कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

राजधानीमा गजल महोत्सव शुरू



अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको संयुक्त आयोजनामा राजधानीमा आजदेखि वृहद गजल महोत्सव हुन गइरहेको छ । महोत्सवका लागि झण्डै ३०० गजलहरू प्राप्त भइसकेको गजलकार घनेन्द्र ओझाले जानकारी दिए ।

महोत्सवमा विभिन्न देशमा रही नेपाली भाषामा गजल लेख्ने प्रवासी नेपाली र अन्य देशका नागरिकले नेपाली भाषामा लेखेका नेपाली गजललाई प्रस्तुत गरिने छ । महोत्सवमा नेपालसहित भारत, भुटान, बर्मा, पाकिस्तानका गजलकारको उलेख्य मात्रामा सहभागिता रहनेछ । शिल्पी थिएटर, बत्तीसपुतलीमा बिहान ११ बजे वृहत गजलगोष्ठी तथा विशेष गजलवाचन कार्यक्रम हुने छ भने ७ गते शनिबार शिल्पी थिएटरमा नै दिउँसो १२:३० बजे विशिष्ट स्रष्टा सम्मान तथा चर्चित गायकगायिकाद्वारा प्रत्यक्ष गजलगायन हुने कार्यक्रम रहेको छ ।

गजल महोत्सवकै अवसरमा 'अन्तर्राष्ट्रिय नेपाली गजल मन्च'ले आयोजना गरेको हालसम्मकै ठूलो पुरस्कार राशि भएको 'अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०७१' को पुरस्कार र प्रमाणपत्र पनि प्रदान गरिने कार्यक्रम रहेको छ । जसअनुसार कमल संघर्ष - प्रथम, तपेन्द्र घोडासैनी - द्वितीय र श्रीराम अधिकारी- तृतीय हुनुभएको छ । पुरस्कृत गजलकारहरूले क्रमश: ३००, २०० र १०० अमेरिकी डलर प्राप्त गर्नुहुनेछ ।

प्रतियोगिताका लागि प्राप्त करीब २५० भन्दा बढी गजलहरूमध्यबाट प्रा‍. डा. कृष्णहरि बराल, करूण थापा र रवि प्रान्जलको निर्णायक मण्डलले उल्लिखित गजलकारका गजलहरूलाई पुरस्कृत गरेको हो । पुरस्कार वितरण र् श्रष्टा सम्मानको कार्यक्रम शनिबार रहेको छ ।