कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

देश-विदेशका पाँच जनालाई नइ पुरस्कार

नइ प्रकाशनले देशविदेशका पाँच जना महानुभावहरूलाई आज २०७१ साल जेठ एक गते एक समारोहका माझ २०७१ सालको नइ पुरस्कार प्रदान गरेको छ ।

पुरस्कार शताब्दी पुरुष डा. सत्यमोहन जोशी, डा.मोदनाथ प्रश्रित र टोरुप प्रसाईले संयुक्त रुपमा प्रदान गर्नु भएको हो । दुई लाख रूपियाँ राशिको ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारतीय नेपाली साहित्यकार श्री नरबहादुर दाहाललाई प्रदान गरियो । यो पुरस्कार नेपालीगोर्खाली मुलका विशिष्ट प्रतिष्ठा आर्जन गर्ने विदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिन्छ । साथै नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितलाई एक लाख रुपियाँ राशिको ‘नइ खरा सुकीर्ति पुरस्कार’ प्रदान गरिएको छ । त्यसैगरी साहित्यकार तथा गायिका श्री चन्द्रकला नेवारलाई पचास हजार रूपियाँ राशिको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गरियो । आमसञ्चार विज्ञ डा.मञ्जु मिश्रलाई पच्चीस हजार रुपिया राशिको ‘नइ खरा गौरव पुरस्कार’ प्रदान गरिएको छ । चलचित्रकर्मी तथा सङ्गीतकार विशेषदेव पाण्डे (क्रोनिकबिट) लाई पन्ध्र हजार रुपियाँ राशिको ‘नइ खरा पौरख पुरस्कार’ प्रदान गरिएको छ ।

0

1

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा प्रमुख अतिथि शताब्दी पुरुष डा.सत्यमोहन जोशी, डा.मोदनाथ प्रश्रित, गङ्गाप्रसाद उप्रेती, भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का अध्यक्ष जगतबन्धु कार्की, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गीता खत्री, नइ प्रकाशनका उपाध्यक्ष प्रा.डा.रामप्रसाद उप्रेती र सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य दिनु भयो ।

नइ प्रकाशनले ११ लाख रूपियाँ राशिसहित छब्बीस वटा पुरस्कारहरू हरेक वर्ष तीन चरणमा प्रदान गर्दै आएको छ ।