कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

शारदा शर्माको उपन्यास ‘ताप’ लाई पद्यश्री साहित्य सम्मान



१० असोज, काठमाडौं । पद्मश्री साहित्य सम्मान-२०६९ साहित्यकार शारदा शर्माको उपन्यास ‘ताप’ लाई प्रदान गरिने भएको छ । इतिहास र वर्तमानको समय त्रासदीलाई आख्यानात्कढंगले प्रस्तुत गरिएकाले यो उपन्यासलाई पद्यश्री सम्मान प्रदान गरिने खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनले जनाएको छ । यो सम्मान हरेक वर्ष कोजाग्रत पूणिर्मामा प्रदान गरिन्छ ।

“उपन्यासमा आध्यात्मिक चेतना, समाजिक आकांक्षा र भौतिक तृष्णालाई आकर्षक शैलीमा वर्णन गरिएको छ । यसमा उपन्यासभित्र नारी संवेदनाका विविध पाटाहरुलाई उजागर गरिएकाले यो सम्मान प्रदान गरिएको हो ।” प्रतिष्ठानले विहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो सम्मानको राशि २ लाख रुपैयाँ रहेको छ ।

२०६३ मा स्थापित पद्मश्री साहित्य सम्मानबाट हालसम्म ८ जना साहित्यकारहरु सम्मानित भइसकेका छन् । २०६८ सालमा यो सम्मान खगेन्द्र संग्रौलाको निवन्ध ‘आफ्नै आँखाको लय’ लाई प्रदान गरिएको थियो । २०६५ सालसम्म मोफसलका साहित्यकार मात्र सम्मानित हुन गरेका थिए । २०६६ सालबाट यो सम्मानलाई राष्ट्रव्यापी बनाइएको थियो ।