कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बेलायतमा लैनसिंह वाङ्देल र भूपि शेरचन जयन्ती सम्पन्न

गुरुङ सुमाल कुमार, लण्डन – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले हिजो, दिनांक २९ डिसेम्बर २०१३, शनिवार, प्लमस्टिड स्थित सेसी कार्यालय, लण्डनमा चौथो मासिक श्रृङ्खलाको अवसरमा नेपाली वाङ्मयका दुई जना शिर्ष सर्जकहरु क्रमशः आधुनिक नेपाली चित्रकलाका पिता, साहित्यकार तथा ईतिहासकार स्व. लैनसिंह वाङ्देल र नेपाली स्वच्छन्दवादी कविताका शिर्ष सर्जक स्व.भूपि शेरचनलाई श्रद्धासुमन चढाएर बडो रमाइलो साहित्यिक गोष्ठी सम्पन्न गरेको छ ।


यस महिना वाङ्देल र शेरचनको जन्म जयन्ती ३, ४ दिनको फरकमा परेको हँदा दुवै जनालाई स्मरण गरेर हिजो श्रद्धासुमन चढाईएको थियो । यस कार्यक्रमको संयोजन संस्थाका सल्लाहकार सुमल कुमार गुरुङले गरेका थिए तथा प्रथम चरणको कार्यक्रम उनकै अध्यक्षतामा संस्थाकी महासचिव लारा (लक्ष्मि थापाराई)ले सञ्चालन गरेकी थिईन् । प्रत्येक महिना सम्पन्न गरिने यस कार्यक्रममा लगभग चालीस जना सर्जक तथा साहित्य अनुरागीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एनआरएन बेलायतका अध्यक्ष महेन्द्र कण्डेल तथा विशेष अतिथिमा नेपालबाट बेलायत भ्रमणमा आएका अन्नपूर्ण दैनिकसंग आबद्ध डिल्लीराज आचार्य रहेका थिए ।

त्यसै गरि अन्य अतिथिहरुमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका महासचिव काङमाङ नरेश, नेपाली साहित्य विकाश परिषद बेलायतका प्रतिनिधि मोती भण्डारी, नेपाली अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठानका बीओटी अध्यक्ष खगेन्द्र पाठक, गुल्मि समाज बेलायतका अध्यक्ष अर्जुन गौतम, सेसी, लण्डनका प्रतिनिधि अर्क तिम्सिना, नेपाल फोरम ग्रिनविच तथा एनआरएनए आईसीसीका विनोद ज्ञवाली तथा चर्चित युवा गायक विवेक श्रेष्ठ थिए ।

यस कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिलाई खादा ओढाएर स्वागत गर्दै हिजोमात्र प्रतिभा प्रतिष्ठानद्वारा विमोचन गरिएको पुस्तक “युद्ध कविता”का सम्पादक काङमाङ नरेश, अनेसास द्वारा  रात  ढलेको थिएन”  कविता सङग्रहका लेखक कवि, गोपीकृष्ण प्रसाई, अनेसास मेचीअञ्चल सर्वोत्कृष्ट सिता पान्डे पुस्तक पुरस्कार द्वारा पुरस्कृत गरेको उपलक्ष्यमा तथा विजय हितान मगरका नयाँ कृति “थकित पृथ्वी” कथा सङ्ग्रह प्रकाशन गरे वापत खादा ओढाएर संयोजक सुमल कुमार गुरुङले सम्मान गरेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथि महेन्द्र कण्डेल तथा कार्यक्रमका सभाध्यक्ष सुमल कुमार गुरुङद्वारा द्वीप् प्रज्वलन गरेर नेपाली वाङमयका उज्वल नक्षत्र, सर्जकद्वय लैनसिंह वाङ्देल र भूपि शेरचनलाई पष्पगुच्छ अर्पण गरेर कार्यक्रम शुरु गरेको थियो । अनेसास बेलायतको सदाझै प्रथम चरणलाई अध्यक्षता गर्ने कार्यक्रमको नायकले नै सुत्रधारको हैसियतमा कार्यक्रम सञ्चालन गर्ने नियम रहेको हुँदा संयोजक सुमल कुमार गुरुङले भूपिको कवितांश वाचन गरेर सबैलाई स्वागत गर्दै, भूपि तथा लैनसिंहका जीवनी बारे संक्षिप्त प्रकाश पारेका थिए । यसै अवसरमा उनले “युरोपमा नेपाली साहित्यको विकाशंको संक्षिप्त ईतिहास” कार्यपत्र पनि प्रस्तुत गरेका थिए ।

