कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कोलकातामा भानुको सालिक स्थापना गरिने

कोलकाता, नेपाली जनकल्याण समिति, हावडा, कोलकाताले आगामी वर्ष कोलकातामा आदिकवि भानुभक्त आचार्यको सालिक निर्माण गर्ने भएको छ ।

आदिकविको द्विशताब्दी समारोहका उपलक्ष्यमा यसै हप्ता कोलकाता गएको नेपाली प्रतिनिधिमण्डल र समितिबीच भएको छलफलपछि सो निर्णय भएको हो । नेपाली प्रतिनिधिमण्डलमा प्रा डा विष्णुराज आत्रेय, दर्शनशास्त्री विष्णु प्रभात, समितिका सल्लाहकार धर्मराज बराल र पत्रकार श्याम रिमाल सहभागी हुनहुन्थ्यो ।

समितिले भारत पश्चिम बङ्गाल राज्यस्थित कोलकातामा हरेक वर्ष ब¬ङ्गाली मन्त्री तथा शुभेच्छुक बङ्गालीका साथै प्रवासी नेपालीबीच भानुजयन्ती समारोह आयोजना र ‘बिहानी’ शीर्षक वार्षिक साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको छ ।

प्रा डा आत्रेयले अर्काे वर्ष भानुको सालिक स्थापना गरी कोलकातामा भानुजयन्ती, रवीन्द्रनाथ जयन्ती र बहुभाषिक कविगोष्ठी गर्न समितिलाई आग्रह गर्नुभयो भने समितिका सभापति बद्रीविक्रम थापाले समितिको अगुवाइमा कोलकातास्थित नेपाली महावाणिज्यदूतावाससँग ‘नेपाल गृह’ निर्माण र अन्य सहयोग माग गरी प्रवासी नेपालीहरूसँग चन्दा उठाई सालिक स्थापना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिले आगामी वर्ष मोतीराम भट्ट जयन्ती, विश्वकवि रवीन्द्रनाथ ठाकुर जयन्ती र बहुभाषिक कविगोष्ठी गर्ने प्रतिबद्धता जनाएको छ भने यसै वर्ष बिपी शताब्दी जन्मजयन्ती समारोह मनाउन प्रवासी नेपालीहरूको छाता सङ्गठन संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घ कोलकाताका अध्यक्ष खिमराज बरालको अध्यक्षतामा समिति पनि गठन गरिएको छ । विश्वकवि ठाकुरको जन्म कोलकातामा भएको थियो भने महाकवि लक्ष्मीप्रसाद देवकोटा, राजनीतिज्ञ बिपी, कलाकार लैनसिंह बाङ्देल र राष्ट्रपति डा रामवरण यादवले यहीँ अध्ययन गर्नुभएको थियो । साहित्यकार केशवराज पिंडाली पनि यहाँ केही वर्ष बसी जानुभएको बताइएको छ ।

यस्तै आगामी डिसेम्बर २१(पुस ६)मा साहित्यकार तथा कलाकार लैनसिंह बाङ्देलको जन्मजयन्ती पुरस्कार वितरण एवम् स्मारिका प्रकाशनका साथ मनाइने भएको छ ।

यहाँ ‘बिहानी’, ‘मौलो’, ‘हिमाल’, ‘प्रभात’, ‘प्रहरीको कलम’, ‘सम्झना’, ‘नेपाली सङ्गम’ आदि नामका विभिन्न नेपाली पत्रिका प्रकाशन हुँदै आएका छन् । यहाँका साहित्यिक पत्रकारको पहलमा कोलकातामा हालसम्म प्रकाशित पत्रिका र तिनमा प्रकाशित सामग्रीको सूची पनि प्रकाशन गर्न लागेको ‘सम्झना’ वार्षिक साहित्यिक पत्रिकाका सम्पादक गणेशकुमार प्रधानले जानकारी दिनुभयो ।

कोलकातामा करिब ३० हजार नेपालीको बसोबास छ । उनीहरू यहाँ तीज, कृष्णाष्टमी, दसैँ, तिहार, शिवरात्रि र भानुजयन्ती उत्साहपूर्वक मनाउँछन् । प्रत्येक माघमा हुने गङ्गासागर मेलामा यहाँका प्रवासी नेपालीले नेपालबाट गएका नेपालीहरूका लागि विशेष शिविर स्थापना गरी स्वयम्सेवा पनि गर्दै आएका छन् ।

image
यस वर्ष पनि उनीहरूले २००औँ भानुजयन्ती नेपालबाट अतिथिहरू निम्त्याएर पश्चिम बङ्गालका मन्त्री र नगरप्रमुख तथा नेपालीहरूमाझ कवितावाचन, सम्मान तथा सांस्कृतिक कार्यक्रमका साथ मनाए । कार्यक्रममा कृषि विपणनमन्त्री अरुप राय, उत्तर बंग उन्नयनमन्त्री गौतमदेव, विधायक जितु लाहिरी र अक्सफोर्ड हाइस्कुल हावडाका रेक्टर एससी दुबेले भानुभक्त नेपालका मात्र नभएर पृथ्वीकै सम्पत्ति भएको तथा नेपाल आफूहरूको प्रिय देश भएको बताउँदै कोलकातामा नेपालीहरूको विविध गतिविधिप्रति चाखपूर्वक हेर्दै आएको जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली प्रतिनिधिमण्डलले मन्त्री रायलाई पशुपतिनाथ, मुक्तिनाथ र सगरमाथाको तस्बिर उपहार दिएको थियो । नेपालीहरूका सन्तानले नेपाली, हिन्दी र बङ्गाली भाषामा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । रासस