कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

दुई कविता 'अनामनगरकी अम्बिका’ र ‘हर्कबहादुर’ मञ्चन

नाट्यकर्मी कृष्ण शाह यात्रीको परिकल्पना एवं निर्देशनमा कवितालाई मञ्चन गरिएको छ ।  काठमाडौं र ललितपुरको फरक रङ्गमञ्चमा उनले दुई कविता ‘अनामनगरकी अम्बिका’ र ‘हर्कबहादुर’ मञ्चन गरेका हुन् ।

गोबद्र्धन पूजाद्वारा लिखित ‘अनामनगरकी अम्बिका’मा नारी पीडास्वर लुकेको छ । रङ्गमञ्चमा यसलाई एक नारीको जीवनका चार आरोह–अवरोहलाई प्रतिकात्मक रूपमा देखाइएको थियो । कविता–मञ्चनमा स्वर्णिम थापा, ज्योतिप्रभा मरासिनी र सुजान श्रेष्ठले अभिनय गरेका थिए । निर्देशक यात्रीले कवितालाई अभिनय, मल्टिमिडीया र प्रकाश परिकल्पनाको माध्यमले रङ्गप्रस्तुतिको रूप दिएका थिए । यसलाई ज्योतिपुञ्ज साइन थिएटरले प्रस्तुत गरेको हो ।

यसैगरी यात्रीकै परिकल्पना र निर्देशनमा ललितपुरमा ‘हर्कबहादुर कविता’ पनि मञ्चन भएको छ । एक प्रतिनिधि नेपाली पुरुष पात्रको तितो अनुभव यसमा दर्शाइएको छ । ११ र १२ कक्षाको पाठ्यक्रममा समेत रहेको दिनेश अधिकारीको  यस कवितामा आशिष पौडेल, नलिन मल्ल, देवम शाह र न्हुज महर्जनले अभिनय गरेका थिए ।

यात्रीले रङ्गमञ्चमा नाटकसँगै बेलाबेलामा नेपाली कथा, कविता र लघुकथा समेत मञ्चन गर्दै आइरहेका छन् । प्रयोगात्मक रङ्गमञ्च रुचाउने यात्रीले यस अघि एक दर्जन चर्चित नेपाली कविताहरू रङ्गमञ्चमा प्रदर्शन गरीसकेका छन् । यात्रीको परिकल्पना र निर्देशनमा महाकवि देवकोटाको ‘बाघले बच्चा किन खान्छ’, भूपी शेरचानको ‘हामी’ र ‘यो हल्लै हल्लाको देश हो’, भीमनिधि तिवारीको ‘दागबत्ती’, वैरागी काइलाको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’, पूर्ण विरामको ‘त्यो योद्धा को हो’, विप्लव ढकालको ‘निर्जन बन्दरगाह’ आदि जस्ता प्रतिनिधि र चर्चित नेपाली कविताहरूले रङ्गमञ्चसँग नाता जोडिसकेका छन् ।

 रङ्गमञ्चमा चालिसको दशकदेखि कविता मञ्चनको परम्परा सुरु भएको मानिन्छ । कविता मञ्चन गर्ने सन्दर्भमा यात्री भन्छन्, “विम्बसँग बढी खेल्नु पर्ने र छोटो समयमा प्रस्तुत गर्नु पर्ने हुँदा कविता मञ्चनमा नाटकभन्दा अझ बढी गम्भीर बन्नु पर्ने हुन्छ । यसमा चुनौति र जोखिम दुवै छ ।”