कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

भानु जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम

‘भर् जन्म घासतिर मन दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घासी दरिद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन आय यस्तो’


आदिकवि भानुभक्त आचार्यद्धारा लिखित यही कवितांशलाई सभापती बनाएर भक्तपुर साहित्यिक समाजले ४५ औ साहित्यिक वाचन श्रृ्रखला सम्पन्न गरेको छ । नियमित रुपमा हरेक महिनाको अन्तिम शनिवार सम्पन्न हुने श्रृंखलामा यसपटक करिब दुई दर्जन सर्जकले आफ्ना रचना वाचन गर्नु भएको थियो । कवि रञ्जिता थापाको गजलले द्धन्दकाल सम्झायो ।

टुलुटुलु हेर्छन् आखा फोटोबाट सिरान माथि
कसरी पो राखे दाइले मेरा बालाई चिहान माथि

त्यस्तै काभ्रेका रविन बिष्ट स्नेहीको गजलले कार्यक्रमलाई भावविभोर बनायो ।
‘यसरी पनि चित्त बुझाउनु है मेरी आमा
हात गुमाएर पठाएको छु रुपैयाहरु’

0

आदिकविको रचनालाई नै सभापति बनाइएको कार्यक्रममा बीचबीचमा भानुभक्तको जीवनीसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा रोशनकुमार राजभण्डारी, दिपेन्द्र श्रेष्ठ, प्रभाकर असिम, सुनिल स्पन्दन, सानु ऋक्षश्रीले गीत, सुरेश बखुञ्चे, अर्चना सुनार अर्चु, घायल योद्धा नवराज, कमल सरगम, श्याम गैंडा, जितेन्द्र रसिकले गजल र दिलिप श्रेष्ठ, कृष्ण प्रजापति, रोसना न्हेमाफुके, धनमान श्रेष्ठ, एलके सुन्दर, विवश पन्तले कविता सुनाउनु भएको थियो ।