कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

दीप्स, मुस्कानी फूलहरु र मेरो पाठकिय अनुभुती

·
यो समीक्षा होइन । पाठकिय टिप्पणी पनि होइन । केही लेख्न मन लागेर लेखिएको पाठकिय अनुभूती मात्र हो । अझ भनौ आफ्नै मनको एक टुक्रा रहर मात्र हो । यो लेख पढेर आदर्णिय कवि दीप्स शाह ज्यु र उहाँको काव्यकारिताबारे तपाइहरुको धारणा राखिदिनुहोला । र मलाई सल्लाह सुझाव पनि पठाउनुहोला । धन्यवाद ।
–तिब्वत दर्लामी

~~~~~~~~~~~~~~

म सम्झन्छु परार साल कवि दीप्स शाहको 'आगो' कविता सँग्रह खोज्दै बागबजार र पुतलीसडक पूरै चहारेको थिएँ । दुईपटकको प्रयासमा बल्ल भेटाएथेँ 'आगो' ।
धन्न! यसपाली मुस्कानी फूलहरु खोज्न परेन । शब्दहार क्रियसन्सको दाजु रमेश कँडेल ज्युले लोकार्पण कार्यक्रममा निम्तो गर्नुभएकोले त्यही दिन पाएँ 'मुस्कानी फूलहरु'को मीठो स्पर्श ।

जुगेखोला धादिङमा जन्मिएकी यि स्रष्टालाई कर्मले डोर्याउदै ल्याईपुर्यायो काठमाण्डौमा । त्यतिले मात्र पुगेनछ उनलाई पुर्यायो पारी भुमध्येसागरको त्यो इजरायली भुमीमा । हो, ऊनी त्यही इजरायली भुमीबाट भावनाको थुङ्गाहरु टिप्दै कविताका शब्दाकारमा ढालेर सगरमाथाको आँगनमा कोशेली पठाउछिन् कहिले 'आगो' कहिले 'मुस्कानी फूलहरु' ।

हो, यतिबेला मसँग छ मुस्कानी फूलहरु र यसका माली कवि दीप्स शाहको मीठो सम्झना पनि साथैमा छ । कवि दीप्सलाई भर्चुअल दुनिँया विषेशतः फेसबुक सञ्जालमा देख्न भेटन पाउने म आफुलाई एक भाग्यमानी पाठक ठान्छु । यतिबेला एकपटक आदर्णिय दिदी मनु लोहोरुङलाई सम्झन्छु, दाई खगेन्द्र लिम्बु, शशी थापा सुब्बा ज्यु, कृष्ण वस्ती सर, अशोक पार्थिब सर र सुजीत वस्ती सरलाई सम्झन्छु अनि सम्झन्छु मेरा प्रिय मित्रहरु सुजन बैरागी र साबी श्रेष्ठलाई । उहाँहरुकै डिजिटल सँगतले म पनि साहित्य अनुरागी बन्न पुगेँ । र मलाई साहित्य अनुरागी बनायो दीप्सका कविताहरुले पनि ।

म कविता नबुझ्ने मान्छे । कविता नलेख्ने मान्छे म । तैपनि कविताले तानिरहन्छ । अझ दीप्सका कवितामा त केही जादू छ जसले गर्दा दीप्सकै वरीपरी झुम्न मन लाग्छ ।  घुम्न मन लाग्छ । परार साल आगोका लप्काहरुले जाँगर तताइरहेको मेरो मन यसपाली मुस्कानी फूलहरुसँग मुस्काउदैछ । फूल उसैपनि सुन्दर हुन्छ । कोमल हुन्छ । फूलमा मुस्कान हुन्छ । फूलको सौन्दर्यमा नलठ्ठिने को होला ? फूलको कोमल मुस्कानमा आकर्षित नहुने को होला ? म पाठक यतिबेला मुस्कानी फूलहरुको सौन्दर्यमा डुबीरहेकोछु । कोमल मुस्कानमा हराईरहेकोछु ।

यसपाली 'मुस्कानी फूलहरु'मा एक थुङ्गा मीठो मुस्कान प्रा.डा. गोविन्दराज भट्टराईले थपिदिएका रहेछन् सुन्दर भूमिका मार्फत । डायस्पोराका सिर्जनाहरुलाई निक्कै प्रेम गर्ने भट्टराईले कवि दीप्सको काब्यिक शक्तिको ढुकढुकी छाम्दै भनेकाछन्– दीप्सका गह्रा, सुर्का र डिल, थाक्रो, अम्लिसो, चुक घोप्टिएको अँध्यारो, खोल्सी र जरुवा डोबिल्का – यस्ता नेपाली जीवनको जरामा पलाएका शब्द आउँछन् । पढ्दा म बाग्लुङ बजारमा टिम्बुर हालेको चट्नी चाखेको जस्तो मान्छु, अकृतिम र सजताले युक्त ।

बर्तमान काव्यिक फाँटमा चम्किदै गरेकी एक प्रखर युवा कवि हुन् दीप्स । उनका कविताहरु युगिन अँध्यारोलाई चिर्दै नयाँ विहानीको घुम्टो उघार्न तल्लिन छन् । पुरानो रुढीवादी विचारमाथी कलात्मक अभिब्यक्तिले प्रहार गर्छन् उनी । कवितामा जीवन र जगतप्रतिको निराशावादी धारणाहरुलाई भत्काएर आशापूर्ण सोचाईको फराकिलो राजमार्ग तयार पार्छिन उनी । ऊनी कवितामा कतै राष्टप्रति प्रेमधारा खन्याएर स्वाभिमानी नारी भएर उभिन्छन् कतै सामाजिक कुरिती र कुसँस्कारको खरो बिरोधी भएर निर्भिक प्रतिवादमा उत्रिन्छन् र बिद्रोह बोल्छिन् ।
पढौं यि हरफहरु...
