कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नेपाल र इजरायल दुई देशहरुमा ‘अविश्वासको तरङ्ग’ विमोचित

abishwas ko taranga


काठमाडौँ, नयाँ बर्षको पूर्व सन्ध्यामा चैत २९ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले साहित्यकार कृष्णकला वनेमको ‘अविश्वासको तरङ्ग’ नामक पुस्तकको विमोचन गर्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, इजरायलकी सदस्य वनेमले प्रवासी नेपालीले विदेशमा गरेका विभिन्न काम तथा अनुभव र पीडालाई कथामा प्रस्तुत गर्नुभएको छ । लालच, साइवर प्रेम, भाग्यको खोजी, कर्तव्यलगायतका कथा पुस्तकमा समावेश गरिएको छ । सो अवसरमा पूर्व कुलपति काइँलाले परदेशमा बसेका जुनसुकै धर्म तथा संस्कृतिका नेपालीले पनि सम्पर्क भाषाका रुपमा नेपाली भाषालाई प्रयोग गरी नेपाली भाषा तथा साहित्य बलियो बनाउने काम गरिरहेको बताउनुभयो ।


Abiswas ko taranga

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका उपाध्यक्ष राधेश्याम लेकालीले रोजगारीको सिलसिलामा विदेशमा गएका नेपालीले आफ्नो देशको सम्झना गर्दै कला, साहित्य लगायतको सिर्जना गरेर अभिव्यक्त गर्नाले समाजमा राम्रो सन्देश प्रवाह हुनेछ भन्नुभयो । साहित्यकार डा विष्णु राई, श्रवण मुकारुङलगायतले रुढीवादी संस्कारको अन्त्यका लागि समसामयिक विषयवस्तुलाई आधार बनाएर कथा सिर्जना गरेकाले समाजको सकारात्मक परिवर्तनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


लेखिका वनेम हाल इजरायलमा कार्यरत हुनुहुन्छ । नेपालमा विमोचन भएपछि उनको सो कथा संग्रह शनिबार अप्रिल १२ तारिख इजरायलमा पनि किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलद्वारा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । वनेमको यो दोश्रो कृति हो, यस अघि उनको 'बिर्सिएका गीतहरु' नामको गिती संग्रह प्रकाशित भैसकेको छ । संग्रहमा नौ वटा कथाहरू समावेश गरिएका छन ।