कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

राधा पौडेललाई मदन पुरस्कार : जगदम्बा-श्री पुरस्कार शिव रेग्मीलाई

२०७० सालको मदन पुरस्कारबाट राधा पौडेल पुरस्कृत भएकी छन् । उनको कृति 'खलंगामा हमला'लाई मदन पुरस्कार प्रदान गरिएको हो ।
मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले २ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पौडेललाई प्रदान गर्ने निर्णय गरेको हो ।
जगदम्बा-श्री पुरस्कारबाट भने शिव रेग्मी पुरस्कृत भएका छन् । उनलाई साहित्यिक पत्रकारिताको खोजी-अन्वेशण गरिएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २ लाख रुपैयाँ छ ।

चितवनकी स्थायी बासिन्दा राधाले जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लामा रहेकाबेला सदरमुकाम खलंगामा तत्कालिन विद्रोही माओवादीले गरेको आक्रमणको संस्मरण पुस्तकमा उतारेकी थिइन् ।

युद्धबाट नयाँ जीवन पाएकी राधा
समयसँग लडेर आएकी राधा पौडेल संघर्षकै पर्यायवाची हुन्। वास्तवमा राधा यो धर्तीमा दुई पटक जन्मिन्। एकपटक आमाको कोखबाट अर्को पटक युद्धको भुमरीबाट पुनर्जन्मपछि उनले जीवनको नयाँ परिभाषा लेखिन। 'संसारका कुनै पनि व्यक्तिको जन्म आफूले चाहेको स्थानमा हुँदैन।' उनको दोस्रो जन्म पनि उनले नसोचेको स्थानमा भयो। दोस्रो जन्मपछि गरेको संघर्षले उनको व्यक्तिगत जीवनलाई मात्र होइन, विकट जुम्लालाई समेत फलिफाप भएको छ। युद्धले पिल्सिएका अनि गरिबी र अशिक्षाले थिचिएका जुम्लावासीलाई राधाले लगाएको गुन चर्चाको विषय भएको छ।
चितवनको गौरीगन्जमा बुबा देवीप्रसाद तथा आमा गंगामायाको कोखबाट जन्मिएकी राधाको घरपरिवार सामान्य आर्थिक अवस्थाको थियो। राधा मात्र होइन, उनका चार दिदीबहिनी र एउटा भाइलाई शिक्षादीक्षा दिनुपर्छ भनेर उनका बाआमा रातदिन शरीर घोट्थे। गौरीगन्ज निमावी हुँदै प्रेमबस्ती माविबाट स्कुल सकेकी राधासँग शैक्षिक प्रमाणपत्रको ठेली नै छ।

खिरिलो ज्यान तथा हँसिलो अनुहार भएकी राधा सधैं फुच्ची देखिन्छिन्। विचार र भावना उच्च भएका कारण उनले आफ्नो जीवनलाई सही गोरेटोमा डोर्‍याइन। वि.सं. २०५१ मा नर्स बन्ने अभिलाषासहित राजधानी छिरेकी राधा अध्ययन सकेर भरतपुर अस्पताल पुगिन। १ हजार ९ सय २० रुपैयाँ तलब थियो। जनशक्तिको अभाव थियो अस्पतालमा, त्यसैले २४ घण्टे ड्युटी गर्नुपर्ने बाध्यता थियो। बिरामीको पीडा देखेर राधा धेरै रोएकी छिन्। बिरामीको सेवामा समर्पित हुँदा उनले आफ्नै जिन्दगीलाई पनि बुझ्ने अवसर पाइनन्।

radha

चार वर्ष भरतपुर अस्पतालमा बस्दा उनले धेरै दुःख देखिन् र भोगिन्। एकपटकको कुरा हो, अस्पतालमा सात वर्षकी बालिका बलात्कृत भएको केश आयो। त्यतिबेला उनले ती बालिकाको पीडा देखिन। उनले पाठेघर खसेका अनि पाठेघरमा टर्च लाइटको कभर अड्किएर इन्तु न चिन्तु भएका बिरामीहरू पनि देखिन। यस्ता केशले उनलाई भावुक बनायो। उनका बुबा २०१७ सालमा अञ्चलाधीशको भान्से भएर एकपटक जुम्ला गएका रहेछन्। जुम्ला बसेर आएका बुबाको मुखबाट सुनेको तितो यथार्थले उनको मन पोल्यो। दुःख, गरिबी र अभाव त त्यहाँ पो रहेछ भनेर राधा जुम्ला पुगिन्। जुम्लामा छँदा उनले मानिसको वास्तविक दुःख देखिन्। टुहुरा बालबालिकाको कहालीलाग्दो दुःख देखेर उनका आँखा धेरै पटक रसाए।
जागिरका सिलसिलामा जुम्लामा रहँदा आफूले देखेका, भोगेका विषयहरू समेटेर उनले एउटा पुस्तक नै लेखिन- 'खलंगामा हमला'। सुरक्षित मातृत्व शिक्षाअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यलयमा जागिर खान जुम्ला पुगेको तेस्रो दिन उनले एउटा विचित्रको दुःख देखिन। कार्यालयमा पियन पनि आफैं, हाकिम पनि आफैं बनेर काम गरिएका बेला उनको कार्यालयमा एउटा केस आयो। सुत्केरी भैसकेपछि एक महिलाको पाठेघरमा साल अड्किएको रहेछ। रगतको आहाल नै लागेछ। बिरामीलाई उपचार गर्ने पैसा थिएन नै, न चिकित्सककको सेवा सुविधा नै। बिरामीलाई सुर्खेत वा नेपालगन्जसम्म्ा पुर्‍याउने प्लेन भाडा थिएन। 'हो, त्यहीबेला बिरामीका लागि पैसा संकलन गर्न थालें,' उनले भनिन्-'तर प्लेन पनि छुट्यो सुविधाको अभावमा उपचार गर्न नपाएर ती बिरामीको मृत्यु भयो।' त्यसपछि राधाको मन थामिएन। उनी नयाँ काम गर्नुपर्छ भनेर लागिन्।
अब उनको दैनिकी अलिक बदलियो। उनले नयाँ सामाजिक कामको थालनी गर्ने सोच बनाइन्। 'वयेर फुटेड डाक्टर'का रूपमा उनको जीवनले नयाँ मोड लियो। वयेर फुटेड डाक्टर अर्थात् खालीखुट्टे डाक्टरका रूपमा उनले निःस्वार्थ सेवा गर्न थालिन। उनी गाउँ घुम्न थालिन। कार्यालयको काम सकेर घरदैलो पुग्थिन्। गाउँले भाषा सिक्थिन्, गाउँलेका पीडा सुन्थिन। त्यतिबेला माओवादी युद्ध उत्सर्गमा थियो। राम्रो काम गर्दा पनि उनी सेना र माओवादी दुवैको तारो बनिन्। माओवादी भन्थ्यो- 'सेनाको सुराकी गरिस्।' अनि सेना भन्थ्यो-'माओवादीको उपचार गरिस्, ब्यारेक हिँड्।' यस्ता धम्की र त्रासमा पनि राधाले हिम्मत हारिनन्। राधा भन्छिन्- 'दोहोरो मारमा काम गर्नुपर्दा म धेरै रोएँ।'

