कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

दिप्स शाहको कविता संग्रह मुस्कानी फूलहरु बिमोचन

यही शनिबार राजधानीमा शव्दहार क्रियसन्सद्वारा आयोजित एक कार्यक्रममा इजरायलमा रहँदै आउनुभएकी साहित्यकार दीप्स शाहको दोश्रो कविता संग्रह ' मुस्कानी फूलहरु' को विमोचन गरिएको छ । साहित्यकार डा  गोविन्दराज भट्टराईले सो कविता संग्रह विमोचन गर्नुभएको थियो । सोही अवसरमा कवि श्रवण मुकारुङ्ग र अमर गिरीले पाण्डुलिपि बुक्स मार्फत कृतिको इ-बुक पनि सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा डायोस्पोरिक साहित्यको चर्चा गर्दै प्राध्यापक डा भट्टराईले प्रवासबाट आएका सिर्जनाहरूमा  दीप्स शाहका कविताहरु उत्कृष्ट रहेको बताउनु भयो । साहित्यकार प्रतीक ढकाल तथा कवि श्रवण मुकारुङ्ग र गीता त्रिपाठीले पनि आ-आफ्नो धारणा राख्नु भएको थियो भने हाल इजरायलमै रहनु भएकी कविता संग्रहकी लेखिका दीप्स शाहले फोनबाटै आफ्नो मन्तव्य प्रस्तुत गर्नु भएको थियो । कृतिलाई गोदावरी बुक्सले प्रकाशित गरेको हो ।