कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

त्रिमूर्ति निकेतनमा १३०औं लेखनाथ जयन्ती

काठमान्डू पौष १५,

नरेन्द्रराज प्रसाई : लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदीले कविशिरोमणि लेखनाथ पौडयालको १३०औँ जयन्तीका उपलक्ष्यमा काठमाडौंको सञ्चारग्रामस्थित लेखनाथ पौडयालको पूर्णकदको सालिकमा आज माल्यार्पण गर्नुभयो । 

सोही अवसरमा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम फाउन्डेशनका संयोजक प्रा.डा.गार्गी शर्माले नाटयसम्राट् बालकृष्ण समका पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो । त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल जयन्तीका कार्यक्रम सञ्चालक यादव भट्टराई तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली हो भन्नुभयो । 

कार्यक्रममा उषा शेरचन, भुवनहरि सिग्देल, बाबा वस्नेत, ललिता दोषी, यादव भट्टराई र रमेश सुभेच्छुले कविता वाचन गर्नुभएको थियो । सोही अवसरमा लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक प्रा.डा.गार्गी शर्मा र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुलीले कविशिरोमणि विषयक मन्तव्य प्रकट गर्नु भएको थियो।