कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सर्जकसंग एक साँझ कार्यक्रम सम्पन्न

बोस्टन, अमेरिका - सर्जकहरूको साँझ सधैभरी सम्झना योग्य नहुन सक्छ, खुशी र हासो मिश्रित नहुन सक्छ, तर  अमेरिकाको बोस्टनमा भने यो अपवाद हुने गरेको छसिर्जना उत्सवले बोस्टन आउने सर्जकहरूको सम्मानमा आयोजना गर्ने “सर्जकसंग एक साँझ” कार्यक्रममा सबै सर्जक मनका गुम्फनहरू उघारेर रमाउने गरेका छन्।



भावनाका खहरेहरू बहाउने गरेका छन्। यस्तै भयो मंगलबारको साँझ पनि। अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिने क्रममा अमेरिका आइपुगेका सर्जक मध्ये पाँचजना सर्जकले बोस्टनका साहित्य, कला, संस्कृति र समाजसेवामा संलग्न क्रियाशील व्यक्तित्त्वहरूसंग तीन घण्टा रमाइलो साट्दै रात्रिभोजमा सरिक भए। समालोचनाका क्षेत्रमा कोशेढुंगा बनेका प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइटेल, चर्चित आख्यानकार अमर नेउपाने, बरिष्ट साहित्यकार गुहनाथ पौडेल, कविहरू मनिराज सिंह र उत्तम भौकाजीले आआफ्ना सिर्जना मात्रै वाचन गरेनन, बोस्टनका रचनाको श्रवण गर्दै आआफ्ना सिर्जना-दृष्टिकोण पनि प्रस्तुत गरे। कार्यक्रममा डाक्टर लुइटेलले बोस्टनको सिर्जनामाथि टिप्पणी गर्दैनिरन्तरता ठूलो कुरा हुने बताए। उनले भने - लेख्नु ठूलो कुरा हो लेख्दै जादा परिमार्जित र परिष्कृत हुँदै जान्छ। कार्यक्रममा उनले डायास्पोरिक सिर्जनाका नाममा सिर्जिएको भर्म र विदेशबाट फ्याक्ने गरेको “मटयाँग्र” प्रवृतिले नेपाली साहित्यलाई धमिलो पारेको व्यंग्य प्रहार गर्दै वास्तविक सर्जकले यस्तो गर्न नहुने र नगरेको पनि बताए।

यसैगरि “सेतो धर्ती”का लागि मदन पुरस्कार पाएका चर्चित आख्यानकार अमर नेउपानेले आफ्नो लेखनको पृष्ठ भुमिबारे जानकारी गराउदै यथार्थको धरातलमा लेखिएको कृति अमर रहने बताए। उनले आगामी कृतिका लागि आफुले हुम्लामा तीन महिना बिताएको बताउदै आफ्नो सिर्जनामा पात्र आफै बोल्ने हुदा पाठकको मन आकर्षित हुने गरेको खुशी व्यक्त गरे। कार्यक्रमका उनले कविताका अतिरिक्त कथाका केहि अंश प्रस्तुत गरे।




यसैगरी बाल साहित्यका क्षेत्रमा क्रियाशील गुहनाथ पौडेलले कविता प्रस्तुत गरे भने गीतकार एवं कवि उत्तम भौकाजीले कविता र नेपाली साहित्यको लेखन प्रवृतिका वारेका चर्चा गरे।  कार्यक्रममा ज्योति प्रतिष्ठानका अध्यक्ष एवं कवि मनिराज सिंहले कविता वाचन गर्नुका साथै आफ्नो प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा गरेको योगदानका बारेमा प्रकाश पारे।

कार्यक्रममा राकेश काफ्ले, धनबहादुर लेप्चा, दीपा राई पुन, अनु शाह, महेश्वर पन्त, गोवर्धन पूजा, ममता कार्मचार्य, हरि काफ्ले, डा उषा शर्मा, सन लिम्बु, बिष्णुहरि  देउराली, नवराज राई, गौरव थपलियाका साथै न्युह्यामशायरका चर्चित साहित्यकार शेखर ढुंगेल र सुरेन्द्रदेव आचार्यले सिर्जना प्रस्तुत गरे।

बोस्टन आएका पाहुनाको स्वागतार्थ बोस्टनमा रहेका संग संस्था ग्रेटर बोस्टन नेपलिज कम्युनिटीका अध्यक्ष मिलन गुरुङ, पशुपतिनाथ- बुद्ध फाउन्डेशनका अध्यक्ष बिष्णुमणि आचार्य, हिमालयन लायन्स क्लवका अध्यक्ष बिष्णु कार्की, न्युह्यामशायर नेपलिज कम्युनिटीका अध्यक्ष रविन थापा, पशुपतिनाथ- बुद्ध फाउन्डेशन मेट्रोवेस्टका अध्यक्ष सुरेश ढकाल, अनेसास बोस्टनका अध्यक्ष डा उषा शर्मा लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा दीपा राईले सिर्जना उत्सवको बारेका जानकारी गराइन भने अनु शाहले अतिथिलाई धन्यबाद ज्ञापन गरिन।

सिर्जना उत्सवका निर्देशक एवं हिमालयन लायन्स क्लवका सस्थापक अध्यक्ष महेश्वर पन्तको सभापतित्व मा सम्पन्न उक्त कार्यक्रम सिर्जना उत्सवका संयोजक गोवर्धन पूजाको संयोजकत्वमा भएको थियो।