कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अन्तर्राष्ट्रिय नेपाली वाङ्मय पुरस्कार शान्ता चौधरीलाई


यो वर्षको अन्तर्राष्ट्रिय नेपाली वाङ्मय पुरस्कार 'कमलरीदेखि सभासदसम्म' पुस्तकका लागि पूर्वसभासद शान्ता चौधरीलाई दिइयो । बुधबार राजधानीमा कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले चौधरीलाई पुरस्कार दिँदै नेपाली नारीको संघर्षका कथा बोकेका पुस्तकबाट प्रभावित भएको बताए । साहित्यकार प्रदीप नेपालले कमलरीप्रथा रोक्न चौधरीले गरेको संघर्षसहित जीवनकथा विश्वका अन्य महिलाका लागि समेत अनुकरणीय हुने दाबी गरे । पिछडिएको समुदायको उत्थानमा पुर्‍याएको योगदानलाई कदर गर्दै चौधरीलाई ५० हजार रुपैयाँसहितको पुरस्कार दिइएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान नेपाल च्याप्टरले गरेको कार्यक्रममा विकलचन्द्र आचार्यद्वारा लिखित 'मोह', जया राईको 'पार्क र पानीका थोपा', रामचन्द्र आचार्यको 'भावना' र विधान आचार्य र राजेन्द्र सलभद्वारा सम्पादित अंग्रेजी कविता संग्रह 'हिमालयन सोल' सार्वजनिक गरियो । साहित्यकारद्वय श्यामप्रसाद शर्मा र चन्द्रकला नेवारलाई पनि सम्मान गरिएको कार्यक्रममा साहित्यकार तुलसी दिवस, प्रतिष्ठान नेपाल च्याप्टर अध्यक्ष सुष्मा आचार्य, सन्ध्या रेग्मी, हरिमाया भेटवाल लगायतले बोलेका थिए ।