कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

पोर्तुगलमा नेपालीहरु प्रवेशको ईतिहास-सीता बराल


देशको अस्थिर राजनितीक अवस्था र बढ्दै गएको बेरोजगारीका कारण आर्थिक अवस्था सुधार्दै समाजमा स्थापित हुने रहर वा बाध्यताले नेपाली युवाहरु बैदेसिक रोजगारका लागी विश्वका कुना कुनासम्म पुगेका छन् । विश्वका अन्य देशहरुमा जस्तै युरोपको पोर्तुगलमा नेपालीहरुको आगमनमा वृद्धी भएको छ । युरोपका अन्य शक्तिशाली देशहरुले बस्ने र काम गर्ने नियमहरुमा कडाई गर्दै गएपछि  पोर्तुगलमा नेपालीहरुको आगमनमा ह्वातै वृद्धी हुदै गएको हो । सुरुका दिनहरुमा अन्य देशहरुमा भन्दा सहज र छिटै वसोवास गर्न पाउने अनुमती पत्र (रेसीडेन्सी) पाउन सकिने हुनाले पनि अन्य देशहरुमा राम्रो आम्दानी गर्न गएका नेपालीहरुको रेसीडेन्सी प्राप्त गर्ने उद्धेश्यको अन्तिम गन्तव्य स्थल बनेको छ पोर्तुगल । 

युरोपको पोर्तुगलमा करिब ९० को दशकदेखि नेपालीहरुको आगमन शुरु भएको भनिएपनि पोर्तुगलमा प्रवेश गरेका नेपालीहरु बाट बुझ्दा १९९४ देखि नेपालीको प्रवेश भएर बसोबासको क्रमले विस्तारै गति लिएको खुल्न आएको छ । सन् १९९४ अप्रिल १६ तारिखका दिन नेपाली पासपोर्टको आधारमा कुमार श्रेष्ठ पोर्चुगलमा पहिलो नेपालीको रुपमा प्रवेश गरेका थिए । श्रेष्ठ भन्दा अघि इन्डियन पासपोर्टको रुपमा सन् १९९२ मा शिव (यकु) थापा पोर्चुगल प्रवेश गरिएको बुझिएको छ । नेपाली पासपोर्टको आधारमा पोर्चुगलमा प्रवेश गरेका हुनाले कुमार श्रेष्ठलाई नै पहिलो पोर्चुगल प्रवेश गर्ने नेपालीको रुपमा लिन सकिने एनआरएन भु.पू. अध्यक्ष लक्ष्मी सापकोटा बताउनु हुन्छ । सन १९९४ मा पोर्चुगलमा आउदा मेरो लागि पोर्चुगल संसार थियो । अपरिचित दुनियाँ थियो । जहाँ नेपाली नाम सुन्न मुस्किल थियो । करिब १८ महिना सम्म कुनै नेपालीसंग सम्पर्क हुन सकेन । १९९५ को अन्त्यतिर धिलम दर्शनाधारीसंग भेट हुने अवसर मिलेको थियो । अनि उहाँसंगको भेटले आँट बढेर आयो । विस्तारै नेपाली आउने क्रम बढ्दै गयो । आफ्नो विगत सम्झदै भावुक मुद्रामा नेपाली वेभलाई श्रेष्ठले सुनाए । सन १९९६ देखि विस्तारै अन्य नेपाली भेटिने क्रम बढ्यो । १९९६ को अन्त्यतिर आईपुग्दा करिब १३ जना नेपालीसम्म हामी पुग्यौ श्रेष्ठले बताउछन् । ती १३ जनामा श्याम रजक, शिव प्रसाद थापा, मकर बहादुर हमाल, जितेन्द्र गुरुङ्ग, योगेन्द्र श्रेष्ठ, बाला वि.क, चित्र वि.क, धिलम दर्शनाधरी, टंक सापकोटा, अर्जुन ठकुरी, शिव प्रसाद थापा थिए । एक दर्जन नेपालीहरु भेला हुने भएपछि एकै परिवार जस्तो भएर पहिलो पटक १९९६ को विदाई र नयाँ वर्ष १९९७ को स्वागत गरेको अझै ताजै रहेको श्री श्रेष्ठ बताउँछन् । पोर्तुगलमा प्रवेश गर्ने पहिलो नेपाली महिलाको रुपमा सरिता श्रेष्ठ हुन । उनी १९९९ मा पोर्चुगल आएकी थिईन । त्यसपछि सचिना हमाल हुदै नेपालीहरुको आगमनमा वृद्धि भएको देखिन्छ । सन २००० को सुरुवातदेखि यो प्रकृयाले राम्रै गति लिन थाल्यो । पोर्चुगिस सरकारको खुल्ला र उदार आप्रवासी नीतिको कारण यहाँ दिनानुदिन विदेशीहरुको सख्या वृद्धी हुदै गएको हो । सुरुमा नगन्य मात्रामा रहेका नेपालीहरु सन २०१२ को मध्यसम्म आईपुग्दा करिब पाँच हजारको हाराहारीमा रहेका छन् । धेरै नेपालीहरुको बसोवास राजधानी लिस्बोनमा छ भने अन्य शहरहरु कोइम्ब्रा, अल्गार्भ, पोर्तो, भिलामोरा आदि स्थानहरुमा पनि उल्लेखनिय उपस्थिति रहेको छ । हाल यहाँ बसोवास गर्दै आएका नेपालीहरुमा कतिले रेसिडेन्सी पाइसकेका छन भने धेरै नेपालीहरु रेसिडेन्सी कार्डको प्रक्रियामा रहेका छन् ।