उनले समयको पाबन्दिलाई मध्येनजर गर्दै छोटो चर्चामात्र गरेर कार्यपत्रको प्रतिलिपि सबैलाई वितरण गरेका थिए । वातावरण कवितामय बन्दै थियो, भूपिका अजर तथा लोकप्रिय कविताको अंश वाचन गरेर प्रमुख अतिथिले मन्तव्य प्रकट गरेपछि, क्रमशः सहभागी सबैले आ–आफ्नो मन्तव्य तथा कविताहरु वाचन गरेका थिए । सहभागी भएकाहरुमध्ये सबैले आफ्नै कविता अथवा भूपिका कालजयी कविताहरु वाचन गरेका थिए । नेपालबाट आएका विशेष अतिथि डिल्ली राज आचार्यले डायस्पोरा सम्बन्धि छोटो चर्चा गर्दै आफ्नो मन्तव्य प्रकट गरेका थिए ।

स्वर्गीय लैनसिंह वाङ्देल र भूपिका जीवनी बारे गोपी कृष्ण प्रसाई तथा नरेश काङ्माङले पनि साविस्तार प्रकाश पारेका थिए । कार्यक्रमको दोस्रो चरणलाई संस्थाका उपाध्यक्ष गजलकार, नारायण गाउँलेले अध्यक्षता गरेका थिए भने पुनः लाराले कार्यक्रमलाई आफ्नो हाउभाउ र कौशलपूर्ण मिठास भरिएका शब्दजालबाट मोहित पार्दै सञ्चालन गरेकी थिईन् ।

नारायण गाउलेको प्रभावशाली गजल, केदार साङ्केतका कविता फिलिलिले ...माहौल बाँधेर राखेका थियो भने विवेक श्रेष्ठको मिठासपूर्ण गीत, सीमा राईकी मिठो गीत तथा सारादेवी गुरुङको लोकगीतले कार्यक्रमलाई मनोविनोदको उँचाईमा पुर्याउँदै वातावरणलाई चौतर्फी जुन उदाएझै शितलता प्रदान गरेको थियो । त्यसै गरी विजय हितानको प्रेयसीलाई सम्झँदै वाचन गरेका युद्ध कविता, मञ्जु भण्डारी, सुशिला कार्की, फत्ता थापा, शर्मिला थकाली, देवी आले, साबी श्रेष्ठ, खगेन्द्र पाठक आदिले आ–आफ्ना कविताहरु वाचन गरेका थिए ।

यस कार्यक्रमलाई टिपनटापन, पेय पदार्थदेखि डिनरसम्मको प्रायोजन गरेका संयोजक सुमल कुमार गुरुङकी धर्मपत्नि सारादेवीबाट छोटो मन्तव्य प्रकट गरे पश्चात कार्यक्रम समापन भएको थियो । यसं कार्यक्रमको अन्ततिर महासचिव लाराले नेपालमा सिकिस्त बीमारी, सर्जक बीके नेपालको सहयोगार्थ नेपालका रेडियोकर्मी चित्रकार तथा साहित्यकार रमेश पौडेलको आग्रहमा केहि रकम संकलन गरिएको थियो । कुल सङ्कलित बीस हजार रुपैया केहि दिनभित्र महासचिव लारा नेपाल जाँदा हस्तान्तरण गर्ने लाराले जनाएकी छिन् ।