कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

७० औं विश्व कविता दिवस भव्यताका साथ सम्पन्न

चैत ०८, काठमाडौं/ दामोदर नेपाल ।

बिहीबार राजधानीको बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजको सभा हलमा ७० औं विश्व कविता दिवसका अवसरमा विशेष कविता वाचन कार्यक्रम सम्पन्न भयो ।

वरिष्ठ कवि एवं साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ श्रष्टाहरु, साहित्य अनुरागी तथा साहित्यप्रेमी लगायत कलेजका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । शेक्सपीयर, वाग जस्ता कवि, लेखक तथा थुप्रै संगीतकारहरुको जन्मदिन समेत परेको अवसर पारेर मार्च २१ अर्थात आजको दिन संसारभर कविता दिवस मनाईंदै आइएको छ । नेपालमा पनि विश्व कविता दिवसको अवसर पारेर यस दिवसलाई सन् २००२ देखि केही कवि श्रष्टाहरुको पहलमा मनाउंन शुरु गरिएको छ । हाल आएर नेपाल एकेडेमिले पनि यसलाई दुई वर्षदेखि निरन्तरता दिन थालेको छ । साउथवेस्टन कलेजले यस दिवसलाई गत तीन वर्षदेखि मनाउंदै आईरहेको छ । सोही कविता दिवसको तेश्रो श्रृंखलाको रुपमा बिहीबारको कार्यक्रम सम्पन्न भएको हो ।

कलेज सञ्चालक समितिका अध्यक्ष ई. बासुदेव विष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संयोजन कलेजका नेपाली विभागका शिक्षक तथा साहित्यकार एवं समालोचक गीता त्रिपाठीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कलेजका कार्यक्रम संयोजक राजेन्द्र प्रसाद लामिछानेले गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ कविहरु श्रवण मुकारुंग, मणि लोहनी, ठाकुर वेलवासे, अमर न्यौपाने, अभय श्रेष्ठ, गीता कार्की लगायत विश्व देवकोटा, धन बहादुर वली, विश्व न्यौपाने, भीष्म उप्रेति, जीवराज बुढाथोकी, विष्णु न्यौपाने, वैरागी जेठा, दामोदर नेपाल, प्रेम वली, प्रसन्न घिमिरे, तथा सविना देवकोटा, सविना उप्रेति, राज विसी, समुन्द्र सिलवाल, दिव्य खनाल, वर्षा रिजाल लगायतले आ-आफ्ना कविता तथा गजल वाचन गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि एवं साहित्यकार तुलसी दिवसले उक्त कार्यक्रम सार्थक रहेको र कविता दिवस वास्तवमै कविता दिवसकै रुपमा पूर्ण भएको आफूले महशुस गरेको कुरा व्यक्त गर्नु भयो । उहांले कविता कस्तो हुनु पर्छ भन्ने विषयमा चर्चा गर्दै सार्थक कविताको सामथ्र्य र तागतले चिहानभित्र दुई हजारवर्षदेखि लुकेर रहेका वस्तुलाई समेत बाहिर ल्याउंछ भन्दै सिर्जनाले त्यस कुरालाई बोक्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । नेपाली विभागका शिक्षक एवं साहित्यकार गीता त्रिपाठीले कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रम कलेजका नेपाली विभागका शिक्षक रेशम बहादुर अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।