कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नगरकोटीको नयाँ पुस्तक ‘फोसिल’ सार्वजनिक


कुमार नगरकोटीको कथा संग्रह ‘फोसिल’ सोमबार सार्वजनिक गरिएको छ । अतियथार्थवाद र स्वैरकल्पनाको लेखनधार समातेर आˆनै शैली विकास गरेका नगरकोटी समकालीन नेपाली लेखनका क्षेत्रमा फरक स्वादका कारण चिनिन्छन् । यो उनको दोश्रो पुस्तक हो ।

‘पब्लिकेशन नेपालय’का किरणकृष्ण श्रेष्ठले लेखक नगरकोटीलाई र नगरकोटीले उनका प्रथम सम्पादक साहित्यकार अविनाश श्रेष्ठलाई पुस्तक हस्तान्तरण गरेर विमोचनको घोषणा गरेका थिए । नगरकोटीले ०५५ सालमा प्रज्ञाप्रतिष्ठानबाट श्रेष्ठकै सम्पादकत्वमा प्रकाशित हुने ‘समकालीन साहित्य’मार्फत् कथा लेखन थालेका थिए । त्यसैकारण विमोचन समारोहमा बोल्ने काम पनि नगरकोटी र श्रेष्ठले नै गरे । उनीहरुलाई थुप्रै प्रश्न सोध्दै सहजकर्ताको भूमिका पत्रकार नारायण वाग्लेले निभाएका थिए ।

‘उमेर र अध्ययन सुन्दा पत्याउनै गाह्रो हुने एउटा नयाँ लेखकको कथा पाएपछि चोरी गरेर लेखेका पनि हुनसक्छन् भन्ने शंकाकै बीच छापिदिएँ,’ कथा प्रकाशित भएपछि काठमाडौंका स्थापित लेखक साथीहरु पनि चकित परेको सुनाउदै श्रेष्ठ भनिरहेका थिए, ‘स्वयं मेरै प्रधान सम्पादक रमेश विकलले नगरकोटीको कथालाई अनुवाद किन नभनिएको भनेर सोध्नुभएको थियो ।’
त्यसयता निरन्तर नगरकोटीको संगतमा रहेको बताउने श्रेष्ठले एउटा रोचक अनुभव सुनाए- ‘रक्सी खाएर निस्केको बेला उनी बाटोमा भेटिने कुकुरसँग पनि दोहोरो संवादको आनन्द लिने गर्छन् ।’ यसकै प्रभावस्वरुप प्रस्तुत पुस्तकमा कुकुर समेत ‘न्यारेटर’ बनेर कथा भन्न थाल्छ । यसरी दोश्रो पुस्तकमा आइपुग्दासम्म नगरकोटी अहिलेका राम्रो लेखकका रुपमा स्थापित भइसकेको दावी श्रेष्ठको थियो ।

फरक शैलीको विकास गर्दा नेपाली भाषालाई विगारिदिने लेखकको कमजोर पक्ष पनि श्रेष्ठले औंल्याए । उनको लेखनशैली चोर्दै त्यसैगरि भाषा विगार्नेहरुले चाहिँ समस्यामा पारेको उनको कथन थियो ।

कार्यक्रममा नगरकोटीले आफुलाई कथाकार भन्दा पनि ‘फिक्सनल डिजाइनर’का रुपमा उल्लेख गरे । ‘लेख्ने मामलामा म कसैलाई पछ्याउन चाहन्नँ,’ उनी भनिरहेका थिए, ‘तर, मेरा लेखनहरु सहज रुपले बग्न पाउनुपर्छ भन्ने मेरो धारणा छ ।’ आˆना यिनै धारणालाई उनले केहि दिनअघि एक पत्रिकामा यसरी राखेका थिए-’म कुनै लेखकको पाठक चोर्दिनँ, बेग्लै पाठक तयार पार्छु ।’

नगरकोटीले ‘फोसिल’मा समेटिएका कथाहरुको आधारभूमि अहिलेका ज्वलन्त मुद्दा र सामाजिक विषयवस्तु रहेको उल्लेख गरे । नगरकोटीको लेखनमा देखिएको नयाँपनबाट आकषिर्त भएरै आफुहरुले पुस्तकका निम्ति प्रस्ताव गरेको सुनाउदै प्रकाशन नेपालयका किरणकृष्ण श्रेष्ठले ‘फोसिल’ आफुहरुको चौथो आख्यान बन्नपुगेको जानकारी दिए । आठ वटा कथा समेटिएको ‘फोसिल’को मूल्य दुई सय पचास राखिएको छ ।