कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कवि मिश्र वैजयन्तीको एकल कविता वाचन

mishr baijayanti

दाङमा राप्ती साहित्य परिषदले कवि मिश्र वैजयन्तीको एकल कविता वाचनको आयोजना गरेको खबर छ | 'आमा, सपना र म' शीर्षकको कविताका पंक्तिहरुसँगै शुरु गरेकी कवि वैजयन्तीले अग्रज कवि नारायण गुरुदेखि तन्नेरी पुस्ताका स्रोता एवम् पाठकमाझ झण्डै दुइ दर्जन कविता सुनाइन् ।
कार्यक्रममा कवि वैजयन्तीले विष्णुमाया अर्थात् विष्णुमायाहरु, विजय जुलुस, दास र देउताहरु, तुलो र देश, मेरो प्रेमको कथा, सन्त्रास, आँधी, म वस्तु होइन जस्ता शीर्षकका कविताहरु सुनाएकी थिइन् ।

कवितामार्फत् कवि वैजयन्तीले समाजको व्यथिति, विसंगति र राजनीतिक अस्तव्यस्तताप्रति तीखो टिप्पणी गरिन् । उनले कवितामार्फत् राष्टियता संकटमा परिरहेको भन्दै तुलो र देश शीर्षकमा यस्तो टिप्पणी गरिन् ।

सपनाका आकार र रंगहरु
राष्टियताको बजारमा
पुनः देश भएका छन्
गोलभेँडा देश
प्याज देश
आलु देश
......
कार्यक्रममा कवि वैजयन्तीको परिचय दिदै प्रा.डा. भीम खतिवडाले मिश्रका कविता राष्टिय स्वाधीनता र समाज परिवर्तनको पक्षमा प्रतिबद्ध रहेको बताए । वैजयन्तीका कवितामा उन्नत नेपाल र सभ्य समाजको परिकल्पना छ, कुरुपता र विकृति विसंगतिप्रति चोटिलो प्रहार छ ।
सो अवसरमा कवि यज्ञबहादुर डाँगीले कवि वैजयन्तीका कवितामा सौन्दर्य र कलाको राम्रो संयोजन भएको टिप्पणि गरे । कवितामा दुवैथरि सशक्तरुपमा देखापरेकोा बताए । डाँगीले भने, सबै कविमा तागत हुँदैन तर कवि वैजयन्तीका कवितामा शब्द छनौटदेखि विम्व लेखनमा त्यतिकै प्रखरता छ ।
कार्यक्रममका प्रमुख वक्ता राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले वैजयन्तीका कवितामा उन्मुक्तिको आकांक्षा, निर्भिकता, निडरता र स्पष्टता रहेको बताए ।

कार्यक्रममा कवि आस्था केसी, कृष्ण उदासी, यज्ञ परिश्रमी, विष्णु सन्यास र शारदा शर्माले कवि वैजयन्तीका एक एक वटा कविता वाचन गरेका थिए ।
परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा कवि गण्डकीपुत्रले मोरंगको साहित्यिक विषयमा जानकारी दिदै दांग र मोरंगको साहित्यिक सम्बन्ध नजिक हुनुपर्नेमा जोड दिए ।

पूर्वी नेपालको ताप्लेजुंगमा २०२५ सालमा जन्मेकी कवि वैजयन्तीका संवेदनाका नागबेलीहरु हाइकु पाश्र्व आवाज कविता संग्रहलगायतका कृति प्रकाशित छन् । उनले कवितासँगै कथा निबन्ध, समालोचनालगायतका क्षेत्रमा कलम चलाउँदै आएकी छिन् ।