सञ्चारको दु्रत विकास संगै विश्व साघुरिदै गइरहेको बेला कोठाको एउटा कुनामा बसेर अर्को कुनाको समाचारहरु सजिलै थाहापाउन सकिने प्रकृयामा तिब्रता आएको छ । यस्तै एक देशको समाचार अर्को देशमा बस्ने नेपालीहरुलाई जानकारी गराउन मिडियाहरुको मुख्य भूमिका रहेको हुन्छ । पोर्तुगलमा सञ्चालित सबैभन्दा पुरानो अनलाईन यूरोनेपाल डट कम हो । २००७ देखि सञ्चालनमा आएको युरोनेपाल डट कमका सञ्चालक केविर राई हुन् । त्यसपछि क्रमशः नेपालपोर्चुगल डट कम (विनोद घिमिरे), साहारा संसार डट कम (रामहरि लामिछाने) पिटीनेपाल डट कम, नमस्तेनेपाल डट कम (योगेन्द्र मिलन छन्त्याल), सिमानापारी डट कम (बाबुराम भुषाल) रहेका छन् । अहिले युरोनेपाल डट कम पोर्तुगलबाट संचालनमा छैन भने पिटीनेपालडटकम विभिन्न कारणले बन्द भएको छ । लामो समयदेखि नेपालीहरुको आगमन शुरु भएपनि यहाँ पहिलो र एकमात्र छापा पत्रिकाको रुपमा नेपाली वेभ अक्टुवर २०१२ देखि मात्र प्रकाशनमा आएको छ । प्रवासमा रहेका नेपाली गतिविधिलाई छापामा उतार्न सफल भएको छ उक्त छापा पत्रिकाले हालसम्म चौथो अंक प्रकाशन गरिसकेको छ । यहाँका सवैजसो सञ्चार माध्यामहरुले पोर्चुगलमा भएका सबै गतिविधिहरुलाई विशेष महत्व दिने गरेका छन् । 

नेपालीहरुको आगमनमा बृद्धी संगै संघ सस्थाहरुमा पनि प्रसस्त मात्रामा बृद्धी हुदै गईरहेको छ । पोर्तुगलमा बसोवास गर्दै आएका नेपालीहरुलाई समेट्दै एक छाता मुनी बसेर नेपालीहरुको समस्या, हक र हितका बारेमा केही गर्नुपर्ने महशुस गरी गैरआवासिय नेपाली संघ (एनआरएन) को स्थापना भएको हो । नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएन) यहाको सबै भन्दा बढी सदस्य संख्या भएको ठूलो संगठन हो । सबै जातजाती, धर्म र संस्कृतीलाई एउटै छातामुनी एकवद्ध गराई अगाडी बढीरहेको गैरआवासिय नेपाली संघ पोर्चुगलको स्थापना २००६ मा भएको हो । यो संघका सस्थापक अध्यक्ष पूर्ण हमाल हुन । एनआरएनले पोर्तुगलमा रहेका नेपालीहरुलाई परेको पिरमर्का संग हातेमालो गर्दै विभिन्न प्रकृया बाट आईपरेका समस्या समाधान गरिरहेको छ । एनआरएन को स्थापना पछि यहाँ भएका नेपालीहरुको गतिविधिमा प्रसस्त मात्रामा बृद्धी हुदै गएको हो । पोर्चुगलमा पोर्चुगिज तथा नेपालीहरुको आपसी सम्बन्ध विकाश र विस्तार गराउदै पोर्तुगलमा नेपाललाई विभिन्न तर्फबाट परिचय गराउदै लैजाने उद्धेश्यले पोर्चुगल नेपाल मैत्री संघको स्थापना भएको छ । यसले यहाँ हुने विभिन्न च्यारिटी सहयोग र प्रर्दशनीमा भाग लिएर नेपालको बारेमा प्रचारप्रसार गर्दै आएको छ ।  

