कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

युवा वर्ष मोती पुरस्कार रत्नमणि नेपाल र शशी थापा पण्डितलाई

राष्ट्रिय युवा सेवा कोषले यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा साहित्यकार रत्नमणि नेपाल र शशी थापा पण्डितलाई संयुक्तरुपमा प्रदान गर्ने भएको छ ।नेपाली भाषा साहित्यको उत्थान र यसको श्रीवृद्धिका लागि विभिन्न गतिविधि गरी मोतीरामको क्रियाकलापसमेत अनुसरण गर्दै उल्लेखनीय योगदान पुर्‍याएबापत नेपाल र पण्डितलाई पुरस्कृत गर्न लागेको राष्ट्रिय युवा सेवा कोषले जनाएको छ। कोषले मोतीराम भट्टको नाममा २०४२ देखि हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ। मोती पुरस्कार छनोट समितिका अध्यक्ष साहित्यकार बैरागी काइँलाको सभापतित्वमा बसेको बैठकले पुरस्कारको निर्णय गरेको कोषका अध्यक्ष भीमबहादुर अधिकारीले विज्ञप्तिमा जनाएका छन्।

भोजपुरका नेपालले लीला लेखन प्रवर्द्धनमा योगदान दिँदै आइरहेका छन्। उनका लीला लेखन सम्बन्धी लेखहरूको संग्रह 'लीलावृष्टि', 'कथा इन्द्रेणी' (कथासंग्रह), 'लीला धराना र थाहरू' (कथा र लेख संग्रह) र 'सँगसँगै' (कथा संग्रह) प्रकाशित छन्। ३५ वर्षीय नेपालले लीला लेखन प्रवर्द्धन सम्बन्धी साहित्यिक त्रैमासिक 'वर्तमान' का पूर्व सम्पादक पनि हुन्। काठमाडौंकी ३९ वर्षीया पण्डितका 'मेरी छोरी शहीद भइछे' र 'प्रेमको बकपत्र' कविता संग्रह प्रकाशित छन्। नेपाली साहित्यका अमर व्यक्तित्व मोतीरामको नाम जोडिएको पुरस्कार पाउनु निकै गर्विलो कुरा रहेको शशिले बताइन्।

 राष्ट्रिय विभूति एवम् युवाकवि मोतीराम भट्टको पुण्यस्मृतिमा २०४२ सालमा स्थापित यो पुरस्कारमा  रु ५० हजार तथा स्वर्णपदक रहेको छ ।  कोषले अहिलेसम्म ५७ युवा स्रष्टाहरूलाई मोती पुरस्कारबाट सम्मान गरिसकेको छ।