कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

आवाज समूह नेपालद्वारा अन्तरक्रिया एवं पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

0
काठमाडौं । आवाज समूह नेपालको सातौं वर्ष प्रवेशको अवसर पारी अन्तरक्रिया एवं पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । मीनभवन, बानेश्वरस्थित निसहाय सेवा सदनको सभाकक्षमा सिंचाइ मन्त्री एन.पी. साउदले पानसमा दीप प्रज्जवल गरी शनिवारका उक्त कार्यक्रमको समुद्घाटन गरेका हुन् ।

आवाज समूह नेपालका संस्थापक अध्यक्ष मदनकृष्ण सिलवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथिहरुमा अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज(अनेसास)की केन्द्रीय अध्यक्ष गीता खत्री, निसहाय सेवा सदनकी अध्यक्ष वरिष्ठ समाजसेवी सगुन साह हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा नेपाल आर्य समाजका अध्यक्ष कमलाकान्त, महासचिव यादव खकुरेल, सीप विकासकी अध्यक्ष भीमा गौतम, चित्रकार डा. रामकुमार भौकाजी, हर्मन हेस्से महिला समाजकी अध्यक्ष विमला राउत क्षेत्री, नेपाल ज्योतिष पत्रकार संघका अध्यक्ष कृष्ण शर्मा, युवा समाजसेवी सरस्वती शाहलगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथि मन्त्री एन. पी. साउदले–“आवाज समूह नेपालले वास्तवमै नेपाली जनताहरुको सामुहिक आवाजहरुलाई मुखरित गर्न लागिपरेको रहेछ, यो समूहले नेपालमा मात्रै होइन, संसारकै देशविदेशमा रहेका नेपालीको आवाजलाई समेत सम्वोधन गर्न सकोस्” भन्ने शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै, कार्यक्रममा अनेसासकी अध्यक्ष गीता खत्रीले आवाज समूहका कार्यक्रम र क्रियाकलापहरुले नेपालमा मात्र होइन, विदेशमा समेत प्रभाव पारिसकेको बताउँदै अझ उत्कृष्ट कार्यक्रहरु गर्न शुभकामना दिनु भयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मदनकृष्ण सिलवालले संस्थाको स्थापनाकालदेखि अहिलेसम्म गरेका कार्यक्रमहरुको सचिण वर्णन उपस्थिति सबैमाझ जानकारी दिनुभएको थियो ।

संस्थाकी महिला विभाग प्रमुख देविका न्यौपानेले उपस्थिति महानुभावहरुलाई स्वागत मन्तव्यले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन आवाज समूह नेपालका महासचिव डि.पी. गिरीले गर्नुभएको थियो । कार्यक्रममा आवाज समूह नेपालका स्वास्थ्य संयोजक विनोदकुमार भण्डारी, सीप तथा जनशक्ति विकास संयोजक राजन चिमौरियालगायतको उपस्थिति रहेको थियो ।

यसै अवसरमा आवाज समूह नेपालका सदस्य युवा साहित्यकार गोविन्दप्रसाद कडेलद्वारा लिखित दुई कृतिहरु ‘वर–पिपल’ खण्डकाव्य र ‘सपनाको घर’ गीतिसंग्रह प्रमुख अतिथि सिञ्चाइ मन्त्री एन.पी. साउदले लोकर्पण गरिएको थियो ।

आवाज समूह नेपालद्वारा प्रकाशित उक्त कृतिहरुमाथि सिञ्चाइ मन्त्री एन. पी. साउदले भन्नुभयो–“साहित्य लेखन कार्य ठूलाले मात्र गर्ने होइन, सबैले गर्न सक्दछन्, मलाई पनि कुनै बेला साहित्य लेखन मन लाग्यो तर युवा साहित्यकार गोविन्दप्रसाद कडेलको यो दुई कृति हेर्दा लाग्छ, उनी निकै खारिएका कवि हुन् ।” त्यस्तै, अनेसासकी अध्यक्ष गीता खत्रीले उनका दुई कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।