो कथा संग्रहको केहि उत्कृष्ट कथाहरू मध्ये पनि अझ अरु बढी उत्कृष्ट कथा जरुर "शिशिर - वसन्त " हो , हरेक लेखक भित्र एउटा पाठक बाँचिरहेको हुन्छ अनि हरेक पाठक भित्र एउटा लेखक चिहाइरहेको हुन्छ , यो कथामा लेखक किशोर पहाडीलाई उनी भित्रको अर्को पाठक किशोर पहाडीले कथा नलेखेकोमा हौसल्ला ,गुनासो र चेतावनी एकैचोटी दिन्छ ,यसकारण की पाठक किशोर पहाडी लेखक किशोर पहाडीलाई जसरी हुन्छ कथा लेखाइ छाड्ने प्रयासमा देखिन्छ बरु उसले कथा लेख्नको लागि केहि थिमहरू पनि दिन्छ , उसले लेखक कथाकारलाई " छिटै लेख्न थाल ! र लेख्दैनौ भने जाऊ ...आज देखि तिमी मेरो कोहि होइनौ ! " भन्न पनि बाँकि राख्दैन ! लेखक भित्रको पाठक पनि आफ्नो सिद्धान्त, विचार र दृष्टिकोणमा ठिक छ , र लेखक पनि उनका सिद्धान्त , विचार र दृष्टिकोणमा ठिक छन् , सायद उनले आफ्नो श्रीमतीमा कथाका कहिल्यै नलेखिने केहि नयाँ प्लटहरू देखेका हुँदा हुन् , डेढ बर्षे छोराले एकहप्ता अघि सिकेको प्रारम्भिक शब्दहरू "बुबू ","पापा ","माम्" र " नाना " मा पनि कहिल्यै नलेखिने कथाका धुनहरू सुनेका हुँदा हुन् र सायद लेखक आफै मात्रै यी सबै कथाको पाठक र लेखक हुन चाहँदा हुन् जुन उनको जिन्दगीको उत्कृष्ट कथा हो र सायद उनी सोच्दा हुन् ,लेखिएका कथा मात्रै उत्कृष्ट हुन्नन् र सबै उत्कृष्ट हुनलाई कथाहरू लेखिनै पर्छ भन्ने पनि छैन ! एकदमै सरल भाषा र फरक शैलीमा लेखिएको यस संग्रहका कथाहरू आ - आफ्ना बिषयमा सुन्दर औ सफल छन् यद्यपी "अङ्कुर" ,"अतिरिक्त","खुर्पा र आत्महत्याको सम्भावना " ,"जाँड र जाँडको कीरा " ,"ठुलो काठमाडौँको सानो शब्दचित्र " "तेरो कथा लेखें , शमशेर ! " ,"बाह्र बजेर पैंतीस मिनेट जाँदा "," विशुदाई ",शिशिर - वसन्त "र " हर्खे र हर्खेको हाकिम " जस्ता कथाहरू यो कथा संग्रहको आकर्षणहरू हुन् , जसले पाठकहरूको हृदयमा आफ्नो छुट्टै प्रभाब छाड्ने क्षमताहरू बोकेका छन् , "जन्मनु पनि एउटा दुर्घटना " हो भनेर एउटा कथामा भन्ने लेखकको कुनै पनि कथाहरू दुर्घटित लाग्दैनन् , घटित नै लाग्छन् , पिडा निषेधको कारणले होला की दुर्घटनाहरू भन्दा घटनाहरू सुन्दर र मन पर्ने खालका हुन्छन् ! लेखकले समर्पणमा " उनीहरूलाई ज- जसलाई मेरो कथा मन पर्दैन " लेखे पनि यो मेरो लागि यो समर्पण लेखिएको होइन , मैले लेखकको अर्को लघु कथा संग्रह " किंवदन्ती " पहिल्यै पढी सकेको हुनाले मैले यो "समर्पण "को आधार कटिसकेको छु ! फरक शैली र सजिलै अनुमान लगाउन नसकिने कथाहरू र यो समपर्ण कसका लागि लेखिएको हो भन्ने कुराको जवाफ यो कथा संग्रहका कथाहरू पढेमा निश्चय पाइनेछ ! — at Durbarmarg