कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कोलोराडोमा सरस्वती पूजा तथा कृतिहरुको विमोचनको कार्यक्रम सम्पन्न


८ फेब्रुअरी कोलोराडो, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो च्याप्टरको आयोजनामा ब्राइटन, कोलोराडोस्थित सनातन मन्दिरमा सरस्वती पूजाको साथै गीतकार ज्ञानेन्द्र गदालद्वारा रचित गीत संग्रह "झरी पछिको आकाश", अडियो सिडी "सम्झनाका छालहरु"  तथा कवियत्री मीना पौडेलद्वारा रचित कविता संग्रह "हिमालकी छोरी"को विमोचन सम्पन्न भएको छ । सरस्वतीको तस्वीरमा पुष्पार्पण गरेर शुरु गरिएको उक्त कार्यक्रममा मन्दिरका पूजारी जीवन बरालबाट सरस्वती पूजाको महत्वको सम्बन्धमा छोटो प्रवचन दिइनुको साथै भजन गायन पनि गरिएको थियो । यसै गरी उपस्थित बालबालिकाहरुलाई अनेसास बोर्ड अफ ट्रष्टी सदस्य विजयराज शर्मा तथा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष शरद आचार्यले कापी र शिशाकलम वितरण गर्नुभएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा वरिष्ठ कथाकार तथा गजलकार मनु ब्राजाकीले गीतकार गदाल र कवियत्री पौडेलको कृतिहरुको विमोचन गर्नुभएको थियो । आफ्नो कृतिहरुमाथि चर्चा गर्दै पूर्व अनेसास अध्यक्ष गीतकार गदालले बरिष्ठ संगीतकार रनजित गजमेरद्वारा संगीत भरिएको अडियो एल्बम "सम्झनाका छालहरु"मा नेपालका विभिन्न ख्यातीप्राप्त गायकहरुको स्वारकंन गरिएको बताउनुभयो । यसै गरी कवियत्री मीना पौडेलले आफ्नो कृति "हिमालकी छोरी" मा आफ्नो जीवनको दु:ख सुखका अनुभूतिहरु समेटिएको बताउनुभयो ।

कार्यक्रमको अन्तिम चरणमा विजयराज शर्मा, कुमारजंग कार्की, हरि अधिकारी, तारा अधिकारी लगायत साहित्यकारहरुले आ-आफ्नो रचना वाचन गरेर सुनाउनुभएको थियो ।