रोल्पा, साउन १०
कवयित्री गीता निर्दोषीको ‘काँडाबीचको फूल’ कवितासङ्ग्रहको समीक्षा शनिबार लिबाङमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाले जिल्लामै पहिलोपटक सो समीक्षा कार्यक्रमको आयोजना गरेको हो । समीक्षा कार्यक्रम हरेक दुई महिनामा सञ्चालन गरिने आयोजकले जनाएको छ ।भाबाङ, रोल्पा निबासी कवयित्री निदोषीको ‘काँडाबीचको फूल’ कवितासङ्ग्रह २०६३ सालमा प्रकाशित भएको हो । यो सँगै उनले आह्वान् कवितासङ्ग्रह (२०६७) समेत प्रकाशित गरेकी छन् ।
कार्यक्रममा साहित्यकार डी.बी. टुहुरोले कृतिको समीक्षा गरेका थिए । कृतिको समीक्षा गर्दै टुहुरोले कवितासङ्ग्रहमा ३६ वटा कविता रहेकोमा ९ वटामातृभूमिप्रतिको माया र राष्ट्रभक्ति भावना भएका ९ वटा कविता, ३ वटा प्रकृति प्रेमी कविता र १७ वटा समयसामयिक विषयमा केन्द्रीत कविताहरु रहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै कवयित्री गीता निर्दोषीले आफ्ना कवितामा कमी कमजोरी भए पनि सिक्ने क्रममा रचिएका रचना भएको बताए । कार्यक्रममा बोल्दै उनले आगामी दिनमा पनि रोल्पामा रहेरै सिर्जना यात्रामा लागिरहने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
जिल्ला शाखा सहसचिव धनराज अविरलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रलेस केन्द्रीय सदस्य गोरीकिरण डाँगी, जलजला बहुमुखी क्याम्पस प्रमुख विनोद आचार्य, पत्रकार खेम बुढामगर, नेपाल पत्रकार महासंघ, रोल्पाका अध्यक्ष महेश न्यौपाने, रेडियो जलजलाका स्टेशन म्यानेजर मौसम रोकामगर, साहित्यकार कविता उपाध्याय, हरिप्रसाद पाण्डे ‘ह्याप्पी’, बलबहादुर घर्तीमगर, चन्द्रज्योति सुवेदी, रोहित केसीलगायतले कवयित्री निर्दोषीको व्यक्तित्व र कृतित्वमाथि बोलेका थिए । समग्र कार्यक्रमको समीक्षा राप्ती साहित्य परिषद्का केन्द्रीय सचिव रमेश सुवेदीले गरेका थिए ।जिल्ला शाखा अध्यक्ष गोर्कण पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नारायण रेग्मी जिज्ञासुले गरेका थिए ।
विमोचन
कवयित्री निर्दोषीको ‘काँडाबीचको फूल’ कवितासङ्ग्रहको समीक्षा

कवयित्री निर्दोषीको ‘काँडाबीचको फूल’ कवितासङ्ग्रहको समीक्षा
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि