कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कविता महोत्सवका विजयी पुरस्कृत

राष्ट्रपति डा. रामवरण यादवले यस वर्षको राष्ट्रिय कविता महोत्सवका विजेता कविहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उहाँले पुरस्कृत गर्नुभएको हो । यस वर्षको कविता महोत्सवमा झापाका चक्रकुमार सुवेदीको कविता ‘छोरी निहारिकासँग’ शीर्षकको कविता प्रथम भएको थियो ।

नवलपरासीका बाबु त्रिपाठीको कविता ‘विज्ञप्ति चराहरूको’ दोस्रो तथा काभे्रकी रमा अधिकारी कादम्बरीको ‘साथीहरूसँग प्रश्न’, काठमाडौंकी दुशला अधिकारीको ‘माटो र माया’ र भक्तपुरका शिवराम सापकोटाको ‘भाइसँग’ शीर्षकको कविता तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि जनही रु २० हजार, १५ हजार र १० हजार तथा स्वर्ण, रजत र कास्य पदक छ ।

पुरस्कार वितरणमा बोल्दै राष्ट्रपति डा यादवले मुलुकको विकासमा योगदान पुर्‍याउन साहित्यकार र कलाकारले खेलेको भूमिकाको प्रशंसा गर्दै भाषा र साहित्यलाई सम्मुन्नत बनाउन सके मुलुक पनि समृद्ध हुने बताउनुभयो ।

कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति वैरागी काइँलाले वि.सं. २०१४ देखि सुरु कविता महोत्सव प्रतिष्ठानको परिचय बनेको बताउँदै कला साहित्यक्षेत्रमा महोत्सवको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । प्रतिष्ठानका सदस्य-सचिव सनत रेग्मीले प्रतिष्ठानको पछिल्लो गतिविधि समेटिएको प्रतिवेदन पेस गर्नुभएको थियो । रासस