कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

पौवाकी पौवालीलाई : परिवर्तनको चेतबीज


श्याम रिमाल

समयले थापेको धरापलाई छल्न
जब सूर्यले लुक्नुपर्नेछ कुनै पनि क्षणमा
त्यस बखत तिमीले नै बाल्नुपर्ने छ पौवाली,
दियालो र पौवावरिपरि प्रकाश फैलाउनु पर्नेछ


साझा प्रकाशनले पहिलोपटक युगीन समाज-सभ्यताका लागि समानताको आहृवान गर्दै साहित्यकर्म अझ कवितामा लाग्नुभएका पूर्ण विरामको चालीस कविताको सङ्ग्रह ‘पौवाकी पौवाली’ भर्खरै प्रकाशन गरेको छ ।

क्रान्तिकारी र विद्रोहीको थाकेका गोडालाई मालिस गर्नका लागि मनतातो पानी तताउन एक पौवाली वृद्धालाई आग्रह गर्दै कविले उनलाई निरास नहुन आहृवान गरेको सोही कविताबाट नै कवितासङ्ग्रहको नाम राखिएको छ । सशस्त्र द्वन्द्वपूर्व, द्वन्द्वकाल र द्वन्द्वकालपछिका यथार्थलाई कविले टिप्नुभएको छ । सशस्त्र द्वन्द्वलाई समर्थन गर्ने कवि वर्तमान स्थितिसँग भने सकात्मक हुनुहुन्न । उहाँ भन्नुहुन्छ-”हिजोको यथार्थ पनि आज बदलिँदो रहेछ, क्रान्ति रोकिँदैन तर तत्कालै त्यस्तो सम्भावना नभए पनि आशा भने छ । “

‘कुलोमा पानीजहाज’ले शाही सरकारविरुद्ध लाग्ने क्रान्तिकारीको चरित्र देखाएको छ भने ‘चरित्र गन्ध’ले तत्कालीन सात दलको मात्र आन्दोलनप्रति निराशा व्यक्त गर्दै संयुक्त जनआन्दोलनमा जोड दिएको छ । ‘खोर्सानी बारीमा’ कवितामा कविका सपनालाई शासकहरूले भत्काएकामा कवि चिन्तित हुनुहुन्छ । ‘यो समय हाम्रो निम्ति घातक छ’, ‘पुग्दो हो मृत्युसम्म युद्ध’, ‘चेग्वेभारालाई चिठी लेख्नैपर्ने भयो’ उहाँका अन्य प्रख्यात कविता हुन् । वर्तमान उपलब्धिलाई भने उहाँ अलपत्रमा परेको युद्धको नतिजा भन्नुहुन्छ-”चिप्लेकिराहरूले हरेकलाई चिप्लेकिराकै जुनीमा आबद्ध हुन सनासो बोक्दै धम्काइरहेका छन्”

चार दशकभन्दा बढी समयदेखि मानवसमाजमा व्याप्त असमानता र शोषणप्रति विरोधध्वनि गुन्जाउँदै परिवर्तनको उद्बोधन गर्न निरन्तर संलग्न एक मात्र ‘राजनीतिक कवि’ का बिम्बहरूले समृद्ध र समुन्नत समाजका लागि उन्मुक्तिको चेत छरेका छन् । “होचि मिन्हले ‘पानीको रासन’ कवितामा भनेझैँ मानिस कि क्रान्तिकारी हुनुपर्छ कि प्रतिक्रान्तिकारी, मध्यममार्ग भन्ने नै हुँदैन ।”-उहाँको भनाई छ ।


गोरखापत्र, मधुपर्क, गोरखापत्र, प्रकाश, शब्दसंयोजन आदिमा प्रकाशित कविताहरूको यो सङ्ग्रहमा परेका नयाँ विम्ब र केही अप्रचलित शब्दले कविताका पाठकलाई अझ रोमाञ्चक बनाउँछन् ।

आफू सचेत भएदेखि नै क्रान्तिकारी कविता र कथा लेखिरहनुभएका पूर्ण विरामले पञ्चायती कालमा नेपाली कवितामा पहिलोपटक माक्र्स र लेनिनको नाम घुसाउनुभएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य कवि विराम सबैले खान लाउन पाउने, शिक्षा स्वास्थ्यको चिन्ता नहुने र समान अवसर पाउने अवस्था आओस् भन्ने कामना गर्दै कविता लेख्न कहिल्यै नछाड्ने बताउनुहुन्छ । अहिले सरकारी प्रकाशन ‘साझा प्रकाशन’ले कवितासङ्ग्रह पहिलो पटक प्रकाशन गरेकामा खुसी व्यक्त गनुभयो ।

यसअघि उहाँका ‘आफन्त’ कथासङ्ग्रह (२०३७), ‘झ्यालसँगको झ्यालिन्चा’ कथासङ्ग्रहण (२०४१), ‘पानीमाथि पानी’ कथासङ्ग्रह (२०४४), ‘इतिहासका किल्लाहरूमा’ कवितासङ्ग्रह (२०४३), ‘गोविन्दले ठीक भन्यो’ (२०५०), ‘ए मेरो आदरणीय लेकाली फूल’कवितासङ्ग्रह (२०६४), ‘लड्न जन्मेकाहरूले’ कवितासङ्ग्रह (२०६४), ‘त्यो योद्धा को हो’ कविता एल्बम (२०६७) र ‘खोर्सानी बारीमा’ कविता एल्बम (२०६९) प्रकाशित छन् । रासस


कवि पूर्ण बिरामको कविता बाचन भिडियो