नेपालमा रहेका तीन राजनितीक दलहरुका भातृ संगठनको रुपमा जनसम्पर्क समिती, नेपाली लोकतान्त्रिक मञ्च र जनप्रगतिशिल मञ्च आ आफ्ना उद्धेश्यका साथ अगाडी बढीरहेका छन । यिनका अतिरिक्त अन्य जातिय तथा क्षेत्रीय संघ संगठनहरु प्रशस्त मात्रामा खुलेका छन् । हाल सम्म तमु समाज, आदिवासी जनजाति महासंघ, मगर समाज, किराँत समाज, शेर्पा समाज, नेपाल उत्पिडित जातिय समाज पोर्चुगल, क्षेत्री समाज, नेवारी समाज, म्याग्देली प्रवासी संघ, बाग्लुंग सहायता कोष, रुपन्देही समाज आदि रहेका छन् । यि संघ सस्थाहरुले आफ्नो जातिय धर्म र चाडपर्वहरुलाई विशेष महत्व दिई कार्यक्रमहरु संचालन गर्दै आईरहेका छन् । 

बहुभाषिक, बहुजातिय र बहुसास्कृतीक परिवेशमा हुर्किएका हामी नेपालीहरु संसारको जुनै कुनामा पुगेपनि आफ्नो परिचय बनाउन चाहन्छौं । हामीहरु आफ्नो देश, भाषा र संस्कृतीलाई माया गछौं । नेपाली संस्कृतीलाई जीवन्त राख्न नेपाल पोर्तुगल कला सस्कृती तथा साहित्य परिषदको स्थापना भएको छ । यसबाट विदेशमा पनि नेपाली कला संस्कृतिको व्यापक प्रचारप्रसार हुने आसा गर्न सकिन्छ । सुरुका दिनहरुमा यसले नेपालीहरुको चाडपर्व मनाउने तथा विभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ । हालसालै विश्वभर छरिएर रहेका नेपालीहरुको लुकेको प्रतिभालाई प्रष्फुटित गर्दै भाषा र साहित्यको विकाश गर्ने उद्धेश्यले सुनिल संगमको अध्यक्षतामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज गठन भएको छ । त्यसैगरी अन्र्तराष्ट्रिय कलाकार मञ्च पोर्चुगल शाखा पनि गठन भएको छ । 

करिव २२ को संख्यामा रहेका विभिन्न संघ संस्था मध्य आधा दर्जन मात्र सक्रिय रुपमा सञ्चालनमा छन् र अन्य संघ संस्थाको न्यून सक्रियता रहने गरेको छ । यति धेरै संघ संस्थाहरु ज्ुन उद्धेश्यले खुलेका छन् । ती उद्धेश्यमा अनवरत लागि परेको देखिदैन त्यसैले आगामी दिनहरुमा धेरै संघ संस्था उमार्ने भन्दा पनि गुणात्मक र सक्रिय संघ संस्थामा गोलवद्ध भएर सकेको सहयोग एकले अर्कालाई गर्ने भावना जागृत गराई अगाडी बढ्ने सोच तिर्खान जरुरी छ । विभिन्न जाती, विचार र संघसस्था संग सम्बन्ध भएपनि सम्पूर्ण नेपालीहरुले सर्वप्रथम हामी नेपाली हौ भन्ने सोचको विकाश गर्नु आजको मुख्य आवश्यकता हो । कुनै नेपालीलाई परेको पिरमर्का र दुःख हामीलाई परेको हो भन्ने सम्झीएर हातेमालो गर्दै भैपरिआउने दुःखका सबै क्षणमा सक्रिय सहभागीता भई नेपालीहरु बिच एक आपसमा एकता र समझदारी हुदै भातृत्व संगै सकारात्मक सोचको विकास हुनु अति आवश्यक छ । 

                                                                                             समाप्त
                                                  (पोर्चुगलबाट प्रकाशित हुने छापा पत्रिका “नेपाली वेभ” मा प्रकाशित)