कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

जीवन मुस्कुराउने कविताहरू --चन्द्र गुरुङ

जीवन मुस्कुराउने कविताहरू --
चन्द्र गुरुङ 



दीप्स शाहकृत नयाँ कवितासंग्रह ‘मुस्कानी फूलहरू’मा समेटिएका चौतीसओटा कविताहरू परदेशको अनकन्टार जंगलमा पनि मुस्कुराउँदै जीवन बाँच्न प्रेरित गर्ने रंगीन फूलहरू हुन् । दीप्स शाह ईजरायलमा कार्यरत र नेपाली कवितामा एक परिचित युवा नाम हो ।

यी कविताहरू जीवनका सुन्दर अनुभूतिहरू हुन् । यी कवितारुपी फूलहरू कहिले देश, कहिले परदेश त कहिले जीवन मुस्कुराउँदै हामीलाई खुशी तुल्याउँछन् । कुनै कविताहरूमा देशप्रेमको भावले पाठकलाई भावविव्हल बनाउँछ भने अन्यले परदेशको निरस जीवनबारे व्याख्या गर्छन् । साथै समाज र मानवप्रवृतिबारे गहन बोल्छन् यी कविताहरू । र केही जमर्को पर्यावरण संरक्षणको लागि पनि उभिइएका छन् ।

विशेष यी कविताहरूले एक परदेशीको अवस्था चित्रण गरेका छन् । जहाँ पुगे पनि घरदेशको सम्झनाले सधैँ पछ्याइरहन्छ मानिसलाई । यही वास्तविकता झल्किएको छ दीप्स शाहका थुप्रै कविताहरूमा । सुनौलो सपनाको मृगमरिचिकापछि लागेर परदेश पुगेका नेपालीहरूबारे गजब बोल्छन् यी कविताहरू ।


उफ् !
यो झरी उसै गरी बर्सिन्छ
जसरी त्यहाँ असार–साउन रुन्छ
तर यहाँ अर्कैको आकाशबाट झर्छ
अर्कैको धर्तीमा खस्छ,
त्यसैले त अर्कै अर्कै लाग्छ
यो परदेशी झरी ।
–परदेशी झरी,पृष्ठ ९२

साथै, कवयित्रीले कवितामा मानवप्रवृति र वर्तमान समाजको अवस्था पनि उतारेकी छन् । कविताहरूमा अन्धकार मगज बोक्दै हिँड्ने मानिसबारे लेखेकी छन् कवयित्रीले । मानिसहरू जो ईष्र्या र क्षोभ हाँस्दै षड्यन्त्र गर्छन् आफ्नै साथीसँगीमाथि, यस्ता मानिसले जोर प्रहार पाएका छन् यी कविताहरूमा । कविताले ठाउँ ठाउँमा समाज र मानवीय गुणव्यवहारमा आएको ह्रासबारे चिन्ता व्यक्त गरेका छन् ।

सोचमै कुसंस्कारको गुँडुल्को जेलिएपछि
आँखाले गलत देख्दो रहेछ
मुखले गलत बक्दो रहेछ
नाकले गलत सुँघ्दो रहेछ
यहाँसम्म कि कानले मिेत गलत सुन्दो रहेछ
–होसियार, पृष्ठ २७

प्रिय र उतिकै रुचिकर बनेका छन् सरल भाषामा आएका यी कविताहरू । शब्दहरू मनमोहक नृत्य गर्छन् । यी लामा र छोटा कविताहरूमा कविको कल्पनाले गजब उडान भरेको छ । बोधगम्य र भावनाले ओतप्रोत यी कविता पाठकलाई लठ्याउन सक्षम छन् । शब्दहरू कविताको बगैँचामा सुन्दर फुलेका छन् चारैतिर । आफ्नो जीवनबारे सोच्न बाध्य पार्छन् हामीलाई यी कविताहरूले । किनभने यी जीवनवादी कवितामा सपनाको महत्व र उनकै लागि बाँच्नुको यथार्थ मिठो आएको छ । यी कविताहरू जीवनसित कुममा कुम मिलाएर यात्रा गर्छन् । यसरी पाठकले जीवनको सौन्दर्य भेट्ने छन् यी कविताहरूमा ।

प्रिय !
जैतुनले आरु सम्झाउँछ
पैयुँ सम्झाउँछ
सम्झाउँछ तिमीसँगको पीडादायी बिछोड
मलाई जैतुनको फूलले रुवाउँछ
–मलाई जैतुनको फूलले रुवाउँछ, पृष्ठ ९७



प्रत्येक परदेशीलाई यी कविताले एक पात्र बनाएर छोड्छन् मुस्कानी फूलका पानाहरूमा । जहाँ अक्षरअक्षरमा विदेशीभूमिको जीवन र भोगाईलाई अनेक रुपमा अभिनय गर्न बाध्य छन् यी पात्रहरू । घरदेशमा रहेकाले पनि यी कविताहरूका सडक हुँदै यात्रा गर्दा आफ्न्ता परदेशीलाई सम्झिने थुप्रै थुप्रै मोडहरूमा आइपुग्छन् । यी कविताहरूका साथ यात्रा गर्दा एक बेग्लै अनुभूति हुन्छ ।

अन्त्यमा, परदेशको व्यस्तताबाट केही सिर्जनशील पलहरूलाई सदुपयोग गर्दै रचिएका यी जीवन मुस्कुराउने कविताहरू नेपाली डायस्पोरिक साहित्यको सौन्दर्य वृद्धिमा सुन्दर फूल बनेर मुस्कुराएका छन् भन्ने मलाइ लाग्छ