कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सिर्जना वाचनको १२ औं शृङ्खला


१९ जेठ, काठमाडौं । राजधानीको पश्चिम भेगमा साहित्यिक गतिविधि सञ्चालन गरिरहेको अनुपम सिर्जना प्रतिष्ठानको नियमित सिर्जना वाचन कार्यक्रमको १२ औं शृङ्खला शनिवार एडमार्क कलेज परिसरमा सम्पन्न भयो । प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमका मूख्य अतिथि हुनुहुन्थ्यो, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल ।कार्यक्रममा विविध विधाका चार दर्जनभन्दा बढी सिर्जना वाचन गरिएको थियो ।

मूख्य अतिथिको आशनबाट ज्ञानुवाकर पौडेलले मानिसलाई धन सम्पति, पद र पैसाले कहिल्यै अमर बनाएको छैन, बरू साहित्यिक सिर्जनाले जन्मजन्मान्तर अमर बनाउन सक्ने बताउनुभयो । अतिथि स्रष्टाहरूले साहित्यिक गतिविधिमा अनुपमको उपस्थिति र सक्रियता अनुकरणीय रहेको विचार व्यक्त गर्दै आ-आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नयाँ र पुराना पुस्ताको उल्लेखनीय सहभागिता रहेको थियो भने पुराना पुस्ताका राम्रा सिर्जना सुनेर नयाँ पुस्ताका नवस्रष्टाहरू अभिप्रेरित भएको अनुभव गरेका थिए ।कार्यक्रममा कविता, गजल, मुक्तक, गीत, तान्का जस्ता बहुविद् रचना सिर्जना वाचन गरिएको थियो ।
छन्द संरचनामा आफ्ना कविता सिर्जना वाचन गर्नेहरूमा पूर्णप्रसाद पन्त, सूर्यवदना पंडित, रामप्रसाद पौडेल, युवराज भट्टराई, सूर्यकुमार पंडित, जगदीश्वर पोख्रेल, रामहरि दाहाल र भाग्यशाली अधिकारी हुनुहुन्थ्यो । मणिराज सिंह, प्रदीप रत्न शाक्य, शिशिर देवकोटा, जीवन श्रेष्ठ, शशी थापा, मिन कौशिक, निशान निष्कर्ष, सुमित्रा दवाडी, तुलशीराम पोख्रेल राजेन्द्र प्रसाद ढुङ्गानाले गद्यलय संरचनाका कविता वाचन गर्नु भएको थियो । शम्पा उपाध्यायले भने कवि धरणीधर कोइरालाका विषयमा काव्य अंश वाचन गर्नुभयो ।

गजल सिर्जना प्रस्तुतिमा परशुराम पराजुली परासर, विनुबाबा घिमिरे, युआर गौतम, विदुर तिमल्सिना, शिव न्यौपाने र प्रताप राना मगर हुनुहुन्थ्यो । रिता बस्नेत, श्यामबहादुर भावुक, सुधा ढकाल, लक्ष्मण प्रसाद पोखरेल, मिरा रानाभाट र भिजन गुरागाइँले चाहिँ गीति सिर्जना प्रस्तुत गर्नुभएको थियो ।नरनाथ लुइँटेल, मुकुन्द लामिछाने, डा. बमबहादुर जिताली, हरि खनाल र डा. जीवन अधिकारीले हास्यव्यङ्ग्य सिर्जनाद्वारा सहभागीहरूलाई बौद्धिक मनोरञ्जन दिनुभएको थियो भने कुमार श्रेष्ठ, सहाना सुवेदी र टङ्क सेलिङ लिम्बुले मुक्तकहरू प्रस्तुत गर्नुभएको थियो । ज्ञानुवाकर पौडेलले गजल र मुक्तक तथा बि.केएन खडेरी तान्का सिर्जना बाचन गर्नुभयो ।यस पटकको सिर्जना वाचन कार्यक्रममा बालस्रष्टाहरूको सहभागिता पनि उल्लेख्य रहेको थियो । फुलमाया तामाङ, खूवु नेशा, सुसन प्रधान, जावेद आलम, अञ्जली ढुङ्गाना, रोशन भुजेल र सरिता पराजुलीले आफ्ना बालरचना प्रस्तुत गर्नुभएको थियो ।