~~~
संस्कारको गरिबीमा
चिन्तनको दरिद्रतामा
स्वाँठहरुको जगजगी छ
बदमासहरुको चिच्याहट छ
त्यहीँनिर
भग्न आँगनको डिलमुनि
केही आँखामा चमक छ
सँगै गुञ्जन पनि छ
स्वरमा सुरिलोपन छ
हो मन्द छ तर सत्य छ
–(त्यो आवाज मन्द छ तर सत्य छ)
``````
म त देशकी छोरी हुँ
लालीगुराँस चुमेर तिमीलाई वचन दिन्छु
कि आऊ !
यो जिन्दगीको बहिखातामा
तिम्रै नाम लेख्छु
तर भन्न सक्छौ
तिमीसँग देश बोक्ने काँध छ भनेर ?
–(म त देशकी छोरी हुँ)
```````
मलाई धर्तीको चौंडा छातीमा
हिलाम्य हुन मञ्जुर छ
धुलाम्य हुन मञ्जुर छ
यहीँका दर्सिन ढुङ्गामा
दर्फरिदै रक्ताम्य हुन मञ्जुर छ
तर कृपा स्वरुपका पुष्पार्पणबाट
निलाम्य हुनु छैन...
–(म सपना देख्छु जरुर)
```````````
जीवनको मोती फलाउने कोसिस गरेर त हेर
अनि आफैले स्वीकार्नेछौ कि
जिन्दगी हार्नेहरुका निमित्त होइन !
जिन्दगी हार्नका लागि हुँदै होइन ।
–(जिन्दगी हार्नका लागि होइन)
````````````
कसैको झुपडी दहनमा
खेर फाल्ने आगाका लप्काहरुले
आफ्नै अँध्यारो खोपामा
दियालो किन सल्काउदैनौ ?
उज्यालो युगमा
अन्धकार मगज बोकेको मान्छे तिमी!
खोपडीको अँध्यारोले आँखाको ज्योति ढाकिरहेछ
तिमी देख्नै सक्दैनौ
–(सिकायत)
..........................................
यति खरो कविको छातिभित्र पनि देश दुख्ने मन छ । आफ्नाको यादमा भक्कानीरहने मुटु छ । सुकोमल हृदय छ र प्रेमिल भावनालाई सुमसुम्याउने कोमल शब्दालँकार छ । परेलीको बाटो हुदै प्रवासी पीडाहरुसँगै बग्ने आँशु पनि छ ।
पढौं यी हरफहरु...
~~~
यो ताजा नीलो शिरीष च्वाक्क म्वाइ खाएर
उँभै हिमालतिर फर्केर
एक झोँका श्वास फ्याँकेको छु
कतै तिमीसम्म पुगोस् यो सुवास
यो शिरीषदेखि त्यो शिरीषसम्म
यो मन देखि त्यो मनसम्म ।
–(नीलो शिरीष)
`````````
मिल्ने भए यो अढाई सय ग्रामको मुटु
अनगिन्ती टुक्रा पारेर
मनचिन्ते आकारहरुमा ढालेर
नाङ्लो र ढाकरहरुमा
खर्पन र पोरुङ्गोहरुमा
नभए पटुकीको भित्री गाँठोमा पोको पारेर
हिमालदेखि उँधो पठाइदिन्थेँ
तराईदेखि उँभो लगाइदिन्थेँ
–(देश दुख्ने मुटु)
``````````
यो सग्लो हृदय कति ठाउँमा चिरा पर्छ
प्रिय!
जैतुनले आरु सम्झाउँछ
पैयुँ सम्झाउँछ
सम्झाउँछ तिमीसँगको पीडादायी बिछोड
मलाई जैतुनको फूलले रुवाउँछ
बुरुरु झर्ने यो निर्दोष पातपातले रुवाउँछ !
–(मलाई जैतुनको फूलले रुवाउँछ)
.........................
यतिबेला मुस्कानी फूलहरु बजारमा छन् । गोदावरी बुक्स सेन्टर बागबजारले प्रकाशन गरेको यो पुस्तकको नेपाली मुल्य रु. १२५ रहेकोछ । साथै पाण्डुलिपी बुक्सले अनलाईन मार्फत विश्वभर बिक्रीको सहज ब्यवस्थापन गरेको छ ।