कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बेलायतमा साहित्य सन्ध्या समारोह सम्पन्न

बेलायत, ०६ अप्रिल २०१४ का दिन लण्डनको साउथहाल स्थित दार्जिलिङ ईन रेस्टुरेन्टमा नेपाली साहित्य विकाश परिषद बेलायतले बडो रमाईलो गरेर नेपाली नयाँवर्ष २०७१सालको शुभ आगमनको अवसर पारेर साहित्य सन्ध्या समारोह सम्पन्न गरेको छ ।

सो अवसरमा सन् १९९५मा बेलायतमा स्थापना भएको नेपाली साहित्य विकास परिषदले पहिलो पटक प्रदान गर्न थालिएको “एनएलडीसी साहित्य पुरस्कार” को पहिलो श्रृङ्खला विजेताहरुलाई पुरस्कृत गरेको थियो ।

कार्यक्रम बेलुकी साढे छ बजेदेखि शुरु भएको थियो तथा कार्यक्रमको अध्यक्षता परिषदका कार्यकवाहक अध्यक्ष, कोमल प्रसाद मल्लश्रेष्ठले अध्यक्षता गरेका थिए । कार्यक्रमलाई परिषदकी महासचिव डा. सुधा श्रेष्ठले सञ्चालन गरेकी थिईन् ।
1

2

3

o
कार्यक्रमका प्रमुख अतिथि तेजबहादुर क्षेत्री, कार्यवाहक राजदूत तथा परिषदका पदेन संरक्षक (बेलायतका लागि नेपाली राजदूत) थिए तथा अन्य डायसमा असीन अतिथिहरुमा यति समाज बेलायतका ठाकुर प्रसाद शर्मा, परिषदका संस्थापक अध्यक्ष शुरेस जंग शाही तथा डा. राघव धिताल थिए ।

यस कार्यक्रमलाई विस्तृत प्रकाश पार्दै, सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै तथा कार्यक्रमको औचित्य र यसले दिन खोजेको सकारात्मक सन्देश बारे अत्यन्त प्रभावकारी ढंगले परिषदका संस्थापक अध्यक्ष शुरेसजंग शाहीले आफ्नो मन्तव्य प्रकट गरेका थिए ।

तत्पश्चात कार्यक्रमको शुरुआत एनएलडीसी साहित्य पुरस्कार २०१३का ऐतिहासिक विजेताहरु क्रमशः प्रथम पुरस्कार विजेता सुमल कुमार गुरुङ, रनर्स द्वय डा. गोपाल पौड्याल र धन बहादुर थापालाई प्रमुख अतिथिको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो ।

प्रथम पुरस्कार प्राप्त सुमल कुमार गुरुङका कृति “मेजर अर्जुनको आँठी”ले यस अघि नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट सस्थाको तेश्रो सम्मेलनको अवसरमा प्रदान गरिएको धवलागिरी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पुरस्कृत भईसकेको छ ।

एनएलडीसी साहित्य पुरस्कारको प्रायोजन परिषदका कार्यवाहक अध्यक्ष कोमलप्रसाद मल्लश्रेष्ठ र उनका धर्मपत्नि कोहिनूर मल्लश्रेष्ठले नेपाली साहित्य विकास परिषदका लागि संस्थागत हिसाबमा गरेका थिए ।

कार्यक्रमलाई मन्तव्य प्रकट गर्नेहरुमा प्रथम पुरस्कार विजेता सुमल कुमार गुरुङ, डा. राघव धिताल, ठाकुर प्रसाद शर्मा, तथा प्रमुख अतिथि, कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री थिए ।

यस कार्यक्रममा कोसेली सांस्कृतिक परिवारमका अध्यक्ष मदन थापा तथा पूर्वअध्यक्ष बसन्त रायक्षेत्रीले र्सागीतिक धून बजाएर माहौलमा थप रौनकता दिएका थिए । प्रथम चरणको कार्यक्रम सकिए लगत्तै दोश्रो चरणको कार्यक्रम कविता वाचन रहेको थियो । यस कार्यक्रमलाई ज्ञानेन्द्र रावतले सञ्चालन गरेका थिए ।

कविता वाचन गर्नेहरुमा क्रमशः सुमल कुमार गुरुङ, कोमलप्रसाद मल्लश्रेष्ठ, धनबहादुर थापा, गोपाल पौड्याल, गोपीकृष्ण प्रसाई, हरिबहादुर थापा (उनले आफैले रचेका गीत गाएका थिए), बसन्तराय क्षेत्री, शुरेसजंग शाही, सागर सिलवाल, डा.सुधा श्रेष्ठ तथा अन्तमा सारादेवी गुरुङले पुतलीको लोकगीत गाएर सबैलाई मुग्ध बनाएकी थिईन् । कार्यक्रमको अन्तमा कोमलप्रसाद श्रेष्ठमल्लले सबैलाई धन्यवाद ज्ञापन गरेर दोश्रो चरणको कार्यक्रम समापन गरेका थिए