स्वास्थ्य उपचार नपाएर अकालमै मरिरहेका मानिसका लागि केही नौलो काम गर्ने सोचसहित उनी जुम्लामा ब्लड बैंक बनाउने योजनामा जुटिन। सरकारी तथा गैरसरकारी कार्यालयका अधिकृत, सिडियो, एलडियो सबैलाई कामको बेलिविस्तार सुनाइन्। सबैले सहयोग गर्ने प्रतिबद्धता जनाए। पैसा संकलन हुने क्रम सुरु भयो। कालान्तरमा ब्लड बैंक बन्यो। बैंक त बन्यो तर रगत कहाँबाट जुटाउने भन्ने चिन्ता भयो। उनले रक्तदान, जीवनदान अभियान चलाइन्। त्यसपछि अस्पतालमा शल्यक्रिया सुविधा र आकस्मिक कोषका लागि रकम संकलन गर्ने अन्य धेरै अभियान पनि चलाइन्।
खलंगामा माओवादी हमला भएको रात राधा आफ्नै कोठामा थिइन्। २०५९ सालमा भएको उक्त आक्रमण उनका लागि जीवनमा भोगेको भयानक घटना थियो। त्यो रात उनी मरेर बाँचिन्। कोठाका भित्ताहरूमा गोली बर्सिए, तर उनलाई अस्पताल जलाइदिए कि भनेर चिन्ता लागिरहयो। उनी रातभर सुतिनन्। बिहान उठ्दा उनले जुम्लाको सानो टुँडिखेलमा लासको ओइरो देखिन। त्यसपछि जागिर छाडेर कर्णालीबाट बाहिरिन् अनि पुनः काठमाडौं आइन्।

काठमाडौं आएको नौ महिनापछि सामाजिक अभियन्ता दुर्गा पोख्रेलसँग मिलेर कर्णालीकै लागि काम गर्ने भनेर नयाँ संस्था खोलिन्, तर संस्थालाई सहयोग प्राप्त भएन। जुम्ली भनेर धेरैले हेपे। यतिबेला उनी बबरमहलको सानो कोठामा एउटा कार्यालय खोलेर नौलो काम गरिरहेकी छिन्। सबै जागिर छाडेर उनी एक्सन वर्क नेपालमार्फत काम गरिरहेकी छिन्। जुम्लाका गरिब बालबालिकालाई शिक्षा प्रदान गरिरहेकी छिन्। जुम्ला, कालिकोटमा महिला सशक्तीकरण तथा जीविकोपार्जनका कामहरू भैरहेका छन। त्यतिमात्र होइन, उनकै पहलमा जुम्लामा सुत्केरी घर बनिरहेको छ। मितेरी शान्ति वाटिका पनि सुरु भएको छ। छाउपडी उन्मूलनका कार्यक्रमहरू पनि सञ्चालनमा छन्।

जुम्ला छाडेर आए पनि राधाले जुम्लावासीलाई बिर्सन सकेकी छैनन्। विभिन्न नयाँ कार्यक्रम जुम्ला पुर्‍याइरहेकी छिन्। पुराना कपडाहरू संकलन गर्ने, धुने तथा सफा गर्ने र नयाँ प्याकिङ गरेर बजार पुर्‍याउने काम पनि गरिरहेकी छिन। आफ्नो कामका कारण राधाले अन्तर्राष्ट्रिय पिस एवार्ड, राष्ट्रिय युवा प्रतिभा पुरस्कार आदि हात पारिसकेकी छिन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर, फिलिपिन्सबाट एडीएम, कम्युनिटी हेल्थमा बीएन तथा बीएडसम्मको अध्ययन सिध्याएकी राधा ठूला आईएनजीओबाट अवसरहरू आइरहे पनि आफ्नै संस्था एक्सन वर्क नेपाल मार्फत नौला कार्यक्रमहरू सञ्चालन गरिरहेकी छिन्। उनले सार्वजनिक यातायातमा हुने महिला हिंसाका घटनालाई पनि आफ्नो अध्ययनको विषय बनाएकी छिन्।

युवराज गौतम
(कान्तिपुर दैनिक)