कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न, विश्व नेपाली साहित्य स्रष्टा पुरस्कार डा. भण्डारी लाइ




विश्वभर नेपाली साहित्य प्रवर्द्धन, अनुवाद तथा हातेमालो गर्ने एघारबुँदे घोषणापत्र जारी गर्दै शुक्रबार राजधानीमा विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । भारत, म्यान्मार, भुटान, भियतनाम लगायत मुलुकको समेत प्रतिनिधि रहेको सम्मेलनले नेपाली साहित्यलाई छिट्टै हिन्दी र चिनियाँ भाषामा समेत अनुवाद गरी प्रकाशन गर्ने घोषणा गरेको छ । पुरस्कार वितरण, किताब लोकार्पणसहित सम्पन्न सम्मेलनको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले पछिल्लोपटक नेपाली साहित्य अभियान विश्वस्तरमा हुने क्रम बढ्दै गएकोमा खुसी व्यक्त गरे ।

 भारतबाट आएका साहित्यकार डा. राजेन्द्र भण्डारीको रचना वाचनसमेत रहेको सम्मेलनमा सपना गौतमको गजल कृति 'सपना सिन्धु', सुरेन्द्र इङनमको गीत संग्रह 'चोट दिएपछि', डा. कृष्णप्रकाश श्रेष्ठले रुसी भाषामा अनुवाद गरेको भानुभक्तको 'एकदिन नारद सत्यलोक पुगिगया लोकको गरूँ हित भनी' र विश्व नेपाली साहित्य महासंघको मुखपत्र 'साहित्य संसार' पनि लोकार्पण गरिएको थियो ।

कृतिमाथि रुसबाट सहभागिता जनाएका साहित्यकार डा.मधु माधुर्यले टिप्पणी गरे । म्यान्मारबाट लक्ष्मण न्यौपाने, भुटानबाट डेन्जाम साम्पाङ राई, भारतबाट डा. कविता लामा, नेपालबाट राजन मुकारुङ, प्रकाश सायमी, डा. दिवाकर प्रधान, नयनराज पाण्डे र प्रेम प्रधान बोले । सम्मेलनको अर्को आकर्षण पुरस्कार वितरणको थियो । ५० हजार रुपैयाँ र सम्मानपत्रसहितको विश्व नेपाली साहित्य स्रष्टा पुरस्कार यसपटक सिक्किमका डा. राजेन्द्र भण्डारीले पाए । २५ हजार रुपैयाँको विश्व नेपाली युवा स्रष्टा पुरस्कार कवि विमला तुम्खेवाले, १० हजार रुपैयाँको भाषाभाषी साहित्य स्रष्टा पुरस्कार मैथिली भाषी श्यामसुन्दर यादव 'पथिक'ले र विश्व नेपाली साहित्य सम्मान किशोर पहाडीले पाए ।


 त्यस्तै विश्व नेपाली साहित्य महासंघको उत्कृष्ट शाखाको रूपमा इजरायल शाखालाई र उत्कृष्ट सदस्यको रूपमा रमेश कँडेललाई सम्मान गरिएको थियो भने श्याम रिमाललाई प्रशंसापत्र दिइएको थियो । कार्यपत्रको सेसनअन्तर्गत प्रा.डा. गोविन्दराज भट्टराईले 'नेपाली साहित्य अनुवाद'बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने बलराम अधिकारीले टिप्पणी ।

महेश पौडेलले अंग्रेजी भाषामा लेखिएका नेपाली साहित्य र अमर तुम्याङले विभिन्न भाषा भाषीमा लेखिएको साहित्यबारे कार्यपत्र प्रस्तुत गरे । पौडेलको कार्यपत्रमाथि डा. रोली मित्तल र तुम्याङको कार्यपत्रमाथि भाषाविद् अमृत योञ्जनले टिप्पणी गरेका थिए ।


 विभिन्न शाखाहरूले प्रगति प्रतिविदेनसमेत प्रस्तुत गरेको सम्मेलनमा विश्वभरका नेपाली साहित्यिक संघसंस्था- बीच सहकार्यबारे पनि छलफल भएको थियो । 'हरेक तीन वर्षमा यो सम्मेलनले निरन्तरता पाउने छ,' आयोजक विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष तथा साहित्यकार विश्वासदीप तिगेलाले भने, 'साहित्यमार्फत नेपाली पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न सम्मेलनले सघाउने छ ।