कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सुचित्रा खनियाको गीत संग्रह गोधूलि गुञ्जन विमोचित

गीतकार सुचित्रा खनियाको गीत संग्रह 'गोधूलि गुञ्जन' लोकार्पण गर्दै राष्ट्रकवि माधव घिमिरेले आज काठमाडौंको मञ्चमै नयाँ गीत सुनाउनु भयो - गीत गुन्गुनाउँदै मायामा सर्‍यौ नानी माधव घिमिरेको छायाँमा पर्‍यौ नानी ! गीतकार सुचित्रा खनियाले राष्ट्रकविको किन्नर किन्नरी भित्रको 'लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो... गीत सुनेर गुन्गुनाउँदै गीत लेख्न सिकेको आफ्नो भनाईमै उल्लेख गर्नु भएको छ । गीतकार सुचित्राले आफ्नो कृतिमा प्रणय, प्रकृति र स्वदेशी भावना विभिन्न भावका ७८ वटा गीतहरु समेटनु भएको छ ।

लोकार्पण समारोहमा प्राज्ञ ललिजन रावल र प्राज्ञ श्रवण मुकारुङ पनि राष्ट्रकविकै भनाईमा सम्मति जनाउँदै मञ्चमा ताली पिट्दै हुनुहुन्थ्यो । नेपाली गीतका बारेमा कवि, गीतकार प्राज्ञ श्रवण मुकारुङको शब्द सचित्र भूमिका रहेको गोधूलि गुञ्जन पढेर पटक पटक गीतकार मुकारुङको नाम लिनु भयो राष्ट्रकविले । श्रवणजीको भूमिकाले मेरो मन लुट्यो । प्राज्ञ मुकारुङ भन्दै हुनुहुन्थयो - इजरायलमा रहेकी गीतकार सुचित्राले गोधूलि गुञ्जन मार्फत सामाजिक सम्वन्धको विस्तार गर्नु भएको छ । प्राज्ञ ललिजन रावलको भनाई थियो, आज म दिल खोलेर बोल्छु - सुचित्राका गीत पढेपछि मलाई पनि गीत लेखूँ लेखूँ लाग्यो । लय पारखी रावलको भनाई अतिथिहरुले निकै ध्यान दिएर सुने ।

नेपाली गीत/ संगीतका पारखीहरुको उपस्थिति रहेको सो समारोहमा संगीतकार सुरेश अधिकारी थप्दै हुनुहुन्थ्यो - गोधूलि गुञ्जनका गीतमा आधी संगीत हरफमै छ , आधी संगीत हार्मोनियम समाते पछि सहजै आउँछ । सोही समारोहमा पाण्डुलिपि बुक्सका अध्यक्ष, गीतकार करुण थापाले गोधूलि गुञ्जनकोर् इ बुक विमोचन गर्दै विश्वव्यापीकरण गर्नु भयो । विमोचित कृतिका बारेमा समालोचक प्रभाती किरण, गीतकार / गजलकार आनन्द श्रेष्ठ र सुमित खड्काले बोल्नु भएको थियो ।

 गीतकार सुचित्रा खनिया भन्दै हुनुहुन्थ्यो -राष्ट्रकविका गीत पढेर गीत लेख्न जानेँ, उहाँकै हातबाट 'गोधूलि गुञ्जन' विमोचन गर्न पाएँ । मेरो जिन्दगीको सबैभन्दा खुशीको दिन आजै हो । प्रकाशकको तर्फबाट सञ्जीवनी खनियाले स्वागत मन्तव्य दिनु भएको थियो । गीतकार सुचित्रा खनियाको यस अघि नियतिको खेल यस्तै गजल संग्रह प्रकाशित छ ।
उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण होटल नेशनल भिजनको त्रिवेणी हलबाट हाम्रो संसार रेडियोले गरेको थियो ।