कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

आबुधाबीको अन्तराष्ट्रिय पुस्तक प्रदर्शनीमा नेपाल सहभागी हुँदै

उत्तम अधिकारी, यूएई, २८ अप्रिल – यूएईको आबुधाबीमा यहि ३० अप्रिलबाट शुरु हुने “आबुधाबी इन्टरनेसनल बुक फेयर २०१४” मा नेपालले पनि सहभागिता जनाउदैछ।

आबुधाबी टुरिज्म एण्ड कल्चरल अथोरिटीको आयोजनामा हुने उक्त पुस्तक प्रदर्शनी मेलामा नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघको तर्फबाट नेपाली पुस्तकहरु राखिने भएको छ। उक्त पुस्तक मेलामा ६० देशका झन्डै १ हजार भन्दा बढी प्रकाशकहरुको पुस्तक प्रदर्शनीमा रहने र ३ लाख भन्दा बढीले अवलोकन गर्ने बताइएको छ। नेपालले उक्त प्रदर्शनीमा दोश्रो पटक सहभागिता जनाउन लागेको हो। गत बर्ष पनि उक्त पुस्तक मेलामा नेपालको सहभागिता रहेको थियो। तर पुराना र थोरै संख्यामा पुस्तक राखिएको भन्दै नेपाली स्टल भ्रमण गरेका नेपालीहरुले गुनासो गरेका थिए।

गत बर्ष नेपाली स्टल भ्रमण गरेका अधिकांश पुस्तक प्रेमीहरुसंग इमेल मार्फत सुझाव संकलन गर्दै यसपटक सोहि अनुसार नयाँ र प्रशस्त मात्रामा पुस्तक राखिने संघका महासचिब लिखत प्रसाद पाण्डेले उल्लेख गरेका छन्। यूएईवासी पुस्तकप्रेमी नेपालीहरुलाई ५ मे सम्म चल्ने उक्त प्रदर्शनीमा सहभागी भइ नेपाली पुस्तकको स्टल भ्रमण र अवलोकन गर्न नेपाल रास्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले आव्हान गरेको छ।

उक्त पुस्तक मेला शुक्रवार वाहेक हरेक दिन बिहान ९ बजेदेखि राती १० बजेसम्म र शुक्रवार साँझ ४ बजेदेखि राती १० बजेसम्म खुल्ला रहने जनाइएको छ। आबुधाबी नेशनल एक्जिबिसन सेन्टरमा उक्त पुस्तक प्रदर्शनी मेला हुदैछ। हरेक बर्ष आबुधाबीमा आयोजना हुँदै आइरहेको यो प्रदर्शनी यसपटक २४ औं संस्करणमा पुगेको छ।


0