बृद्ध उमेरका तीनैजना ओछ्यानमा
कलमको माध्यमबाट गाउँघर र दुनियाँ बिउँझाउँदै आएका तीनजना साहित्यिक हस्ती यतिबेला सिकिस्त छन् । लामो समयदेखि ओछ्यानमा थलिएका तीनैजना हिँडडूल गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
एक वर्षअघिदेखि हिँडडूल गर्न नसक्ने अवस्थामा पुग्नुभएका जनकविकेशरी धर्मराज थापा अहिले आइसीयूमा हुनुहुन्छ । उहाँ बोल्न नसक्ने हालतमा रहनुभएको चिकित्सकले बताएका छन् । काठमाडौंको वीर अस्पतालमा उपचार गरेर ठीक नभएपछि केही दिनअघि थापालाई उहाँकै आग्रहमा पुख्र्यौली घर पोखराको बाटुलेचौर लगिएको थियो । ९१ वषिर्य थापाको पोखराको फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । उहाँलाई दम र उच्च रक्तचापको समस्या छ ।
थापाभन्दा उमेरमा केही कान्छो अर्का साहित्यकार कृष्णप्रसाद पराजुली पनि लामो समयदेखि बिरामी हुनुहुन्छ । उच्च रक्तचापको समस्या झेल्दै आएका पराजुली हाल घरमै आराम गरेर बस्नुभएको छ । कविता, समालोचना, व्याकरण र अरु थुप्रै साहित्यिक विधामा कलम चलाउने पराजुलीको विक्रम संवत १९९२ असार २४ गते जन्म भएको हो ।
थापा र पराजुलीभन्दा उमेरमा निकै कान्छा अर्का साहित्यकार दाहाल यज्ञनिधि भने निकै पहिलेदेखि नै बिरामी हुनुभएको छ । मिर्गौला लगायतका धेरै रोगबाट पीडित उहाँ २०५५ सालदेखि नै सिकिस्त हुनुभएको हो । उहाँ घरबाट बाहिर निस्कन नसकेको धेरै भयो । उहाँको वि.सं. २०१० साल साउन ८ गते जन्म भएको हो । नेपाली साहित्य फाँटलाई फराकिलो र मलिलो बनाएर समाजमा साहित्यिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेका तीनैजना साहित्यिक हस्तीको शीघ्र स्वास्थ्यलाभको कामना ।
गतिविधि
साहित्यका तीन धरोहर सिकिस्त बिरामी
साहित्यका तीन धरोहर सिकिस्त बिरामी
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम
साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com