कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सत्यमोहनलाई पद्श्री साधना, ‘ताप’ लाई साहित्य सम्मान


१, कात्तिक, काठमाडौं । उनको उमेर ९५ वर्ष । उपत्यकाभित्र जहाँ जानु परे पनि ठमठमी हिँडेरै पुग्छन् । स्मरणशक्ति उत्तिकै तेजिलो छ । नेपाली कला, संस्कृति, नाट्य, मुद्रा, साहित्य आदि जुनसुकै विषयमा घन्टौं धाराप्रवाह बोल्न सक्छन् ।

अर्को आश्चर्य ! विगत दशवर्ष यता उनले कुनै डाक्टरलाई आफ्नो नाडी छमाएका छैनन् । बयोबृद्ध उमेरका उनै जोशिला स्रष्टा सत्यमोहन जोशी शुक्रवार एक लाख रुपैयाँ राशीको पद्श्री साधना सम्मानबाट सम्मानित भएका छन् ।

साहित्यानुरागी एनआरएन अध्यक्ष जीवा लामिछानेद्वारा आफ्ना पिता-माताका नाममा स्थापना गरेको खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जोशीको ७५ वर्षभन्दा लामो साहित्यिक योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको हो । जोशी १२ सालमा स्थापित मदन पुरस्कार ०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुनुहुन्छ । जोशीसँगै ०६९ सालभरि निस्केमध्ये उत्कृष्ट कृतिको रुपमा शारदा शर्माको ‘ताप’ उपन्यासलाई दुई लाख रुपैयाँ राशीको पद्मश्री साहित्य सम्मान अर्पण गरिएको छ ।
सम्मान अर्पण गरिसकेपछि स्रष्टा जोशीले नेपाली साहित्य नेबोल पुरस्कार पाउने स्तरमा पुगिसकेको तर अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन स्तरीय अनुवादको खाँचो भएको बताए । “एकेडमीले पनि गरेन । हामीले पनि ध्यान दिएनौं तर अब यसमा ध्यान दिने बेला भएको छ ।” रुसी साँस्कृति केन्द्रमा आयोजित विद्वत् सभामा जोशीले भने, “यसका लागि एनआरएनका मित्रहरुसँग अनुरोध गर्छु ।”

‘ताप’का लागि सम्मानित स्रष्टा शर्माले कुनै पनि कृति र कृतिकारको सम्मानको विश्वसनीयता मूल्यांकनको निष्पक्षता र प्रकृयाको पारदर्शितामा निर्भर गर्ने बताइन् । साथै उनले निर्णय प्रकृयालाई पारदर्शी बनाउन आग्रह पनि गरिन् । पुस्कारका संस्थापक जीवा लामिछानेले निर्णायक कमिटीले आग्रह पूर्वाग्रहभन्दा माथि उठेर निर्णय गरेको बताए । साधना सम्मानबाट यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे र मदनमणि दीक्षित सम्मानित भइसक्नु भएको छ ।