कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

रंगीन चौबीस रिल

चन्द्र गुरुङ

मानवजीवनलाई सिनेमा, नाटक, यात्रा या खेल जे जे मानेर परिभाषित गर्दा पनि हुन्छ । अनेक दृश्यहरू फेरिन्छन्, अन्तिम बिन्दुमा आएर जीवनले अडिनुअघि । यी चौबीस रिलमा समाज, मानिस, साहित्य, दर्शन, देशप्रेम, कला र वरिपरि विश्वमा घटेका घटनाहरूले ठाउँ पाएकाछन् । जीवनका गीतहरू अनेक स्वरमा प्रस्फुटित छन् - यी अक्षरहरूमा । कविताको मिठास, लेखनकलाको उत्कृष्टता, यात्राको आनन्द र विगतका पलहरू यादगार... संस्मरण बनेका छन् । र, आएका छन् यस संग्रहमा लक्ष्यवान यात्राहरू, साथीसँगीको सुखद संगत र मानवजीवनमा मानवताको न्यानोपन ।

घुमन्ते स्वभाव र साहित्यसितको लगावले लेखक थुप्रै ठाउँमा डुल्दै पुगेका छन् । खेलकूद, भ्रमण, लेखन, अध्ययन, साहित्यप्रतिको माया आदि स्पष्ट चित्र कोरिएका छन् - यी निबन्धहरूमा । कलाको रुखमा कवितासँगै फुल्ने गीतको मीठो फूल र निबन्धको सुवास आदि समावेश छन् एकसाथ । मानवता, दयामाया, साहित्यको रस, विचारको बलियो उपस्थितिहरू यसका स्वादहरू हुन् र निबन्धहरु रसवान बनेका छन् ।

निबन्धकार एक लाहुरे परिवारको सदस्य । रोजगारीका अवसरहरू खोज्दै भारततिर पुगेका आफन्तजनलाई चिठी लेख्ने काम भूपिनबाटै गराउँथे टोलछिमेकका मानिसहरू । उताबाट आएका चिठीपत्रमा एक परदेशीको दु:ख-व्यथा आफन्तजनलाई पढेर सुनाउने काम पनि उनिद्वारा नै सम्पन्न हुन्थ्यो । यसरी नै भूपिन लेखनमा रमाउन थाले । यो नै उनको कविता लेखनको थालनी पनि थियो, शायद । चिठीपत्रबाट कविता र अब निबन्ध लेखनमा आइपुगेझैँ भूपेन्द्र खडका, भूपिन व्याकुल हुँदै भूपिनसम्म पुगेका छन् - यस यात्रामा ।

यी निबन्धहरू जीवनको धेरै नजीकबाट हिँड्छन् । कहिले कुनै नदीझैँ बगेका छन्, कहिले समुद्रको किनार त कहिले हिमालको फेद हुँदै हिँडेका छन् । कहिले साईकलको क्यारियर चढेर जीवन कुदेका छन् त कहिले साझा बसको लास्ट सिटमा बसेर भएपनि जीवनसित यात्रारत छन् । निबन्धकारलाई जीवनसित माया छ/जीवनको यस 'वन–साइडेड' बाटोमा पाइलाका डोबहरू छाडेर जाने उद्देश्य छ । र, लेखनले नै आफ्नो उपस्थिती लामो समयसम्म जीवित राख्न चाहेको छ पृथ्वीमाथि ।

लेखनले पहिचानलाई अझ थप उँचाइमा पुर्याउने यस यात्रामा हार्दिक शुभकामना भूपिनलाई l