कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

म त्यही हुँ तिमीले बिर्सीगएको मानिस

–हेमन यात्री



धेरैपछि सम्झनाको साँघु तरेर
तिमीले मेरो बारे सोध्यो–
कसरी ढाटूँ म आफूलाई ?
तिमीले बिर्सीहिँडेको मानिस म होइन भनेर ।
सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले
खै ! के सम्झ्यौ कुन्नी
दुर देशमा पुगेर ?

सुनकोशीमा बगेको सुनको पानी सम्झ्यौ कि
सम्झ्यौ– गढ्तीरमा बिसौनीले पर्खिबसेको
कि मैले दिएको सम्झनाको रुमाल
आँधीले उडाइलगेको साँझ सम्झ्यौ ?
खै ! के सम्झ्यौ कुन्नी
सप्पै–सप्पै बिर्सन्छु भनेर हिँडेको तिमीले
फेरि सम्झ्यौ सम्झनाको साँघु तरेर ।
सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले
खै ! के सम्झ्यौ कुन्नी
दुर देशमा पुगेर ?

हामीले हिँडेजस्तो बाटाहरू पो भेट्यौ कि त्यहाँ
वा तिमी जस्तो एक्लो–एक्लो देउरालीलाई देख्यौ
वा मेरै जस्तो सपना भत्किएको मानिस पो भेट्यौ
वा कहिलेकाहीँ मैले गुन्गुनाउने गीतहरू पो सुन्यौ त्यहाँ ?
नत्र खै ! कसरी सम्झ्यौ
सप्पै–सप्पै बिर्सन्छु भनेर हिँडेको तिमीले ।
जती अक्करको बाटो जस्तो हुन्छ भूलीदिन
सायद सजीलै छ सम्झनलाई
र नै सम्झ्यौ तिमीले ।

बिर्सेकै भएपनि
कुनै दिन तिमीले छोडिगएको बाटोले भन्ने थियो
कुनै दिन तिमीले छोडिगएको माटोले भन्ने थियो
‘साँझको जूनकिरी जस्तै हुन् सम्झनाहरू
कुनै साँझ जूनकिरीहरू निभेछन् भने
सम्झनू– हाम्रा सम्झनाहरू प्नि सकिनेछन् सबै ।’
र त्यतिन्जेल मैले सम्झेको मानिस
तिमी नै हुनेछौ ।