कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कथाकार रत्नमणी नेपालको कथासंग्रह ‘सँगसँगै’ विमोचन

आइतबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रममा कथाकार रत्नमणी नेपालको कथासंग्रह ‘सँगसँगै’ विमोचन गरिएको छ । साहित्यकार प्रदीप नेपाल, साहित्यकार डा.गोविन्दराज भट्टराई, समालोचक डा. ज्ञानु पाण्डे, आख्यानकार नारायण ढकाल र कवि विष्णुविभु घिमिरेले संयुक्त रुपमा कथा कृतिको विमोचन गरेका हुन ।

साहित्यकार तथा पूर्वशीक्षा मन्त्री प्रदिप नेपालले यो संग्रहमा भएका कथाहरुले वर्तमान नेपाली जनजीवनको स्वभाव र द्वन्दोत्तर नेपाली समाजको चित्रण गरेको धारणा राखे ।समालोचक डा. पाण्डेले कथासंग्रहको शैली आकर्षक भएको बताइन् । उनले कथामा भएका विषयवस्तुका कारण पुस्तक वर्तमान समयको इतिहास भएको टिप्पणी गरिन् ।

पुस्तकमाथि बोल्दै साहित्यकार तथा बरिष्ठ समालोचक डा. भट्टराईले यो कथासंग्रहमा रहेको ‘मधेश’ कथा उत्कृष्ट नेपाली द्वन्दकथा मध्ये एक भएको धारणा राख्नुभयो । पुस्तकमा समेटिएका कथाहरु लीलालेखनको नयाँ प्रस्तावना भएको बताउने नेपालका कथाहरुले सफलतापूर्वक नयाँ प्रयोग गर्ने जोखिम मोलेको आख्यानकार नारायण ढकालको भनाई थियो ।

ढकालले कथाको प्रस्तुतिले पाठकलाई बाँध्न सक्ने र सन्देश प्रवाह गर्न सक्ने शक्ति बोकेको बताउनुभयो । सांग्रिला बुक्सले बजारमा ल्याएको यो पुस्तक नेपालको तेस्रो कथासंग्रह हो ।संग्रहमा सातवटा लामा कथाहरु समेटिएको छन् । यसअघि उनका ‘कथाइन्द्रेणी’ र ‘लीलाधारणा र कथाहरु’ प्रकाशित भएका थिए ।


RATNAMANI NEPAL -SANGSANGAI