कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

धादिङका तीन साहित्यकारलाई अलि मिया सम्मान




धादिङ जिल्लामा जन्मिएर नेपाली भाषा साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने तीनजना साहित्यकार सम्मानित भएका छन् ।अलि मिया लोकवाङमय प्रतिष्ठान पोखराको वाषिर्कोत्सव तथा आदिकवि भानुभक्त आचार्यको दुई शतवाषिर्कोत्सवको अवसर पारेर अलि मिया लोकवाङमय प्रतिष्ठान पोखराले धादिङका तीन अग्रज साहित्यकारलाई सम्मान गरेको हो ।

प्रतिष्ठानबाट सम्मानित हुने साहित्यिक स्रष्टाहरूमा डिल्लीरमण शर्मा अज्र्याल, हरि खनाल र दामोदर नलाङी रहेका छन । वि.सं. १९८८ सालमा धादिङको नलाङमा जन्मिएका डिल्लीरमण शर्मा अज्र्यालका भाषा, साहित्य, छन्द र खोजमुलक विषयमा २५ वटा कृत्ति प्रकाशित भइसकेका छन् । अज्र्याल धादिङ साहित्य समाजका संस्थापक एवम् वर्तमान अध्यक्ष समेत हुन ।यसैगरी अर्का सम्मानित व्यक्ति हरि खनाल नेपाल सरकारका उपसचिव पदमा कार्यरत भए पनि बालकथाकारका रूपमा अलग्गै परिचय बनाएका छन् । खनालका कथा, उपन्यास लगायत चौधवटा कृत्ति प्रकाशित भइसकेका छन भने केही कृत्ति प्रकाशोन्मुख रहेको खनालले बताए । त्यसैगरी सम्मानित हुनेमध्येका दामोदर (तिमिल्सिना) नलाङ्गी साहित्यमा छन्द संरक्षणका लागि जिल्लामा सक्रिय रहदै आएका छन । नलाङ्गीका पनि दुईवटा कृत्ति प्रकाशित भईसकेका छन् ।

अलि मिया लोकवाङमय प्रतिष्ठानका अध्यक्ष एवम् मियाका जेठा छोरा हनिफ मियाको अध्यक्षतामा आयोजित साहित्यकार सम्मान कार्यक्रममा प्रा.डा. रविलाल अधिकारीको प्रमुख आतिथ्य, लोकगायिका हरिदेवी कोइराला र स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलको विशेष आतिथ्य रहेको थियो ।कार्यक्रममा कोमल स्वरकी धनी लोकगायिका हरिदेवी कोइरालाले ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’, ‘पाइन खवर’, ‘स्वर राम्रो कोइलीको’, ‘मेरो माया विदेशमा हुनाले’, ‘झिमझिम सितारा’ लगायत बोलका गीत गाउनुभएको थियो ।धादिङ साहित्य समाजको सह-आयोजनामा सम्पन्न कार्यक्रममा अघिल्लो पुस्ताका साहित्यकारहरुको भने उपस्थिति निकै कम रहेको थियो ।